सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राष्ट्र बैंकको तथ्यांक

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १८ महिनाको आयात धान्ने

बिहीबार, १९ चैत २०८२, १७ : ३५
बिहीबार, १९ चैत २०८२

सारांश

  • नेपालको कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
  • यो सञ्चितिले नेपाललाई १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ।

काठमाडौँ । नेपालको विदेशी विनिमय सञ्चितिले नयाँ उचाइ चुमेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति बढेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६४ करोड रहेको यस्तो सञ्चिति आठ महिनाको अवधिमै २७.५ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा पनि सञ्चितिमा ठुलो उछाल आएको छ। असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति १८.३ प्रतिशतले बढेर फागुन मसान्तसम्ममा २३ अर्ब ८ करोड डलर पुगेको छ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३० खर्ब ३५ अर्ब ११ करोड रहेको छ, जुन असारको तुलनामा २५.७ प्रतिशतले बढी हो । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब ७८ अर्ब ६६ करोड विदेशी मुद्रा सञ्चिति रहेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ।

सञ्चिति पर्याप्तता सूचकका आधारमा नेपालको अर्थतन्त्र हालसम्मकै सर्वाधिक सुरक्षित अवस्थामा पुगेको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्किङ क्षेत्रसँग रहेको यो विदेशी मुद्राले २१.४ महिनाको वस्तु आयात र १८।५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। सामान्यतया ६ देखि ७ महिनाको आयात धान्ने सञ्चितिलाई राम्रो मानिने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालसँग साढे १८ महिनाको आयात धान्ने क्षमता हुनुले अर्थतन्त्र निकै बलियो स्थितिमा रहेको प्रस्ट पार्छ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५५.९ प्रतिशत, कुल आयातसँगको अनुपात १५३.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपात ४०.८ प्रतिशत रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप