मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

सोमबार, ०४ साउन २०८३, ११ : ५५
सोमबार, ०४ साउन २०८३

सारांश

  • यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
  • साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
  • पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ ।

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । साउने सोमबारका अवसरमा पशुपतिनाथको सहज रूपमा दर्शन गर्न बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ  । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ ।

रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ ।  विवाहित महिलाले श्रीमानको दीर्घ जीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ ।

घर–घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठुला साना सबै शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्ने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप