शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

२०८२ ले दिएका सबक र २०८३ का सम्यक्‌हरू

शुक्रबार, ०४ वैशाख २०८३, १० : ००
शुक्रबार, ०४ वैशाख २०८३

परिस्थितिका कैयौँ निर्मम चोटहरूसँगै केही गतिला सबक दिएर वि.सं. २०८२ हामी नेपालीमाझबाट बिदा भएको छ । सालहरू फेरिन्छन् । पात्रोका पानाहरू फेरिन्छन् । त्यो समयचक्र हो । तर वर्षहरू फेरिनु भनेको पात्रोका पानाहरू पल्टिनु मात्र होइन । सालका अङ्कहरू मात्र फेरिनु होइन ।

बरु नयाँ वर्षको सुरुवात भनेको विगतको वर्षले सिकाएका पाठहरू, त्यसले दिएका सबकहरूलाई हामीले कत्तिको अनुसरण गर्न सक्छौँ ? मूल्याङ्कनको त्यो कसीमा पुरानो वर्षको समीक्षा अनि नयाँ वर्षका योजनाहरू निर्माण हुने गर्छन् । वर्ष २०८२ ले हामीलाई धेरै चोटहरू दिएको छ । धेरै पीडाहरू दिएको छ । नियति र नियतका विषाक्त अन्तर्द्वन्द्वका कारण देश रक्तरञ्जित बन्यो ।

राष्ट्रका धरोहरमा खरानी अझै उडिरहेकै छन् । तथापि त्यो आततायी पलबाट हामी बिस्तारै आशाका किरणहरू स्पर्श गर्ने बाटोतिर उन्मुख छौँ ।

निसास्सिँदा ती पलहरूबाट अलिकति भए पनि अघि बढेर अब हामी सम्भावनाका केही मियोहरू समाउने प्रयासमा छौँ । २०८२ ले जतिसुकै दुख्ने चोट दिए पनि त्यसको दर्दलाई पन्छाएर हामीले चुनावमार्फत आशा र सम्भावनाका केही गोरेटोहरू निर्माण गर्‍यौँ । चुनावको मतपरिणाम अनि त्यसको अङ्कगणित राजनीतिको हिसाबकिताबमा काम लाग्न सक्छन्, तथापि हामी आफ्नो र नवपुस्ताको उज्यालो भविष्य निर्माणको एउटा भव्य अभियानमा सङ्कल्पित छौँ ।

यसबाट कोहीकसैलाई कुनै पनि बहानामा भाग्ने, छेलिने छुट छैन । न थाक्ने छुट छ, न हरेस खाने छुट छ । २०८२ सालको भदौ २३ र २४ को जेन-जी पुस्ताको बलिदान, रगत र उम्लिएको चाहनाको उत्कटतालाई मात्रै हामीले पछ्याउनुपर्नेछ । समग्र देशको भविष्य बिम्बित त्यो दिन ढलेका आत्माहरू त्यसपछि बल्ल समृद्धिको किरणहरूसँग कहीँकतै मुस्कुराउलान् पक्कै ।

अलिकति विगततिर फर्कौँ, अर्थात् हामीले फुलाउँदै गरेको देशको भविष्य खरानीबाट अङ्कुरित हुन सुरु गर्छ । वर्षको अन्तिमतिर अर्थात् २०८१ सालको चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनको विध्वंससँगै नयाँ वर्ष अर्थात् २०८२ को सुरुवात भएको थियो । त्यो नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएको लगभग तीन महिना पुग्नै लाग्दा भएको थियो । संसद्‌का तत्कालीन सबैभन्दा ठुला दुई दल मिलेर बनेको त्यो सरकारका पतनका दिनहरू २०८२ सँगै सुरु भएका थिए ।

राजनीतिको यो ओहोरदोहोर र भागबन्डाबाट बिरक्तिएका नवपुस्ताहरूले आफ्नो आक्रोश, निराशा, आशा र आकाङ्क्षाहरू सामाजिक सञ्जालबाटै पोख्थे । त्यही नै उनीहरूका लागि एउटा निर्विकल्प माध्यम थियो ।

राजनीतिक खिचातानीका बिच वर्षाले निम्त्याएको विपद्‌सँगै ओली सरकारको पहिलो नौ महिना बितिसकेको थियो । ओली सरकारले सामाजिक सञ्जाल विधेयक र प्रतिजासुसी विधेयकसहित धेरै प्रतिबन्धात्मक विधेयकहरू ल्याउने र त्यसलाई लागू गर्ने प्रयास गरिरहँदा राजनीतिक दलबिचका विवादहरू सतहमा आइसकेका थिए ।

संसद्‌मा सबैभन्दा ठुलो अनि दोस्रो ठुलो राजनीतिक दलको स्थान सुरक्षित हुँदाहुँदै पनि गठबन्धन र लेनदेनको स्वार्थमा अल्झिएर तेस्रो राजनीतिक दलको नेतृत्वमा सरकार बन्यो । त्यो पनि टिकेन । सत्ता सहयात्रीहरू एकपछि अर्को गर्दै फेरिँदै गए । र पनि न सरकार, न प्रणाली, केही पनि लामो समयसम्म टिक्नै सकेनन् ।

राजनीतिको यो ओहोरदोहोर र भागबन्डाबाट बिरक्तिएका नवपुस्ताहरूले आफ्नो आक्रोश, निराशा, आशा र आकाङ्क्षाहरू सामाजिक सञ्जालबाटै पोख्थे । त्यही नै उनीहरूका लागि एउटा निर्विकल्प माध्यम थियो । माइतीघर मण्डलाका सडकहरूमा सरकारको उतिसारो चासो देखिनै छोडेको थियो । अर्थात् नजिकैको सिंहदरबार माइतीघरबाट जहिल्यै कोसौँ टाढा रह्यो, भइरह्यो ।

राजनीतिक दलहरूले त्यसको आवाज, भावना र भावार्थलाई सधैँ सत्ताको भर्‍याङ बनाइरहे । अनि उक्लिएपछि मिल्काइरहे । त्यही सेरोफेरोमा दुई शक्तिशाली दलहरू मिलेर सरकार बन्यो । संसद्‌मा लगभग प्रतिपक्ष दलहरू नै भएनन् । भएकाहरू पनि सरकारको छायामा निरीहजस्ता भए । त्यो बेला दलहरूले मिलेर सरकार बनाएका थिए । खासमा भन्दा भागबन्डामा मिलाएका थिए । तर, यसपालिको निर्वाचनबाट जनताले मिलाइदिए ।

फरक यत्ति हो, यसपालि जनताले नयाँ दल र नयाँ प्रतिनिधिहरूलाई आफ्नो भावना दिए । जनताले ल पाँच वर्ष ‘गरिखानू’ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसपालि झन्डै दुई तिहाइ मत दिए । त्यो बेला दलहरू ‘गरिखाऔँ’ भनेर आफू-आफू मिलिरहे । त्यो बेलादेखि नै एमालेभित्र नेतृत्व हस्तान्तरण र नेपाली कांग्रेसभित्र पुस्तान्तरणको विवाद चर्किरहेको थियो ।

न उनीहरूलाई राजनीति थाहा थियो, न त्योभित्रको ‘गन्दगी’ । अर्थात् यी सबबाट निकै पर रहेर आफ्नै दुनियाँमा रमाइरहेको यो पुस्तालाई एउटा शासकको अहङ्कारले सडकमा आउन बाध्य बनाएको थियो ।

एमालेभित्र पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियताले आँधी ल्याइसकेको थियो । तर ओली आफैँ अध्यक्ष बनेर फेरि त्यसलाई थन्को लगाउने कोसिस गरे । त्यसैबिच सरकारले सामाजिक सञ्जालका कतिपय प्लेटफर्महरू बन्द गर्न सुरु गर्‍यो, त्यही नै ओली सरकारको पतनको स्पष्ट विन्दु बन्यो ।

सरकारले सामाजिक सञ्जालका प्लेटफर्म चलाउने अन्तर्राष्ट्रिय कम्पनीहरूलाई राज्यको कानुनी दायरामा ल्याउने नाममा सामाजिक अभिव्यक्तिहरू थुन्ने कोसिस गरिरहेको थियो । तर इन्टरनेटसँगै जन्मिएको नयाँ पुस्ताले सरकारभन्दा पनि कैयौँ कदम अघि बढेर भित्रभित्रै इन्टरनेट क्रान्तिको आँधी फुकिसकेको थियो । शासकका आँखामा बिझाइरहे पनि नवपुस्ताको निम्ति त्यही सामाजिक सञ्जाल अर्थात् इन्टरनेटको त्यही भर्चुअल दुनियाँ सबथोक थियो ।

न उनीहरूलाई राजनीति थाहा थियो, न त्योभित्रको ‘गन्दगी’ । अर्थात् यी सबबाट निकै पर रहेर आफ्नै दुनियाँमा रमाइरहेको यो पुस्तालाई एउटा शासकको अहङ्कारले सडकमा आउन बाध्य बनाएको थियो । २०८२ भदौ २३ गते माइतीघर मण्डलामा जेन-जी पुस्ताका कलिला पाइलाहरू नेताहरूको ‘नेपो बेबी’ वाला विभेदविरुद्ध अघि बढ्दै थिए । तिनै पाइला संसद् भवन पुग्दा नपुग्दै काठमाडौँ रक्तरञ्जित हुन पुग्यो ।

७६ भन्दा धेरै कलिला ज्यानहरू मासिए । अर्को दिन भदौ २४ मा संसद् भवन मात्रै होइन, सिंहदरबार र सर्वोच्च अदालतसहित देशका कैयौँ धरोहर र सम्पत्तिहरू धुवाँ-धुवाँ भएर खरानी भए । अहङ्कारले भरिएको ठुला दलहरूको शक्तिशाली सरकार २४ घण्टा नबित्दै गर्ल्याम्मै ढल्यो । देशमा मडारिइरहेको धुवाँसँगै कैयौँ दिनसम्म अनिश्चितताको तुवाँलो देशमा पुत्ताइरह्यो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व परिवर्तन र पुस्तान्तरणको बाटो थुन्नकै लागि कैयौँ टुक्रा कम्युनिस्टहरूलाई एकै ठाउँमा ल्याए । माओवादीलाई मासेर उनले ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाए ।

संसद् रहेन, सरकार रहेन । सर्वोच्च न्यायालय रहेन । राष्ट्रपति कार्यालय आफैँमा बबुरो जस्तै बन्यो ।

त्यो अत्यासलाग्दो शून्यता नेपाली राजनीतिमा कैयौँ पुस्तासम्म झस्काइरहने पल बनेको छ । भदौ २८ मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालकी पहिलो महिला अन्तरिम प्रधानमन्त्री नियुक्त हुनुभयो । तत्कालै संसद् विघटन भयो र २०८२ फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरियो ।

अनिश्चितताका बादलहरू फेरि मडारिन थालेका थिए । यसैबिच राजनीतिक दलहरूभित्रै पनि धेरै उथलपुथल भयो । पुस्तान्तरणका लागि कांग्रेसभित्र हुर्रिरहेको झिल्को २०८२ पुस अन्तिमतिर विशेष महाधिवेशनको आगो बनेर दन्कियो । कांग्रेसमा गगन पुस्ता नेतृत्वमा आयो । यद्यपि अहिले पनि कांग्रेसको आधिकारिकता विवाद अदालतले टुङ्ग्याइसकेको छैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व परिवर्तन र पुस्तान्तरणको बाटो थुन्नकै लागि कैयौँ टुक्रा कम्युनिस्टहरूलाई एकै ठाउँमा ल्याए । माओवादीलाई मासेर उनले ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाए ।

२०८२ साल समग्रमा नेपाली राजनीतिको एउटा विरासत अन्त्य भएको वर्षका रूपमा रह्यो । २०७९ सालको निर्वाचनमा केही सिट मात्रै ल्याएर संसदीय यात्रा थालेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा राजनीतिको पुरानो अध्याय समाप्त मात्र पारेन, बरु राजनीतिदेखि बिरक्तिएका युवाहरूलाई राजनीतिको मूल राजमार्गमा दौडाउने एउटा ऐतिहासिक आयामको पनि सुरुवात गर्‍यो ।

काठमाडौँको मेयरबाट राजीनामा दिएर बालेन शाह प्रत्यक्ष राजनीतिमा जोडिए । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई ‘प्रधानमन्त्री’का रूपमा प्रोजेक्ट गर्‍यो । भित्रभित्रै रन्किरहेको ‘घण्टी’को त्यो ध्वनिले फागुन २१ गते नेपाली राजनीतिमा एउटा भयङ्कर स्वराङ्कन गर्‍यो । गगनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा होमिएको ‘नयाँ’ कांग्रेसको इतिहासमा सबैभन्दा नमिठो हारको परिणाम लेखियो । स्वयं पार्टी सभापति थापा पनि पराजित हुनुपर्ने चुनावी परिस्थिति बन्यो । मधेसका सारा क्षेत्रीय दलहरू नभेटिने गरी बढारिए ।

सरकारले २०४६ पछिका सबै उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । यसबाट सुशासनको बाटोमा नयाँ सरकारका प्रतिबद्धताहरू बलिया हुनेछन् भन्ने सङ्केत पनि देखिएको छ ।

हर्क साम्पाङको नयाँ राजनीतिक यात्रा सुरुवात भयो । नेकपा (एमाले) को हालत झनै खराब भयो । ओलीलाई उनकै क्षेत्रमा पुगेर बालेनले चुनौती दिए । वर्षौँसम्म ओलीको एकाधिकार ‘किल्ला’ बालेनले केही दिनमै ढालिदिए, त्यो पनि सानदार परिणामसहित ।

वर्षको अन्त्यतिर नयाँ सरकार बनेको छ । रास्वपाले आफूले वाचा गरेअनुसार बालेन शाह प्रधानमन्त्री हुनुभएको छ । सरकार गठन भएको केही घण्टाभित्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकजस्ता शक्तिशाली राजनीतिज्ञहरू पक्राउ परे । कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजुविरुद्ध पक्राउपुर्जी जारी भयो । कैयौँ शक्तिशाली नेताविरुद्धका फाइलहरू फेरि खुलेका छन् । कैयौँ पक्राउ परेर अझै हिरासतमै छन् ।

सरकारले २०४६ पछिका सबै उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । यसबाट सुशासनको बाटोमा नयाँ सरकारका प्रतिबद्धताहरू बलिया हुनेछन् भन्ने सङ्केत पनि देखिएको छ । यद्यपि परिणाम पाउन हामीसँग अझ धेरै समय बाँकी छ, तथापि सरकारसँग भने समय धेरै छैन । जनताका चाहना, आशा र अपेक्षाहरू जसरी उत्कट रूपमा देखिएका छन्, त्यही स्वरूपको गतिमा सरकार अघि बढ्न सकेन भने निराशा र आक्रोशका बादलहरू फेरि फुट्नेछन्, अझ विस्फोटक बनेर ।

नयाँ वर्षको सुरुवातसँगै सरकारले शासकीय सुधारका केही राम्रा अभ्यासहरू सुरुवात गरेको छ । सुधार र सुशासनका केही अध्यायहरू सुरुवात भइसकेका छन् । अरू पनि राजनीतिक दलका जायज चुनावी वाचाहरूलाई अपनत्व ग्रहण गरेर सरकारले केही उदार राजनीतिक अभ्यास सुरु गरेको छ ।

तथापि गर्न बाँकी अझ धेरै कामहरू छन् । सरकारको सुरुवाती रफ्तार हेर्दा साँच्चिकै जनतामा ‘चाह्यो भने गर्न सकिने रहेछ नि... !’ भन्ने सकारात्मक भावना जागृत भएको देखिन्छ ।

समग्रमा वर्ष २०८२ नेपाली इतिहासको एउटा पात्रोका रूपमा मात्रै सीमित रहेन । बितेको वर्ष समग्र नेपालको एउटा नयाँ चित्र कोरेर बिदा भएको छ । आफ्नै देश मात्रै होइन, पूरै विश्वमा परिवर्तनको एउटा मानक बनेको वर्ष २०८२ नेपाली राजनीतिक इतिहासमा अविस्मरणीय सिङ्गो पुस्तक पनि हो ।

एउटा त्यस्तो पुस्तक, जहाँबाट एउटा मेटिएको इतिहाससँगै अर्को इतिहासका धर्काहरू कोरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शोभाकर पराजुली
डा. शोभाकर पराजुली
लेखकबाट थप