सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राप्रपामा किचलाे

पार्टी ‘फुटको डेडलाइन’ले राप्रपामा तरङ्ग

आइतबार, ०६ वैशाख २०८३, २२ : २०
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • राप्रपाका महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने चेतावनी दिएका छन्।
  • अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता मोहन श्रेष्ठले पार्टी समाप्त हुने तर्कको खण्डन गर्दै महाधिवेशनको तयारी भइरहेको बताएका छन्।
  • पार्टीभित्रको असन्तुष्ट समूहले नेतृत्वलाई दबाब दिँदै महाधिवेशनको मिति घोषणा गर्न माग गरेको छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले ‘डेडलाइन’ नै तोकेर जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ । राप्रपाको विवाद उग्र बनिरहेको बेला राणाले ‘डेडलाइन’ नै तोकेर यस्तो अभिव्यक्ति दिएपछि पार्टीभित्र थप तरङ्ग उत्पन्न भएको हो । 

पार्टीभित्र विधि र पद्धतिको वकालत गर्दै राणा नेतृत्वकै असन्तुष्ट समूहले जेठभित्र महाधिवेशन गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिँदै आएको छ । 

यही क्रममा चैत २८ गते असन्तुष्ट पक्षले नेतृत्वलाई ध्यानाकर्षण गराउँदै ३ बुँदे माग अघि सारेको थियो । जसमा सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने र व्यापक सुधारको उद्देश्य लिएर एकताको महाधिवेशन पश्चात् राप्रपाको आदर्श, विधान र अनुशासन विपरीत भएका काम कारबाहीको न्यायसङ्गत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेस गर्न एक छानबिन समिति गठन गर्ने विषय उल्लेख छ । 

यही मागसहित ध्यानाकर्षण गराएको एक साताको अल्टिमेटम आइतबारसम्म रहँदा त्यसअघि नै महामन्त्री राणाले दिएको कडा अभिव्यक्ति दिएका हुन् । 

रातोपाटीको वारपार कार्यक्रमका लागि शनिबार दिएको अन्तर्वार्तामा राणाले ‘जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने’ अभिव्यक्ति दिएका थिए । उनले अन्तर्वार्तामा भनेका छन्, ‘कार्यकर्ताहरूलाई के भन्छु भने तपाईँहरूले पनि प्रेसर गर्नुपर्‍याे । पार्टी फुट्न दिनु हुँदैन । महाधिवेशन गराउनु पर्छ समयमा, जेठमा । महाधिवेशन अनन्तकाल सम्म भएन भने स्थानीय निकायमा पार्टीले उम्मेदवार नपाउने स्थिति छ । मेरै जिल्लाबाट कार्यकर्ताहरू घण्टीमा गइरहेका छन् भनेर खबर आएको छ । जित्ने वडाध्यक्षहरू गए । अरू पनि जाँदै छन् । अब यस्तो परिस्थितिमा पार्टी छ । अहिले पनि हामी पार्टीलाई निकास दिन्छौँ, कार्यकर्ताको मन बुझेर अगाडि बढ्दैनौँ भने यो पार्टी समाप्त हुन्छ ।’ 

साथसाथै राप्रपाकै अर्का केन्द्रीय सदस्य रञ्जन कार्कीले समेत अध्यक्ष लिङ्देनले चुनावी नतिजामा नैतिकता देखाउनुपर्ने बताएका थिए । 

यसरी पार्टीभित्र सार्वजनिक रूपमा महाधिवेशन  र नेतृत्वको नैतिकताको प्रश्न उठाइएपनि अध्यक्ष लिङ्देन नै बोल्न बाध्य भएका छन् । लिङ्देनले राप्रपा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्दा हुने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नो सारा गल्ती कमी कमजोरीहरूलाई सच्याएर पुनर्गठित भएर उठ्ने बताएका हुन् । 

उनले भनेका छन्, ‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन भन्ने सपना कसैले नदेखे हुन्छ । म जस्ता असङ्ख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन ।’

अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा राप्रपा राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणाबाट पनि पछाडि नफर्किने बताएका छन् । 

यस्तै प्रवक्ता मोहन श्रेष्ठले समेत राणाको अभिव्यक्तिको प्रतिवाद गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक जीवन र अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीबारे भ्रम फैलाउने काम जिम्मेवार नेताबाटै भएको भन्दै प्रतिवाद गरेका हुन्।

श्रेष्ठले लेखेका छन्, ‘जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने खालका अभिव्यक्ति जिम्मेवार व्यक्तिहरूबाट सार्वजनिक हुनु दुःखद छ । सर्वत्र असहयोगका बाबजुद अहिले नसकिएको राप्रपा कहिल्यै सकिँदैन, समाप्त हुँदैन ।’

अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन टारिरहेको भन्ने आरोपलाई प्रवक्ता श्रेष्ठले गलत भाष्यको संज्ञा दिएका छन् । अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्नका लागि प्रक्रियामा धेरै अघि नै प्रवेश गरिसकेको उनको दाबी छ ।

पार्टीभित्र बसेर नेतृत्वको आलोचना गर्ने तर निर्वाचनमा असहयोग गर्नेहरूमाथि पनि श्रेष्ठले कटाक्ष गरेका छन् । ‘उम्मेदवार नबन्ने, पार्टीका उम्मेदवारलाई सहयोग नगर्ने, पार्टी राष्ट्रिय पार्टी बन्छ कि भनेर चिन्ता गर्ने र भोट हाल्न समेत नजानेहरूले पार्टीमा नैतिकताको खोजी गरिरहेको देख्दा उदेक लाग्छ,’ उनले लेखेका छन् । 

राप्रपाकै अर्का नेता दिलनाथ गिरीले भने वर्तमान समस्याको समाधानको एउटामात्रै विकल्प तत्काल महाधिवेशन गर्नु भएको उल्लेख गर्दै यसका लागि बैठक बोलाएर तत्काल मिति घोषणा गरिनुपर्ने बताए । उनले चैत २८ गते नेतृत्वलाई बुझाइएको पत्रलाई सम्बोधन गर्दै अघि बढिनुपर्ने समेत बताए।

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप