बालेन शाहदेखि अभिनेत्री मनिषा कोइरालासम्म : आमालाई कसरी सम्झिए ?
सारांश
- आज देशभर श्रद्धा र उल्लासका साथ आमाको मुख हेर्ने पर्व मनाइँदै छ।
- विभिन्न राजनीतिक व्यक्तित्व र कलाकारहरूले सामाजिक सञ्जालमार्फत आफ्नी आमाप्रति कृतज्ञता र सम्मान व्यक्त गरेका छन्।
- कवि अर्जुन पराजुलीले आमालाई सम्बोधन गर्दै समसामयिक विकृति र विसङ्गतिप्रति कवितामार्फत व्यङ्ग्य गरेका छन्।
काठमाडौँ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धापूर्वक मनाइँदै छ । जन्मदाता आमालाई मीठा खानेकुरा खान दिने, नयाँ वस्त्र उपहार दिने र आशीर्वाद ग्रहण गर्ने परम्परा अनुसार आज बिहानैदेखि घरघरमा उल्लास छाएको छ ।
शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठुलो दर्जा दिइएकी आमाप्रति सम्मान व्यक्त गर्न आज सन्तानहरूले विभिन्न माध्यमबाट आफ्नो कृतज्ञता प्रकट गरेका छन् ।
सनातन वैदिक परम्परा अनुसार आमालाई ढोग्ने र उनको मुख हेर्ने गरिन्छ भने आमा नभएकाहरूले दिवङ्गत माताको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गरी श्रद्धा प्रकट गर्दछन् । नौ महिनासम्म गर्भमा धारण गरेर जीवन दिने आमाको महत्त्व बाबुको भन्दा हजार गुणा बढी हुने कुरा ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
यस अवसरमा देशका प्रमुख राजनीतिक व्यक्तित्वदेखि कलाकार र साहित्यकारहरूले सामाजिक सञ्जालमार्फत आमाप्रति आ-आफ्नो भावना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्दै आमा र मातृभूमि दुवै स्वर्गभन्दा महान् रहेको उल्लेख गरेका छन् । उनले आमाको काखलाई न्यानो र चरणलाई तीर्थको संज्ञा दिँदै नेपाल आमा हाँसेको हेर्ने आफ्नो चाहना रहेको सन्देश साझा गरेका छन् । बालेनले सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गर्दै आमालाई सधैँ हँसाउन सक्ने कर्म गर्न सबै सन्तानलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जन्म दिने आमासँगै संसारभरिका आमाहरू र आफूलाई छोरो सम्झेर आशीर्वाद दिने सबै मातृ शक्तिप्रति नमन गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापाले आमालाई आफ्नो जीवनको गुरुका रूपमा स्मरण गर्दै परिस्थितिभन्दा ठुलो धैर्य र विश्वास हुन्छ भन्ने पाठ यस पटक पनि आमाबाटै सिकेको उल्लेख गरेका छन् । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मातृ शक्तिप्रति सम्मान र उपासनाको दिनका रूपमा यस पर्वलाई अर्थ्याउँदै आफ्नी स्वर्गीय आमाको स्मृतिमा श्रद्धासुमन अर्पण गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने तस्बिरमा सीमित आफ्नी आमालाई सम्झिँदै पोस्ट गरेका छन् । उनले आमाको आशीर्वादले सधैँ इमान र निष्ठाको बाटोमा अविचलित रहन शक्ति मिलोस् भन्दै जहाँ भए पनि आमाको शिर उँचो राख्ने वाचा गरेका छन् ।

यसैगरी अभिनेत्री मनिषा कोइरालाले आफ्नो अस्तित्वको आधार नै आमाको माया र त्याग भएको बताएकी छन् । उनले आफूलाई हुर्काउने सुशीला आमालाई पनि विशेष कृतज्ञताका साथ सम्झँदै बाल्यकालमा आइतबार फिल्म हेर्न गएका पलहरूलाई आफ्नो जीवनको उत्कृष्ट सम्झनाका रूपमा साझा गरेकी छन् । अभिनेत्री करिष्मा मानन्धरले आमालाई आफ्नो पहिलो माया र सबैभन्दा ठुलो शक्तिका रूपमा चित्रण गर्दै सम्पूर्ण जननीहरूमा नमन व्यक्त गरेकी छन् ।

यता, कवि अर्जुन पराजुलीले भने आमाको मुख हेर्ने दिनको अवसर पारेर कवितामार्फत समसामयिक विकृतिमाथि कडा व्यङ्ग्य प्रहार गरेका छन् । उनले आमालाई सम्बोधन गर्दै अब भ्रष्टाचारीहरू दण्डित भएको, न्यायालयमा वास्तविक न्यायाधीशहरू बसेको र दुर्गम गाउँमा हेलिकप्टरले केक होइन, अस्पताल बोकेर आएको हेर्ने चाहना व्यक्त गरेका छन् । सानालाई ऐन र ठुलालाई चैन हुने अवस्थाको अन्त्य भई भ्रष्टहरू जेल परेको हेर्ने चाहना उनको कवितामा झल्किएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण