बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

यात्रु तान्ने र दुःख दिने १३ जना पक्राउ

शनिबार, २१ चैत २०८२, १२ : २३
शनिबार, २१ चैत २०८२

सारांश

  • काठमाडौँका विभिन्न बसपार्क र टिकट काउन्टरमा यात्रुलाई दुःख दिने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पक्राउ परेकाहरूले यात्रुलाई जबरजस्ती तान्ने, सामान खोसाखोस गर्ने र अभद्र व्यवहार गर्ने गरेका थिए।
  • नयाँ बसपार्क र कलङ्की क्षेत्रबाट समातिएका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । काठमाडौँका विभिन्न बसपार्क र टिकट काउन्टरहरूमा सर्वसाधारण यात्रुलाई जबरजस्ती तानेर दुःख दिने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका बाहिर जाने यात्रुहरूलाई आफ्नो अनुकूलको सवारी साधनमा चढ्न बाध्य पार्ने, उनीहरूको झोला र सामान खोसाखोस गर्ने तथा अभद्र व्यवहार गर्ने गरेको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले यो कारबाही चलाएको हो।

विशेष गरी नयाँ बसपार्क र कलङ्की क्षेत्रमा टिकट बुकिङका नाममा बिचौलियाहरूले यात्रुलाई मानसिक र शारीरिक रूपमै हैरानी दिने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार विभिन्न स्थानबाट १३ जनालाई समातेको हो । 

पक्राउ पर्नेहरूमा नयाँ बसपार्क क्षेत्रबाट १२ जना र कलङ्कीको सडक खण्डबाट एक जना रहेका छन्। नयाँ बसपार्कमा प्रहरी प्रभागको टोलीले सक्रियता देखाएको थियो भने कलङ्कीमा प्रहरी वृत्त कालीमाटीको टोलीले यात्रुलाई दुःख दिने व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ। 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप