मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

असनमा ‘भेइकल फ्रि’ शनिबारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’

आइतबार, ०६ वैशाख २०८३, ०९ : ५५
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले असनको सांस्कृतिक महत्त्व जोगाउन हरेक शनिवार सवारी साधन निषेध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।
  • स्थानीय व्यवसायीहरूबीच यस निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ, जहाँ केहीले व्यापारमा घाटा हुने चिन्ता व्यक्त गरेका छन् भने केहीले स्वागत गरेका छन्।
  • महानगरपालिकाले असनलाई 'लिभिङ म्युजियम'का रूपमा विकास गर्दै पैदलयात्री र नागरिकको सहजताका लागि यो अभियान सञ्चालन गरेको स्पष्ट पारेको छ।

काठमाडौँ ।  नुनदेखि सुनसम्म पाइने, इतिहासदेखि वर्तमानसम्म जोडिएको र बालबालिकादेखि वृद्ध वृद्धासम्मको स्मृतिमा बसेको ठाउँ हो— काठमाडौँको असन । काठमाडौँ महानगरपालिकाले यहाँको सांस्कृतिक ओजलाई फर्काउन हरेक शनिवार सवारी आवतजावतमा प्रतिबन्ध लगाएको छ । वैशाख ५ गते शनिवारबाट कार्यान्वयनमा समेत आइसकेको छ । 

तर यो निर्णयले स्थानीय व्यवसायी र जनप्रतिनिधिबिचको बुझाइमा भने ठुलै खाडल देखिएको छ । काभ्रेपलान्चोकबाट आएर असनमा भाडा पसल गरिरहेका अशोक आचार्यका लागि ‘भेइकल फ्रि’ शनिवार कुनै उत्सव होइन, बरु एउटा आर्थिक बोझ बनेको छ । 

उनी भन्छन्– ‘सांस्कृतिक हिसाबले त राम्रै होला, तर हामी व्यापार गर्नेलाई घरबेटीले छुट दिँदैनन् । दिनको १५–२० हजार खर्च हुने ठाउँमा महिनाको चार शनिवार बन्द हुँदा ८० हजार रुपैयाँ त हामी सिधै गुमाउँछौँ ।’

तर अर्का व्यवसायी सीताराम तिमल्सिनाको धारणा भने आचार्यको भन्दा ठिक विपरीत छ । उनी महानगरको यो कदमलाई ‘स्वागतयोग्य’ मान्छन् ।

‘प्रभाव त अलिअलि परिहाल्छ, तर यो राम्रो कुरा हो । हाम्रो कला, संस्कृति र खानपिनको विज्ञापन जस्तो भयो ।’ तिमल्सिना भन्छन्, ‘महानगरपालिकाले राम्रै गरिरहेको छ ।’ उनका अनुसार शनिवार गाडी नहुँदैमा व्यापारमा ठुलै धक्का भने लाग्दैन । 

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल भने यो अभियानलाई एउटा ठुलो ‘भिजन’ का रूपमा हेर्छिन् । उनले असनलाई एउटा ‘लिभिङ म्युजियम’ (जीवन्त सङ्ग्रहालय)का रूपमा व्याख्या गरेकी छिन् । 

‘सहर भनेको गाडीको लागि मात्र होइन, आम नागरिक र पैदलमार्गीका लागि पनि हो ।’ डंगोल भन्छिन्, ‘हामीले हाम्रो ठाउँमा आनन्दले हिँड्न पाउनुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ । बाजे–बज्यैको हात समातेर नानीहरू डबलीमा निर्धक्क खेल्न पाउन्, यो नै यसको मुख्य उद्देश्य हो ।’

उनले असनका मन्दिर र बहा–बहीहरूको महत्त्व गाडीको ‘ट्याँ–ट्याँ र टुँ–टुँ’ हर्नका कारण मासिएको स्वीकार गर्दै शनिवारको दिनलाई ‘असन महशुस गर्ने मौका’ का रूपमा परिभाषित गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप