भ्रष्टाचार गर्ने कर्मचारी भेटिए कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाइने
सारांश
- सरकारले सार्वजनिक निकायमा भ्रष्टाचार र अनियमितता रोक्न सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउने निर्णय गरेको छ।
- मुख्य सचिव सुमनराज अर्यालले सरकारी कार्यालयहरूलाई सेवा प्रवाह र खरिद प्रक्रियामा सदाचार कायम गर्न कडाइका साथ निर्देशन दिएका छन्।
- सुशासन कायम गर्न र भ्रष्टाचारमुक्त प्रशासन बनाउन सरकारले शून्य सहनशीलताको नीति अघि सारेको छ।
काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने भ्रष्टाचार र अनियमितता रोक्न नयाँ नीति अख्तियार गरेको छ । मुख्य सचिव सुमनराज अर्यालले बिहीबार सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयहरूलाई परिपत्र गर्दै कुनै पनि कार्यालयमा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् ।
गत भदौमा भएको जेन-जी युवाहरूको आन्दोलन र त्यसपछिको निर्वाचनबाट गठित नयाँ सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेकाले यस्तो कदम चालिएको हो । मुख्य सचिव अर्यालद्वारा जारी निर्देशनमा सरकारी कार्यालय र कर्मचारीहरूलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाई जनविश्वास आर्जन गर्न भनिएको छ ।
विशेष गरी सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा हुने पद र अधिकारको दुरुपयोग अन्त्य गर्न कडाइका साथ पहल गर्नुपर्ने उल्लेख छ । कार्यालय प्रमुखहरूलाई आफ्नो मातहतका निकायमा हुने सम्भावित मोलमोलाहिजा र अनियमितताको सूक्ष्म निगरानी राख्न तथा छड्के जाँच गर्न समेत निर्देशन दिइएको छ ।
भ्रष्टाचार सम्बन्धी कुनै पनि जानकारी प्राप्त हुने बित्तिकै सम्बन्धित निकायमा लेखी पठाउनुपर्ने दायित्व पनि कार्यालय प्रमुखकै हुनेछ । सरकारले सार्वजनिक सेवा प्रवाहमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र असहायलाई प्राथमिकता दिन तथा सेवाग्राहीसँग सभ्य व्यवहार गर्न कर्मचारीहरूलाई सचेत गराएको छ ।
कर्मचारीले तटस्थता, पारदर्शिता र कानुनी आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने र यसको अनुगमन गर्ने प्रमुख जिम्मेवारी कार्यालय प्रमुखकै हुने परिपत्रमा प्रस्ट पारिएको छ । मुलुकको अन्तर्राष्ट्रिय छविमा भ्रष्टाचारका कारण आएको निराशाजनक अवस्थालाई सुधार्न र नागरिकले अनुभूति गर्ने स्तरमा सुशासन कायम गर्न सरकारी संयन्त्रलाई चुस्त र मितव्ययी बनाउनुपर्ने मुख्य सचिवको भनाइ छ ।
यसैबिच, मुख्य सचिवको सचिवालयले भ्रष्टाचार रोकथाम र नियन्त्रणका लागि आवश्यक नीतिगत, कानुनी र प्रक्रियागत सुधारका लागि महत्वपूर्ण सुझावहरू उपलब्ध गराउन सबै निकायलाई आग्रह गरेको छ । सरकारले सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त बनाउन शून्य सहनशीलताको नीति लिएको र यसमा हुने कुनै पनि किसिमको सम्झौताले कार्यालय प्रमुखलाई नै कारबाहीको भागीदार बनाउने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण