आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
अनुसन्धान जारी

सिर्जना मृत्यु प्रकरणः सामग्री प्रहरीको प्रयोगशालामा, शव अझै अस्पतालमा

मङ्गलबार, २४ चैत २०८२, २० : ११
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • नेपालगन्जमा जलेर मृत्यु भएकी सिर्जना बुढामगरको घटनामा थप अनुसन्धानका लागि प्रहरीले मोबाइललगायतका सामग्री काठमाडौंस्थित प्रयोगशालामा पठाएको छ।
  • मृतकका आफन्तले हत्याको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेपछि सिर्जनाको शव अझै भेरी अस्पतालमै राखिएको छ।
  • प्रहरीले घटनामा संलग्न भनिएका प्रेमी आरिफ ढपालीलगायतका व्यक्तिहरूमाथि तेस्रो पटक म्याद थप गरी अनुसन्धान जारी राखेको छ।

बुटवल । बाँकेको नेपालगन्जमा चैत १४ गते राति जलेर मृत्यु भएकी सिर्जना बुढामगरको घटनामा प्रहरीले थप अनुसन्धानका लागि सामग्रीहरू काठमाडौंस्थित प्रहरी विधि प्रयोगशालामा पठाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीका अनुसार मृतक सिर्जना र उनका प्रेमी आरिफ ढपालीको मोबाइल फोनलगायत सामग्री ल्याब परीक्षणका लागि पठाइएको हो । परीक्षण प्रतिवेदन आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीलाई आशा छ । 

बाँकेको नेपालगन्ज–१२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी सिर्जनाको शव हालसम्म पनि भेरी अस्पतालमै छ । 

मृतकका आफन्तले सिर्जनामाथि पेट्रोल छर्किएर हत्या गरिएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन् । यही कारण उनीहरूले अहिलेसम्म शव बुझ्न मानेका छैनन् । प्रहरीका अनुसार घटनाबारे हत्या वा अन्य कारण के हो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।

डीएसपी पातलीले प्रमाण र तथ्यका आधारमा अनुसन्धान अगाडि बढाइएको र कुनै दबाब वा प्रभावमा नपर्ने स्पष्ट पारे । मृत्यु भएको १० दिन बितिसक्दा पनि आफन्तले न्यायको माग गर्दै शव बुझ्न अस्वीकार गरिरहेका छन् भने घटनाले स्थानीयस्तरमा चासो बढाएको छ । 

प्रेमीको परिवार फन्दामाः तेस्रो पटक म्याद थपको तयारी 

नेपालगन्जमा चैत १४ गते राति कोरियनपुरमा जलेको अवस्थामा सिर्जनाको शव भेटिएको थियो । प्रहरीले पक्राउ परेका अभियुक्तहरूमाथि तेस्रो पटक म्याद थप गर्ने तयारी गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १४ गते राति करिब १२ बजे आगोले जलेको अवस्थामा भेटिएकी सिर्जनालाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । तर चैत १५ गते बिहान १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पोस्टमार्टम रिपोर्टमा पेट्रोल छर्किएर जलाइएको उल्लेख गरिएको छ । 

नेपालगन्ज–८ रानीतलाउमा डेरा गरी बस्दै आएकी सिर्जनाको शरीर उनीसँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपालीको घरबाट करिब ५० मिटर टाढा भेटिएको थियो । प्रारम्भमा शवको पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको थियो । मृतकका आफन्तहरूले सिर्जनाको हत्या प्रेमी आरिफले नै गरेको आरोप लगाएका छन् । 

उनीहरूबिचको सम्बन्ध लामो समयदेखि खटपटपूर्ण रहेको बताइएको छ । घटनाको अघिल्लो दिन पनि कुटपिट भएपछि प्रहरीले नियन्त्रणमा लिएर मिलापत्र गराएको थियो । तर सोही राति उक्त घटना भएको थियो ।
घटनापछि आक्रोशित आफन्तहरूले आरोपितको घरमा आक्रमण गर्ने प्रयाससमेत गरेका थिए । आफन्तले आरिफसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । 

घटनापछि भारत फरार भएका आरिफ पक्राउ परिसकेका छन् । उनीसँगै उनकी आमा, दिदी र एक नाबालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अन्य दुई फरार व्यक्तिको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

डीएसपी पातलीका अनुसार हालसम्म अभियुक्तको म्याद दुई पटक थप भइसकेको छ र चैत २७ गते तेस्रो पटक म्याद थपको तयारी भइरहेको छ । उनले भने, 'पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान जारी छ ।अनुसन्धान पूरा भएपछि मात्रै विस्तृत तथ्य सार्वजनिक गर्न सकिन्छ ।' 

प्रदेश सभादेखि सडकसम्म दोषीलाई कारबाही माग

सिर्जनाको मृत्यु प्रकरणले यतिबेला प्रदेशसभा र सडक दुवै तातेको छ । घटनालाई लिएर लुम्बिनी प्रदेश सभामा सांसदहरूले कडा रूपमा आवाज उठाएका छन् भने सर्वसाधारण र अधिकारकर्मीहरूले पनि दोषीमाथि कडा कारवाहीको माग गरिरहेका छन् । 

प्रदेश सभा बैठकमा सांसद सुशीला वादीले सिर्जनामाथि पेट्रोल छरेर जलाइएको घटनालाई अत्यन्तै जघन्य र अमानवीय भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले महिला हिंसा नियन्त्रणमा कुनै पनि किसिमको ढिलासुस्ती हुन नहुने बताउँदै दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिइन् । 

यसअघि बसेको बैठकमा पनि सांसदहरूले उक्त घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद अम्बिका काफ्लेले यस्ता घटनालाई रोक्न कानुन संशोधन गरी अझ कडा सजायको व्यवस्था गर्नुपर्ने माग राखिन् । 

उनले महिला हिंसा न्यूनीकरणका लागि मृत्युदण्डसम्मको कानुनी व्यवस्था आवश्यक भएको धारणा व्यक्त गरिन् ।

त्यसैगरी सांसद चन्द्रकेश गुप्ताले पनि यस्ता जघन्य अपराध रोक्न सरकार थप जिम्मेवार बन्नुपर्ने बताए । 

नेपालगन्जमा सिर्जनाका आफन्त,अधिकारकर्मी तथा स्थानीयले दोषीलाईकडा कारवाहीको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । उनीहरूले घटनामा संलग्न व्यक्ति सिर्जनाका प्रेमी रहेको दाबी गर्दै निष्पक्ष छानबिन र कठोर सजायको माग सार्वजनिक रूपमा उठाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप