सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

दक्षिणी लेबनानमा फ्रान्सेली शान्ति सैनिक मारिए, तीन घाइते

आइतबार, ०६ वैशाख २०८३, ११ : २७
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघको गस्ती टोलीमाथि भएको आक्रमणमा एक फ्रान्सेली शान्ति सैनिकको मृत्यु भएको छ ।
  • यो आक्रमणमा परी अन्य तीन जना शान्ति सैनिक घाइते भएका छन् ।
  • फ्रान्सका राष्ट्रपतिले यस घटनाका लागि हेजबुल्लाहलाई जिम्मेवार ठहराएका छन् भने हेजबुल्लाहले त्यसलाई अस्वीकार गरेको छ ।

बेरुत । दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघको गस्ती टोलीमाथि भएको आक्रमणमा एक फ्रान्सेली शान्ति सैनिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । यो आक्रमण जानाजान गरिएको अधिकारीहरूले बताएका छन् । 

संयुक्त राष्ट्रसंघको शान्ति मिसन यूएनआईएफआईएलले घटनाको पुष्टि गर्दै साना हतियारबाट गोली प्रहार हुँदा एक सैनिकको ज्यान गएको र दुई गम्भीरसहित तीन जना घाइते भएको जनाएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रेँले यस आक्रमणका लागि हेजबुल्लाहलाई जिम्मेवार ठहराएका छन् । तर इरान समर्थित उक्त समूहले घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेको छ ।

यो घटना दक्षिणी लेबनानमा बढ्दो तनावबिच भएको हो, जहाँ हेजबुल्लाह र इजरायलबिच मार्च २ देखि पुनः द्वन्द्व चर्किएको छ । अप्रिल १६ मा १० दिने युद्धविराम लागू भए पनि अवस्था अझै संवेदनशील छ । फ्रान्सकी रक्षा मन्त्री क्याथरिन भाउट्रिनका अनुसार, उक्त सैनिक अवरुद्ध भएको यूएनआईएफआईएलको चौकीमा पहुँच पुनःस्थापना गर्ने क्रममा नजिकैबाट गरिएको आक्रमणमा परेका थिए । उनलाई सिधै गोली लागेको थियो र सहकर्मीहरूले उद्धार गर्ने प्रयास गरे पनि बचाउन नसकेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुट्रेसका प्रवक्ताले घटनाको निन्दा गर्दै “गैर राज्य पक्ष”बाट आक्रमण भएको प्रारम्भिक निष्कर्ष रहेको बताएका छन् । लेबनानका राष्ट्रपति जोसेफ आउनले घटनाको निन्दा गर्दै दोषीलाई कानुनी कारबाही गरिने बताएका छन् । साथै प्रधानमन्त्री नवाफ सलामले पनि अनुसन्धान गर्न आदेश दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप