मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
खगोल यात्रा

तस्बिरमा हेर्नुहोस्, आधा शताब्दीपछि चन्द्रमातर्फ मानिसको महायात्रा

बिहीबार, १९ चैत २०८२, १३ : ३६
बिहीबार, १९ चैत २०८२

सारांश

  • अमेरिकाको फ्लोरिडाबाट चार अन्तरिक्ष यात्री चन्द्रमाको यात्रामा निस्किएका छन्, जसलाई दशकमा मानव फर्काउने लक्ष्य छ।
  • यो मिसनमा नासाका तीन अमेरिकी र क्यानेडियन अन्तरिक्ष यात्री सहभागी छन्, जसले चन्द्रमाको परिक्रमा गर्नेछन्।
  • आर्टेमिस-२ मिसनको मुख्य उद्देश्य आगामी दशकमा चन्द्रमामा दीर्घकालीन अमेरिकी उपस्थिति निर्माण गर्नु हो।

फ्लोरिडा । अमेरिकाको फ्लोरिडाबाट नासाको महत्त्वाकाङ्क्षी ‘आर्टेमिस–२’ मिसन अन्तर्गत चार जना अन्तरिक्ष यात्री चन्द्रमाको यात्रामा निस्किएका छन्। स्थानीय समयअनुसार बुधबार प्रक्षेपण गरिएको यो १० दिने मिसनलाई यसै दशकमा चन्द्रमामा मानव फर्काउने र चीनभन्दा अघि नै चन्द्र सतहमा पुग्ने अमेरिकाको हालसम्मकै सबैभन्दा साहसिक कदमको रूपमा हेरिएको छ।

Artemis II (1)

नासाको केनेडी स्पेस सेन्टरबाट स्पेस लन्च सिस्टम (एसएलएस) रकेटको टुप्पोमा ओरियन क्रु क्याप्सुल राखेर इस्टर्न डेलाइट टाइम (ईडीटी) अनुसार साँझ ६:३५ बजे यसको सफल प्रक्षेपण गरिएको हो। यस मिसनमा नासाका तीन अमेरिकी अन्तरिक्ष यात्रीहरु रिड वाइसम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोचका साथै क्यानेडियन स्पेस एजेन्सीका अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन सहभागी छन्।

Artemis II (6)

उनीहरूको यो यात्रा करिब १० दिनको हुनेछ, जसमा उनीहरूले चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किनेछन्। यो यात्रा मानव इतिहासमै मानिस पुगेको सबैभन्दा टाढाको बिन्दुसम्म हुनेछ।

Artemis II (7)

प्रक्षेपण हुनुभन्दा केही मिनेट अघि ओरियन क्याप्सुलभित्रबाट क्यानडाका ह्यान्सनले लन्च कन्ट्रोललाई जानकारी दिँदै यो यात्रा सम्पूर्ण मानव जातिको लागि भएको बताए। त्यस्तै, लन्च डाइरेक्टर चार्ली ब्ल्याकवेल–थम्पसनले यो ऐतिहासिक मिसनमा उनीहरूले आर्टेमिस टोलीको हृदय, अमेरिकी जनताको साहसिक भावना र विश्वभरका साझेदार तथा नयाँ पुस्ताको आशा र सपना सँगै बोकेर गएको बताइन्। उनले मिसनको सफलताको कामना गर्दै उडानको अनुमति दिएकी थिइन्।

Artemis II (3)

झण्डै तीन वर्षको निरन्तर तालिमपछि यो टोली नासाको आर्टेमिस प्रोग्राम अन्तर्गत अन्तरिक्षमा उड्ने पहिलो टोली बनेको छ। सन् २०१७ मा सुरु भएको यस अर्बौँ डलरको परियोजनाको मुख्य उद्देश्य आगामी दशक र त्यसभन्दा पछि पनि चन्द्रमामा दीर्घकालीन अमेरिकी उपस्थिति निर्माण गर्नु हो।

Artemis II (14)

यो प्रक्षेपण एसएलएस रकेटका लागि एक दशकभन्दा लामो समयदेखिको ठुलो उपलब्धि हो। नासाले हालैका दिनमा इलन मस्कको स्पेसएक्स जस्ता नयाँ र सस्ता रकेटहरूमा निर्भरता बढाइरहेको बेला, ३० तले अग्लो यो प्रणालीले सुरक्षित रूपमा मानिसलाई अन्तरिक्षमा लैजान सक्छ भन्ने कुरा यसका मुख्य ठेकेदार कम्पनीहरु बोइङ र नर्थरोप ग्रुमनले प्रमाणित गरेका छन्।

Artemis II (4)

लकहिड मार्टिनले निर्माण गरेको गमड्रप आकारको ओरियन क्याप्सुल उडान भरेको साढे ३ घण्टापछि पृथ्वीको कक्षमा एसएलएसको माथिल्लो भागबाट अलग हुनेछ। त्यसपछि अन्तरिक्ष यात्रीहरुले म्यानुअल रूपमा ओरियनको नियन्त्रण लिनेछन् र अलग भएको भागको वरिपरि यसको स्टेयरिङ र गतिशीलता परीक्षण गर्नेछन्। मिसनका लागि तय गरिएका दर्जनौँ परीक्षण उद्देश्यहरूमध्ये यो पहिलो हुनेछ।

Artemis II (8)

आर्टेमिस–२ मिसन अमेरिकी चन्द्र अभियानको एक प्रमुख प्रारम्भिक चरण हो। अमेरिकाले सन् २०२८ मा आर्टेमिस–४ मिसनमार्फत चन्द्र सतहमा पहिलो पटक मानव अवतरण गराउने लक्ष्य राखेको छ।

Artemis II (9)

सन् १९७२ को अन्तिम एपोलो मिसनयता पहिलो पटक चन्द्रमामा मानव उतार्न नासालाई अहिले तीव्र दबाब छ, किनभने चीनले पनि आफ्नो चन्द्र अभियान विस्तार गर्दै सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमामा उतार्ने योजना बनाएको छ।

Artemis II (11)

यो मिसनले अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्षमा करिब ४ लाख ६ हजार किलोमिटर टाढासम्म पुर्‍याउनेछ, जुन मानिसले अहिलेसम्म तय गरेको सबैभन्दा लामो दूरी हो। यसअघि सबैभन्दा टाढाको अन्तरिक्ष उडानको रेकर्ड सन् १९७० मा एपोलो १३ को तीन सदस्यीय टोलीको नाममा थियो, जुन करिब २ लाख ४८ हजार माइल टाढा पुगेको थियो। अक्सिजन ट्याङ्की विस्फोट भएपछि प्राविधिक समस्या झेलेको उक्त मिसन योजना अनुरूप चन्द्रमामा अवतरण गर्न भने असफल भएको थियो।

Artemis II (12)

यसअघि नासाले सन् २०२२ मा मानवविहीन आर्टेमिस–१ मिसन सफलतापूर्वक सम्पन्न गरेको थियो। आर्टेमिस–२ ले ओरियन र एसएलएस रकेटको अझ ठूलो परीक्षण गर्नेछ। प्रति प्रक्षेपण करिब २ देखि ४ अर्ब डलर लाग्ने अनुमान गरिएको यो रकेट प्रणालीको विकास सन् २०१० देखि बोइङ र नर्थरोप ग्रुमनले गर्दै आएका छन्।

Artemis II (10)

यसैबिच, इलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिनले नासाका अन्तरिक्ष यात्रीलाई चन्द्र सतहमा उतार्न आवश्यक पर्ने ल्यान्डरहरू विकास गर्न प्रतिस्पर्धा गरिरहेका छन्। पहिले आर्टेमिस–३ मार्फत नै चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखिएको भए तापनि, नासाका नयाँ प्रशासक जेरेड आइज्याकम्यानले गत फेब्रुअरीमा मुख्य अवतरण अघि थप एउटा परीक्षण मिसन थपेका छन्।

Artemis II (2)Artemis II (5)Artemis II (13)KYJBPWDHPBNUPLPLUECFRKQBDY

तस्बिरहरु : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप