सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एलडीसी स्तरोन्नतिका कारण कुनै पनि औद्योगिक क्षेत्र प्रताडित हुन हुँदैन: अध्यक्ष पाण्डे

बुधबार, २५ चैत २०८२, १० : २२
बुधबार, २५ चैत २०८२

सारांश

  • नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले एलडीसी स्तरोन्नतिपछि तयारी पोसाक उद्योगले गम्भीर चुनौती सामना गर्नुपर्ने बताएका छन्।
  • पाण्डेले नेपालमा लजिस्टिक लागत उच्च रहेको र उत्पादन क्षेत्रमा रोजगारी सिर्जना कमजोर रहेको उल्लेख गरेका छन्।
  • उनले स्तरोन्नतिका कारण कुनै पनि औद्योगिक क्षेत्र प्रताडित हुन नहुने गरी नीतिगत तयारी गर्न सरकारलाई आग्रह गरेका छन्।

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि नेपालको तयारी पोसाक उद्योगले गम्भीर चुनौती सामना गर्नुपर्ने बताएका छन् ।

नेपाल तयारी पोसाक उद्योग संघद्वारा आयोजित ‘एलडीसी ग्राजुएसनपछि तयारी पोसाकको निर्यात प्रवर्द्धन चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले नेपालको औद्योगिक अवस्था र स्तरोन्नतिपछिको तयारीका विषयमा गम्भीर चिन्ता व्यक्त गरेका हुन् । अध्यक्ष पाण्डेले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उत्पादनमूलक क्षेत्रको मूल्य अभिवृद्धि (म्यान्युफ्याक्चरिङ भ्यालु एडेड) ५ प्रतिशतभन्दा कम रहेको जानकारी दिए । 

उनले नेपालको उत्पादन क्षेत्रमा रोजगारीको हिस्सा ७ प्रतिशत मात्र हुनुले औपचारिक रोजगारी सिर्जना निकै कमजोर रहेको संकेत गर्ने बताए। लागत प्रतिस्पर्धात्मकताका हिसाबले पनि नेपाल निकै पछाडि रहेको उनको तर्क थियो । नेपालमा लजिस्टिक लागत वस्तुको मूल्यको २८ देखि ३० प्रतिशतसम्म पुग्ने गरेकोमा भारतमा १४–१६ प्रतिशत र भियतनाममा १०–१२ प्रतिशत मात्र रहेको उनले उल्लेख गरे । 

नेपाल एलडिसीबाट स्तरोन्नति हुन कत्तिको तयार छ भन्ने विषयमा प्रश्न उठाउँदै पाण्डेले बंगलादेशको उदाहरण दिए । अध्यक्ष पाण्डेले भारत र युरोपेली युनियन (ईयू) बिच हुन लागेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए)ले नेपाललाई ठुलो असर पार्ने बताए। नेपालको ईयूमा हुने कुल निर्यातको ७५ प्रतिशत हिस्सा टेक्सटायल क्षेत्रले ओगटेको छ । भारतले ईयूसँग शून्य भन्सारको सुविधा पाएमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ । 

त्यस्तै, भारत र अमेरिकाको व्यापारिक सम्बन्धमा आउने फेरबदलले पनि नेपाली निर्यातलाई असर पार्ने उनले औँल्याए। नेपालले ‘स्मूथ ट्रान्जिसन स्ट्राटेजी’ (एसटीएस) बनाए पनि उत्पादकत्व वृद्धि, लागत न्यूनीकरण र व्यावसायिक वातावरण सुधारमा खासै प्रगति नभएको पाण्डेले बताए । 

अध्यक्ष पाण्डेले राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्नुपर्ने र स्तरोन्नतिका कारण कुनै पनि औद्योगिक क्षेत्र प्रताडित हुन नहुने वातावरण सिर्जना गर्न सरकार र सरोकारवालालाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप