निर्धारित समयभन्दा अघि सर्रे खोलाको पुल सम्पन्न हुने
सिरहा । लहान नगरपालिका-२४ स्थित गोविन्दपुर र झुट्की गाउँलाई जोड्ने सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असोजसम्मको समयसीमा रहे पनि निर्माण कम्पनीले मनसुन अगावै पुल सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिएको हो।
कुल १७० मिटर लम्बाइको यो पुलमा तीन वटा स्पान रहेका छन्, जसमध्ये दुई वटाको काम पूरा भइसकेका छन् भने बाँकी एउटा स्पानको काम अन्तिम चरणमा पुगेको छ । रु ३१ करोड २९ लाख ५३ हजार २५० (भ्याटसहित) को लागतमा ‘हिराचन्द कन्स्ट्रक्सन’ले यसको निर्माण गरिरहेको छ।
पुल निर्माण कम्पनीका ‘प्रोजेक्ट इन्जिनियर’ प्रज्वल बस्नेतका अनुसार विसं २०८० जेठ ३१ गते सम्झौता भएको यस आयोजनालाई तोकिएको समयभन्दा अगाडि हस्तान्तरण गर्ने लक्ष्य छ । उनले भने, “हामीले आगामी मनसुन सुरु हुनुअघि नै पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”
पुल नहुँदा खोलापारिका खेस्राहा, डाडाँटोल र मानिकदह क्षेत्रका स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए । स्थानीय वीरेन्द्र यादवले विगत सम्झँदै भन्नुभयो, “खोलामा बाढी आउँदा घण्टौँ किनारमा बस्नुपथ्र्यो । बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैनथ्यो, अब ती दिन सकिने भए ।” लहान बजारबाट करिब आठ किलोमिटर उत्तरमा रहेको यो पुलले लहानका साथै धनगढीमाई नगरपालिका–१२ को सिमलटोकीका बासिन्दालाई ठूलो राहत दिनेछ ।
यो पुल निर्माण हुनुमा स्वर्गीय नेता प्रदीप गिरीको ठूलो योगदान रहेको स्थानीय बताउँछन् । विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवार हुँदा उहाँले गर्नुभएको प्रतिबद्धता र निर्वाचित भएपछिको निरन्तर पहलकै कारण अहिले पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।
स्थानीय शिवदत राईले भन्नुभयो, “विगतमा यो पुल सधैँ चुनावी नारा मात्र बन्थ्यो । अब यो सपना साकार भएको छ । लहानकै सबैभन्दा बढी तरकारी उत्पादन हुने यस क्षेत्रका किसानलाई अब वर्षायाममा पनि बजारसम्म उत्पादन पु¥याउन सहज हुनेछ ।”
लहान-२४ का वडाध्यक्ष राशलाल राय राजपुतले पुल निर्माणले यस क्षेत्रको विकासका लागि ढोका खोलेको बताउनुभयो । उहाँले भन्नुभयो, “झुटकी गाउँ चारैतिरबाट सर्रे खोलाले घेरिएको कारण वर्षामा टापु जस्तै बन्थ्यो । बिरामीलाई अस्पताल पुर्याउन र किसानलाई बजार पुग्न निकै कठिन थियो । अब यो पुलले पर्यटकीय स्थल मानिकदहसम्म बाह्रै महिना सहज पहुँच पुर्याउनेछ, जसले स्थानीयको जीवनस्तर बदल्ने निश्चित छ ।” पुल निर्माणसँगै सिरहाको प्रसिद्ध धार्मिक स्थल सलहेश फूलबारी, मानिकदह, पकडियागढ र मैसोथासम्मको ‘कनेक्टिभिटी’ बलियो हुनेछ ।
---
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण