नयाँ वर्षसँगै सुदूरपश्चिममा बिसुको रौनक : घर फर्किए परदेशी
सारांश
- सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षको अवसरमा बिसु पर्व हर्षोल्लासका साथ मनाइँदैछ।
- बिसु पर्वको अवसरमा रोजगारी र अध्ययनको सिलसिलामा बाहिर रहेका आफन्तहरू घर फर्किने गर्छन्।
- यो पर्वमा बिहानै स्नान गरी कुलदेवताको पूजा गर्ने, मौलिक परिकार खाने र सिस्नो लगाउने परम्परा छ।
धनगढी । नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ बिसु पर्व मनाइँदैछ। सुदूरपश्चिमेलीहरूको मौलिक र ठूलो पर्वका रूपमा रहेको बिसुले यतिबेला तराईदेखि पहाडी जिल्लाहरूमा विशेष रौनक थपेको छ।
बिसु पर्वलाई यस क्षेत्रमा दशैँ र तिहार जत्तिकै महत्त्वका साथ मनाउने गरिन्छ। वर्षभरि रोजगारी, अध्ययन वा अन्य सिलसिलामा देश–विदेशमा रहेका आफन्तहरू यो दिन अनिवार्य रूपमा घर फर्कनुपर्ने मान्यता छ। जसका कारण गाउँघरमा पारिवारिक पुनर्मिलन र सामाजिक सद्भावको वातावरण बनेको छ। बझाङकी स्थानीय भुवेनेश्वरी धामीका अनुसार नयाँ लुगा लगाउने, आफन्तहरूसँग भेटघाट गर्ने र मिठोमसिनो खाएर वर्षभरिका सुख–दुःख साटासाट गर्ने यो पर्वको मुख्य आकर्षण हो।
बिसु पर्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष बिहानको स्नानलाई मानिन्छ। बिहानै ब्रह्ममुहूर्तमा स्नान गरेमा शरीर शुद्ध हुने र वर्षभरि रोगव्याधि नलाग्ने जनविश्वास छ। "यो दिन ननुहाए 'विष लाग्ने' भन्ने धार्मिक मान्यता समेत प्रचलित छ," धामीले भनिन्। स्नानपछि कुलदेवताको पूजा गर्ने र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने गरिन्छ।
यो पर्वमा सुदूरपश्चिमका मौलिक परिकारहरूले भान्सा ढाक्ने गर्दछन्। घर–घरमा मासु, मालपुवा, खीर, लाउन पुरी, बटुक र माणा जस्ता स्थानीय परिकारहरू पकाउने र सामूहिक रूपमा खाने चलन छ। महिलाहरू बिहानैदेखि यस्ता परिकार तयार पार्न र घरसजवटमा व्यस्त देखिन्छन्।
बिसु पर्वको अर्को रोचक र रमाइलो पक्ष 'सिस्नो लगाउने' परम्परा हो। देवर–भाउजू र नन्द–भाउजूबीच एक-अर्कालाई सिस्नो लगाएर ठट्टा गर्ने र रमाइलो गर्ने चलनले यो पर्वलाई थप विशेष बनाउँछ। यसरी सिस्नो लगाउँदा शरीरका रोगहरू निको हुने विश्वास समेत गरिन्छ। धार्मिक आस्था, पारिवारिक स्नेह र सामाजिक एकताको कडीका रूपमा रहेको बिसु पर्वले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण