मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

महावीर पुन भन्छन् – नातावाद, कृपावाद र चाकरीवादबाट सरकार र दलहरू जोगिनुपर्छ

बुधबार, २५ चैत २०८२, १५ : २०
बुधबार, २५ चैत २०८२

सारांश

  • प्रतिनिधि सभा सदस्य महावीर पुनले सरकार र राजनीतिक दलहरू नातावाद, कृपावाद र चाकरीवादबाट मुक्त हुनुपर्ने बताएका छन्।
  • उनले नेपालको इतिहासदेखि नै जरो गाडेर बसेको यो विकृतिले मुलुकको विकास र सुशासनमा गम्भीर बाधा पुर्‍याएको धारणा राखेका छन्।
  • स्वार्थभन्दा माथि उठेर निष्पक्ष र योग्य व्यक्तिलाई अवसर दिए मात्र मुलुकमा दिगो विकास हुने पुनले उल्लेख गरेका छन्।

काठमाडौँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले नेपालमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद नामक भाइरसबाट सरकार, राजनीतिक दल र सांसदहरू मुक्त हुनुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठक विशेष समयमा पुनले यो भाइरस नेपालको इतिहासदेखि नै जरा गाडेर बसेको बताए । नेपाल एकीकरणपछि रणबहादुर शाहको बाल्यकालमा शासन सञ्चालनका क्रममा यो प्रवृत्ति सुरु भएको उनको भनाइ थियो । 

राणा शासनको अन्त्य, प्रजातन्त्रको आगमन र गणतन्त्र स्थापना भएपश्चात् पनि यो विकृतिले विभिन्न रूपमा निरन्तरता पाइरहेको पुनले बताए । 

यस्ता विकृतिले मुलुकको विकास र सुशासनमा गम्भीर बाधा पुर्‍याएको भन्दै पुनले यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखे ।

सरकार, राजनीतिक दलका नेता र सांसदहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष र योग्य व्यक्तिलाई अवसर दिनुपर्ने उनले बताए । यसो गर्न सके मात्रै मुलुकमा दिगो विकास र सुशासन कायम हुने उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप