सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
कांग्रेस आधिकारिकता विवाद

सर्वोच्च अदालतद्वारा गगन थापाको पक्षमा फैसला

शुक्रबार, ०४ वैशाख २०८३, २२ : १७
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा गगन थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको छ।
  • न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरेको छ।

काठमाडाैँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो । 

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेर बहादुर देउवा र पूर्णबहादुर खड्का माघ ४ गते सर्वोच्चमा रिट लिएर पुगेका थिए । 

रिट निवेदनमा नेपाली कांग्रेसको विधान र प्रचलित कानुन विपरीत बोलाइएको विशेष महाधिवेशन अवैध रहेको जिकिर गरिएको थियो ।  निवेदक देउवा र पूर्णबहादुर खड्का समेतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल २०८२ माघ मसान्तसम्म थप गरिएको अवस्थामा बिचमै अवैध तरिकाले विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नु लोकतान्त्रिक मूल्य मान्यता र पार्टी विधानको धारा १७, २७ र ४३ विपरीत रहेको दाबी गरेका थिए । 

निर्वाचन आयोगले पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनको बेवास्ता गर्दै अवैध समितिलाई आधिकारिकता दिएको भन्दै आयोगको माघ २ गतेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको थियो । आयोगले ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर प्रमाणीकरण नगरी र सुनुवाइको मौका समेत नदिई एकपक्षीय रूपमा विवरण अद्यावधिक गरिदिएको रिटमा उल्लेख थियो । 
देउवा पक्षले आफूहरू नै कांग्रेसको वैध पदाधिकारी रहेको दाबी गर्दै आयोगको निर्णय कार्यान्वयन नगर्न र गगन थापा नेतृत्वको समितिलाई कुनै पनि काम कारबाही गर्न नदिन अन्तरिम आदेशको समेत माग गरेपनि अदालतले यसअघि नै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।  त्यससँगै माघ ६ गते गगन थापाको हस्ताक्षरमा कांग्रेसका उम्मेदवारले निर्वाचनमा मनोनयन दर्ता गराएको थियो । देउवा पक्षको असहमतिका बिच कांग्रेसको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप