महावीर पुन भन्छन् – नातावाद, कृपावाद र चाकरीवादबाट सरकार र दलहरू जोगिनुपर्छ
सारांश
- प्रतिनिधि सभा सदस्य महावीर पुनले सरकार र राजनीतिक दलहरू नातावाद, कृपावाद र चाकरीवादबाट मुक्त हुनुपर्ने बताएका छन्।
- उनले नेपालको इतिहासदेखि नै जरो गाडेर बसेको यो विकृतिले मुलुकको विकास र सुशासनमा गम्भीर बाधा पुर्याएको धारणा राखेका छन्।
- स्वार्थभन्दा माथि उठेर निष्पक्ष र योग्य व्यक्तिलाई अवसर दिए मात्र मुलुकमा दिगो विकास हुने पुनले उल्लेख गरेका छन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले नेपालमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद नामक भाइरसबाट सरकार, राजनीतिक दल र सांसदहरू मुक्त हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठक विशेष समयमा पुनले यो भाइरस नेपालको इतिहासदेखि नै जरा गाडेर बसेको बताए । नेपाल एकीकरणपछि रणबहादुर शाहको बाल्यकालमा शासन सञ्चालनका क्रममा यो प्रवृत्ति सुरु भएको उनको भनाइ थियो ।
राणा शासनको अन्त्य, प्रजातन्त्रको आगमन र गणतन्त्र स्थापना भएपश्चात् पनि यो विकृतिले विभिन्न रूपमा निरन्तरता पाइरहेको पुनले बताए ।
यस्ता विकृतिले मुलुकको विकास र सुशासनमा गम्भीर बाधा पुर्याएको भन्दै पुनले यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखे ।
सरकार, राजनीतिक दलका नेता र सांसदहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष र योग्य व्यक्तिलाई अवसर दिनुपर्ने उनले बताए । यसो गर्न सके मात्रै मुलुकमा दिगो विकास र सुशासन कायम हुने उनको भनाइ थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण