सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

उर्जामन्त्री श्रेष्ठद्वारा ‘सुशासन एकाइ’ गठन

बुधबार, १८ चैत २०८२, १५ : ४३
बुधबार, १८ चैत २०८२

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले मन्त्रालयको कार्यसम्पादनलाई चुस्त बनाउन सुशासन एकाइ गठन गरे।
  • नयाँ एकाइले कर्मचारीको कार्यसम्पादन अनुगमन र मूल्याङ्कन गर्नेछ, जसले तोकिएको समयसीमाभित्र कार्य सम्पन्नता हेर्नेछ।
  • एकाइले कार्यशैली सुधार, जवाफदेहिता वृद्धि, र सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गरेका छन् ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त एकाइ स्थापना गरिएको हो ।

उक्त एकाइले मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनको नियमित अनुगमन र मूल्याङ्कन गर्नेछ ।

नवगठित एकाइको संयोजकका रूपमा  प्रशासन महाशाखाका सहसचिव रहनेछन् । त्यसैगरी कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम, तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिवहरू सदस्य रहने व्यवस्था गरिएको छ । सूचना तथा जनसम्पर्क शाखाका उपसचिवले एकाइको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

एकाइले विशेषगरी ’डेलिभरी–आधारित शासन प्रणाली अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्यहरू तोकिएको समयसीमाभित्र सम्पन्न भए/नभएको, जिम्मेवार अधिकारीहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे/नगरेको तथा कार्यसम्पादन सूचकहरूको कार्यान्वयन अवस्था कस्तो रहेको छ भन्ने विषयमा निगरानी गर्नेछ ।

यसका अतिरिक्त कर्मचारीहरूको कार्यविवरणअनुसार कामको प्रगति, कानुनी समयसीमाको पालना, तथा सरकारी स्रोत साधनको सदुपयोगको अवस्थाबारे पनि मूल्याङ्कन गर्ने छ ।

मन्त्रालयले यस एकाइमार्फत् कार्यशैलीमा  सुधार ल्याउने, जबाफदेहिता बढाउने र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप