केपी ओलीको बयान : 'भिडमा बल प्रयोग गर्ने निर्णय जिल्ला तहबाटै हुन्छ'
सारांश
- पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भिड नियन्त्रणका लागि बल प्रयोग गर्ने निर्णय जिल्ला तहबाटै हुने बयान दिएका छन् ।
- ओलीले बानेश्वरमा भएको गोली प्रहारको आदेश आफूले नदिएको र त्यो आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जिकिर गरेका छन् ।
- प्रहरीले बिहीबार राति ओलीसँग ३५ भन्दा बढी प्रश्न सोधेर उनको बयान लिने कार्य सम्पन्न गरेको छ ।
काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घेरामा उपचाररत छन् । अनुसन्धान अधिकृत र अभियोजनकर्ता सरकारी वकिलले अस्पतालमै ओलीसँग बयान लिएका हुन् ।
ओलीसँगको बयान पूरा भएको छ । अनुसन्धान अधिकृतहरूले ओलीलाई ३५ भन्दा धेरै प्रश्न गरेका छन् । उनले भदौ २३ मा काठमाडौँको बानेश्वरमा किशोरहरूको मृत्यु हुनेगरी लेथल हतियारबाट गोली चलाउने आदेश आफूले दिएको अस्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ओलीले बयानमा भनेका छन्, ‘हुलदङ्गा नियन्त्रणमा लेथल हतियारबाट गोली चलाउने आदेश मैले दिएको होइन, त्यो जिल्ला तहबाटै हुने कुरा हो ।’
जेनजी आन्दोलनबारे भदौ २२ मा राति सुरक्षा निकायसँग छलफल गरेको बताउँदै ओलीले त्यसबेला आफूलाई ‘६–७ हजार जेनजी भेला हुने र प्रदर्शन शान्तिपूर्ण हुने’ भनेर ब्रिफिङ गरिएको जिकिर गरेका छन् । बयानमा ओलीले भनेका छन्, ‘सुरक्षा प्रमुखहरूसँग छलफल हुँदा शान्ति सुरक्षा मिलाउनु भनेको थिएँ ।’
हुलदङ्गा नियन्त्रण गर्दा हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिइएको ओलीले बयानमा बताएका छन् । बल प्रयोगको विषय प्रधानमन्त्रीको कार्यक्षेत्रमा नपर्ने उल्लेख गर्दै ओलीले भनेका छन्, ‘कम क्षति हुनेगरी गर्नु भनेको हो, बल प्रयोग गर्ने निर्णय मेरो विषय नै होइन ।’
बिहीबार राति १२ बजेतिर ओलीसँगको बयान पुरा भएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले रातोपाटीलाई बताए ।
बयानमा ओलीले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार नै नहुने जिकिर गरेका छन् । बयानमा उनले भनेका छन्,‘गोली प्रहार गर्नु भनेर प्रधानमन्त्रीले भन्ने पनि होइन ।’
भदौ २३ मा बानेश्वरमा हताहती भएपछि साँझ मन्त्रिपरिषद्को बैठक बसेर निष्पक्ष छानबिन गर्न आयोग गठन गर्ने र घाइतेको उपचार साथै मृतकको परिवारलाई राहत दिने निर्णय गरेको ओलीले बयानमा खुलाएका छन् । उनले भनेका छन्, ‘सरकारको तर्फबाट कम भन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो । सेना परिचालनको मनसाय सरकारको नभएकोले त्यसो गरिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण