शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
सम्बोधन

‘गल्ती गरे सच्चाइदिनुहोला, हाम्रो अहङ्कार नबढोस्’

अब बोली होइन, हाम्रा कामहरू आफैँ बोल्नेछन्
बिहीबार, १९ चैत २०८२, १५ : १५
बिहीबार, १९ चैत २०८२

सारांश

  • रवि लामिछानेले सरकारको कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहिता अपनाउँदै तीव्र गतिमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
  • उनले विपक्षी दलहरूलाई सरकारको काममा निरन्तर निगरानी गर्न र गल्ती औंल्याउन आग्रह गरेका छन्।
  • सरकारले दलित समुदाय र महिलामाथि भएको ऐतिहासिक विभेदका लागि सार्वजनिक रूपमा क्षमायाचना गर्दै न्यायको सुनिश्चितता गर्ने घोषणा गरेको छ।

सत्तारुढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन। मैले मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ। अब हामी राम्ररी बोल्नुभन्दा पनि हाम्रा कामहरू आफैँ राम्रोसँग बोल्नेछन्।

सभामुख महोदय, हामीलाई सय दिनको 'हनिमुन पिरियड'को सुविधा चाहिँदैन। हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ र त्यो सुरु गरिसकेका छौँ।

तपाईंहरूले सरकारको रफ्तार देखिरहनुभएको छ। अब कर्मचारीतन्त्रसहित सिङ्गो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन। हामी आफ्ना मात्र होइन, जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिन तयार भएर आएका छौँ। सरकारका प्राथमिकता, योजना र दिशा सम्माननीय प्रधानमन्त्रीज्यूबाटै आवश्यक परे बोलेर र नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने कुरा म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।

सभामुख महोदय, यो सम्मानित संसद्‌मा यसअघि पनि पटक-पटक बहुमतका सरकार नबनेका होइनन्। तर, ती सरकारहरू इतिहासका अङ्क बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। दृष्टिकोणमा, पारदर्शितामा र जवाफदेहितामा कहाँ कमजोरी थियो? अवसरहरूलाई किन परिणाममा बदल्न सकिएन? हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौँ। जनताले अहिले हामीलाई दिएको यो विश्वासलाई फेरि 'गुमेको अवसर' भनेर लेखियो भने हामी कलङ्कित हुनेछौँ, जुन हामीलाई मन्जुर छैन।

हामी यहाँ प्रश्न सोधेर आएका हौँ। अहिले बस्ने ठाउँ फेरिएको होला, तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ। अब हामीलाई प्रश्न सोध्न मात्र होइन, उत्तर दिन पनि आउँछ; समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ भनेर साबित गर्नु छ। प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ– हामीमाथि चौबिसै घण्टा निगरानी गरिदिनुहोला। गल्ती देखाइदिनुहोला, बाटो बिरायौँ भने सच्चाइदिनुहोला। यदि हामी जनताबाट टाढा हुन खोज्यौँ भने हामीलाई जनताको आवाज सम्झाइदिनुहोला। हामीमा कुनै अहङ्कार नबढोस्।

लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एकअर्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ। हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ, किनकि प्रतिपक्ष कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ। यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको होइन। हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुनमै संशोधन गरिएका, अध्यादेश ल्याइएका जस्ता गलत क्रियाकलापहरू अब यथाशीघ्र सच्चाइने कुरा म जानकारी गराउन चाहन्छु। न्याय पाउने पहिलो हक सहिदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन।

विदेशमा रहेका युवा र बिचौलियाको अन्त्य:

आजको संसद्‌को जनादेशका वास्तविक रचयिता वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। आजसम्म तपाईँहरूले पठाएको रेमिट्यान्सको मात्र कुरा भयो, तर आज म पैसाको होइन, तपाईँहरूले चुकाएको व्यक्तिगत मूल्यको कुरा गर्दैछु। परिवारबाट अलग्गिनुभयो, आमाबुवाको साथ गुमाउनुभयो, कलिला छोराछोरीको बाल्यकाल गुमाउनुभयो। चाडपर्वको रमाइलो र गाउँघरको न्यानोपन गुमाउनुभयो। आज म यहीँबाट क्षमायाचनासहित स्वीकार गर्छु– यो देशले तपाईँहरूको त्यागको उचित सम्मान गरेन। तपाईँहरूको पीडा अब केवल कथा बन्ने छैन, राज्यको प्राथमिकता बन्नेछ।

म गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अपिल गर्छु– नेपालमा केही गरौँ। तपाईँहरू नेपालको आर्थिक विकासमा जोडिनुहोस्, हामी एकपटकको नेपाली सधैँको नेपालीको बाचा पूरा गरेरै छाड्छौँ।

देशभित्र म निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्न चाहन्छु– बिचौलिया र माफियाहरूले बिगारेको व्यावसायिक वातावरण हामीले सुधार गर्न सुरु गरिसकेका छौँ। नीतिहरू अब बजारमा बेचिने छैनन्, निर्णयहरू कसैको दबाबमा बन्ने छैनन्। व्यावसायिक क्षेत्रमा तपाईँहरूले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दबाब सधैँका लागि समाप्त हुनेछ। बिचौलिया र श्रम माफिया अब कारबाहीका भागीदार हुनेछन्। खाडी क्षेत्रमा जाने हाम्रा राजदूतहरू अब बिचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा भेटिनेछन्।

  • ऐतिहासिक क्षमायाचना

म आज एउटा प्रसङ्ग प्रस्तुत गर्न चाहन्छु। मेरा मित्र माननीय खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनुभएको छ। चुनावी दौडधुपका क्रममा उहाँका विषयमा विवाद आउँदा, गल्ती भयो वा भएन थाहा छैन, तर उहाँले माफी माग्नुभयो। आज म सिङ्गो सदनबाट सिङ्गो देशलाई भन्न चाहन्छु– गल्ती गरेको हो वा होइन भन्दा पनि अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे। तर, खगेन्द्र सुनारहरूमाथि युगौँयुगसम्म गरिएको अन्यायका लागि आज हामीले माफी माग्यौँ त?

यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमायाचनाका साथ केही भन्नु छ। यो सरकार शताब्दीऔँदेखिको विभेद, अन्याय र अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यही सदनबाट। आजसम्मको विभेद सामाजिक गल्ती थिएन, सङ्गठित अपराध थियो। जसको हातमा सीप थियो, तिनैलाई हामीले अछुत मान्यौँ। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन। म सिङ्गो पार्टी र सरकारको तर्फबाट पनि माफी माग्छु, र यो माफीको मूल्य अब न्यायले चुकाउनेछ भन्ने सुनिश्चित गर्न चाहन्छु।

यसैगरी, म आमा र दिदीबहिनीहरूलाई पनि केही भन्न चाहन्छु। यो देशमा तपाईँहरूले सबैभन्दा धेरै जिम्मेवारी बोकेर पनि सबैभन्दा कम अवसर पाउनुभयो। घर सम्हाल्नुभयो, परिवार बचाउनुभयो, समाज चलाउनुभयो, तर त्यसलाई काम मानिएन। महिलालाई अवसर अब अनुग्रह होइन, अधिकार हुनेछ। हामी सुनिश्चित गर्नेछौँ– शिक्षा र रोजगारीमा बराबर पहुँच, राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व र महिलाविरुद्धका हिंसामा शून्य सहनशीलता। कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनुपर्ने छैन।

सभामुख महोदय, जुनसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनताको प्रतिनिधित्व गर्दछौँ। त्यसैले अब हाम्रो लक्ष्य एउटै हुनुपर्छ– देशको समृद्धि, जनताको जीवनमा सुधार र न्यायपूर्ण समाजको निर्माण। मलाई विश्वास छ, यो सहकार्य, उत्तरदायित्व र परिवर्तनको प्रतीक हुनेछ। धन्यवाद !

प्रतिनिधि सभाको पहिलो बैठकमा सत्तासिन दल रास्वपाका सभापति रवि लामिछानेको सम्बोधन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रवि लामिछाने
रवि लामिछाने
लेखकबाट थप