आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोटो धेरै इडिट गर्दा ५९ वर्षीया जनप्रतिनिधि दलबाटै निष्कासित

शनिबार, २१ चैत २०८२, १७ : ०९
शनिबार, २१ चैत २०८२

सारांश

  • नेदरल्यान्ड्सको रोटरडमकी ५९ वर्षीया काउन्सिलर प्याट्रिसिया रिचम्यानले चुनावी प्रचारमा एआई प्रयोग गरी अत्यधिक सम्पादन गरिएको तस्बिर राखेपछि विवादमा परेकी छन्।
  • तस्बिर र वास्तविक रूपमा धेरै भिन्नता पाइएपछि पार्टीले उनलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको थियो।
  • राजीनामा दिन अस्वीकार गरेपछि लिभबार रोटरडम पार्टीले उनलाई दलबाटै निष्कासित गरेको छ।

रोटरडम । नेदरल्यान्ड्सको रोटरडम सहरकी एक महिला जनप्रतिनिधिले आफ्नो चुनावी प्रचारप्रसारका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी अस्वाभाविक रूपमा जवान देखिने तस्बिर प्रयोग गरेपछि ठुलो विवादमा फसेकी छन्। 

५९ वर्षीया काउन्सिलर प्याट्रिसिया रिचम्यानले आधिकारिक उम्मेदवारको तस्बिरलाई यसरी सम्पादन गरिन् कि उनी वास्तविक रूपभन्दा पूर्णतः भिन्न र चिन्नै नसकिने देखिइन्। तस्बिर र वास्तविक रूपबिचको आकाश(जमिनको अन्तर सार्वजनिक भएपछि उनले चर्को आलोचना खेप्नुपरेको छ।

रिचम्यानले स्थानीय पत्रिकामा छापिएको तस्बिरको गुणस्तर (रिजोल्युसन) कम भएकाले मात्र अनलाइन टुलमार्फत पिक्सेल बढाएको दाबी गरेकी छन् । उनले डच पत्रिका ‘अल्गेमेन डागब्लाड’ सँग कुरा गर्दै त्यो तस्बिर आफ्नै भएको र अहिले औषधि सेवनका कारण आफ्नो अनुहार अलि फरक देखिएको तर्क गरेकी छन्। 

तर, सामाजिक सञ्जालमा उनको वास्तविक र सम्पादित तस्बिर सँगै राखेर भाइरल भएपछि मानिसहरूले उनलाई एआईले बनाएको ‘नक्कली अवतार’ को संज्ञा दिएका छन्। रिचम्यानले भने आफू छोरासँग बाहिर निस्कँदा मानिसहरूले ‘गर्लफ्रेन्ड’ ठान्ने गरेको भन्दै आफू वास्तविक जीवनमै जवान देखिने जिकिर गर्न छाडेकी छैनन्।

यद्यपि, उनको यो दाबीलाई उनकै राजनीतिक दल लिभबार रोटरडमले ठाडै अस्वीकार गरिदिएको छ। पार्टीले उक्त तस्बिर स्पष्ट रूपमा एआईद्वारा भारी सम्पादन गरिएको र यसले वास्तविकताको प्रतिनिधित्व नगर्ने निष्कर्ष निकालेको छ। 

पार्टीले उनलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरे पनि उनले अस्वीकार गरेपछि अन्ततः उनलाई दलबाटै निष्कासित गरिएको छ। ‘अन्तर्वार्ता र कागजातमा दिइएको जानकारी वास्तविकतासँग मेल नखाएपछि सँगै काम गर्ने विश्वासको आधार समाप्त हुन्छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप