बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बयान

लेखकको बयान– भिड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन

बिहीबार, १९ चैत २०८२, १६ : १८
बिहीबार, १९ चैत २०८२

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएको छ ।

अनुसन्धान अधिकृत र सरकारी वकिलले बुधबार साँझ उनको बयान लिएका हुन् । अनुसन्धानका क्रममा अधिकृतहरूले लेखकलाई भदौ २३ मा काठमाडौंको बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे सोधपुछ गरेका थिए । 

अनुसन्धान अधिकृतहरूसँगको बयानमा लेखकले किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आफूले आदेश दिएको आरोप अस्वीकार गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'ज्यान सम्बन्धी कसुरमा समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीले लेखकलाई चैत १४ गते पक्राउ गरेको हो । 

लेखकले भिड नियन्त्रण आफ्नो कार्यक्षेत्रमा नपर्ने दाबी गरेका छन् । उनले बयानमा भनेका छन्, 'भिड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन ।' जिल्ला सुरक्षा समितिले निर्णय गरेर भिड नियन्त्रण गरिने उल्लेख गर्दै लेखकले भनेका छन्, 'कसैले सोधे कानुन बमोजिम गर्नु भनेको हुँला ।' 

हुलदंगा हुँदा बल प्रयोग स्थलगत परिस्थितिको आधारमा खटिएका अधिकारीले निर्णय गर्ने विषय भएको लेखकले बताएका छन् । उनले बयानमा भनेका छन्, 'यस्ता विषयमा गृहमन्त्रीले प्रत्यक्ष आदेश दिने अभ्यास पनि छैन । आईजीपीले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित वा मौखिक आदेश लिने कानुनी व्यवस्था र व्यवहारिक अभ्यास छैन ।' 

लेखकले आईजीपीले आदेश मागेको र आफूले गोली प्रहार गर्न आदेश दिएको कुरा अस्वीकार गरेका छन् । 

गृहमन्त्रीले फिल्डमा प्रत्यक्ष आदेश नदिने उल्लेख गर्दै उनले भनेका छन्, 'तर, नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पार्छु ।  

शान्ति सुरक्षाको कार्यसम्पादन गर्ने जिम्मेवारी कानुन अनुसार गृह मन्त्रालय मातहतका निकायमार्फत हुँदै आएको लेखकको भनाइ छ । उनले गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् र समन्वयात्मक रूपमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन आफूले निर्देशन दिएको बयानमा उल्लेख गरेका छन् ।

एकजना अनुसन्धान अधिकृतले लेखकको बयान उद्धृत गर्दै भने, 'घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ, संसद भवन जोगाउनुपर्छ भन्ने मेरो धारणा थियो । तर, अन्तिम बल प्रयोग अर्थात् गोली प्रहार गर्न भनी मैले कुनै आदेश दिएको थिइनँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप