मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कास्टिङका नाममा फिल्ममेकरले दुर्व्यवहार गरेको डेजी शाहको खुलासा

शनिबार, ०५ वैशाख २०८३, ०६ : ४७
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • बलिउड अभिनेत्री डेजी शाहले आफ्नो करिअरको सुरुवाती दिनमा एक फिल्ममेकरले कास्टिङका नाममा आफूमाथि दुर्व्यवहार गरेको खुलासा गरेकी छन् ।
  • असहज महसुस भएपछि उनी उक्त व्यक्तिसँगको कुराकानी बीचमै छाडेर सुरक्षित रूपमा बाहिरिएकी थिइन् ।
  • उनले आफ्नो सफलतामा सलमान खानको हात रहेको भन्ने चर्चालाई खण्डन गर्दै आफ्नो कडा परिश्रमको भूमिका रहेको बताएकी छन् ।

काठमाडौं । बलिउड अभिनेत्री डेजी शाहले आफ्नो करिअरको सुरुवाती दिनमा भोगेको एउटा निकै नराम्रो र डरलाग्दो अनुभव सार्वजनिक गरेकी छन् । एक अन्तर्वार्ताका क्रममा उनले कास्टिङ मिटिङका नाममा एक फिल्ममेकरले आफूमाथि गरेको दुर्व्यवहार र त्यसले आफ्नो जीवनमा पारेको प्रभावबारे खुलेर चर्चा गरेकी हुन् ।

‘फ्री प्रेस जर्नल’ सँग कुरा गर्दै डेजीले मुम्बईमा भएको उक्त घटनाको स्मरण गरिन् । उनका अनुसार दक्षिण भारतीय फिल्म उद्योगका एक फिल्ममेकर कास्टिङका लागि मुम्बई आएका थिए र त्यहाँ आफूसहित ६-७ जना युवतीहरू कामको सिलसिलामा भेट्न पुगेका थिए ।

ती फिल्ममेकरले हरेक केटीलाई पालैपालो एक्लै कोठाभित्र बोलाएर कुरा गरिरहेका थिए । जब डेजीको पालो आयो र उनी भित्र पसिन्, कुराकानी नसकिँदै उनलाई त्यहाँको वातावरण असहज लाग्न थालिसकेको थियो ।

डेजीले त्यो क्षण सम्झिँदै कुराकानीकै क्रममा ती फिल्ममेकरले उनलाई गलत नियतले छोएको र उनको हात समातेको सुनाइन् । आफूलाई कसैले छोएको सानैदेखि मन नपर्ने स्वभावकी डेजीका लागि एक अपरिचित पुरुषले त्यसरी छुनु निकै ठुलो र अप्रिय कुरा थियो ।

उनले आफू मसाज गराउन समेत नजाने र महिलाले छुँदा समेत असहज मान्ने व्यक्ति भएको स्पष्ट पार्दै त्यसबेला निकै असुरक्षित महसुस गरेको बताएकी छन् । त्यो स्थितिबाट उम्किन डेजीले तुरुन्तै चतुरता अपनाएकी थिइन् ।

उनले फिल्ममेकरलाई ‘म तपाईंसँग पछि कुरा गर्छु’ भन्दै कुनै प्रतिक्रिया नदिई त्यहाँबाट निस्कने निर्णय गरिन् । त्यसपछि उनले ती व्यक्तिसँग कहिल्यै सम्पर्क गरिनन् । यस घटनाले उनलाई फिल्म उद्योगमा काम गर्दा कहिल्यै पनि कसैसँग एक्लै भेट्नु हुँदैन भन्ने ठूलो पाठ सिकाएको छ ।

यसै अन्तर्वार्ताका क्रममा डेजीले सलमान खानसँग जोडेर आउने टिप्पणीहरूको पनि जवाफ दिएकी छन् । आफ्नो करिअर सलमान खानकै कारण मात्र चलिरहेको भन्ने चर्चामाथि उनले स्पष्ट पार्दै समाजमा कुनै पनि महिलाको सफलताका पछाडि सधैँ अरू कसैको हात देख्ने प्रवृति रहेको बताइन् ।

जीवनमा कसैबाट सहयोग पाउनु सामान्य कुरा भए पनि आफ्नो सफलतामा आफ्नै कडा परिश्रमको मुख्य भूमिका रहने र अब आफूलाई यस्ता कुराले खासै फरक नपर्ने उनले उल्लेख गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप