मुम्बईमाथि राजस्थानको शानदार जित, अंक तालिकाको शीर्ष स्थानमा कब्जा
सारांश
- राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगको १३औँ खेलमा मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गरेको छ।
- वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा राजस्थानले मुम्बईलाई १२३ रनमा समेट्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ।
- यशस्वी जायसवालको ७७ रनको आक्रामक इनिङ्सको मद्दतले राजस्थानले लगातार तेस्रो जित दर्ता गरेको छ।
गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ सिजन अन्तर्गतको १३औँ प्रतिस्पर्धामा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गरेको छ। मंगलबार गुवाहाटीमा भएको रोमान्चक खेलमा जित हात पार्दै राजस्थान जारी सिजनको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो।
राजस्थानको यो लगातार तेस्रो जित हो भने मुम्बईले लगातार दोस्रो हार व्यहोर्नु परेको छ। प्रतिकूल मौसमका कारण गुवाहाटीमा खेल केही प्रभावित भएको थियो। वर्षाले गर्दा निर्धारित समयभन्दा साढे दुई घण्टा ढिलो गरी सुरु भएको खेललाई ११-११ ओभरमा छोट्याइएको थियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले आक्रामक सुरुवात गर्दै निर्धारित ११ ओभरमा मात्र ३ विकेट गुमाएर १५० रनको विशाल योगफल तयार पार्यो। १५१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले भने सम्हालिएर खेल्न सकेन र ९ विकेट गुमाउँदै १२३ रनमा समेटियो।
राजस्थानको जितमा युवा ब्याटर यशस्वी जायसवालको प्रदर्शन निर्णायक रह्यो। उनले मात्र ३२ बलमा १० चौका र ४ छक्काको मद्दतले विष्फोटक ७७ रन बनाए। उनलाई अर्का ओपनर वैभव सूर्यवंशीले दह्रो साथ दिए। सूर्यवंशीले १४ बलमा ३९ रन जोडेपछि यी दुईबिच ८० रनको आक्रामक ओपनिङ साझेदारी भएको थियो। उत्कृष्ट अर्धशतकीय पारी खेलेका जायसवाल खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए।
यस जितसँगै राजस्थान रोयल्सले पन्जाब किंग्सलाई पछि पार्दै अंक तालिकाको पहिलो स्थान सुरक्षित गरेको छ। लगातार तीन खेल जितेको राजस्थान उच्च लयमा देखिएको छ। अर्कोतर्फ, पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सका लागि भने यो सिजन कठिन बन्दै गएको छ। लगातार दोस्रो हारपछि मुम्बई २ अंकका साथ तालिकाको सातौँ स्थानमा खुम्चिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण