बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आन्तरिक कलह

शिरदेखि पाउसम्म फैलियो राप्रपाको विवाद, विभाजनको भय

बिहीबार, ०३ वैशाख २०८३, १६ : २५
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • राप्रपाको आन्तरिक विवाद चुलिँदै गएपछि पार्टी पुनः विभाजनको सङ्कटमा परेको छ।
  • धवलशमशेर राणा पक्षले नेतृत्वलाई महाधिवेशनको मिति घोषणा गर्न र तीन बुँदे माग पूरा गर्न अल्टिमेटम दिएको छ।
  • पार्टी प्रवक्ता मोहन श्रेष्ठले भने वर्तमान नेतृत्व नै सक्षम रहेको र असन्तुष्ट पक्षको माग लोकतान्त्रिक प्रक्रिया विपरीत भएको जिकिर गरेका छन्।

काठमाडौँ । पूर्वपञ्चहरूको बाहुल्यता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गठन नै विभाजनबाट सुरु भएको इतिहास छ । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि पूर्वपञ्चहरू संगठित हुने क्रममा तत्कालीन नेताद्वय सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दमध्ये को अध्यक्ष बन्ने भन्नेमा कुरा नमिल्दा एकै पटक दुई राप्रपा घोषणा हुन पुग्यो ।

विवादकै कारण २०४७ साल जेठ १५ गते एकै दिन दुई वटा पार्टी घोषणा भएको स्मरण गर्छन् राप्रपा नेता जनकराज पाठक । जसअनुसार लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा, प्रकाश चन्द्र लोहनी, पद्मसुन्दर लावती लगायतका नेताहरू मिलेर पशुपति शमशेरको घरमा राप्रपा (चन्द)को घोषणा भयो भने सूर्यबहादुर थापा, बालाराम घर्ती मगर लगायतका टोलीले बहुदलवादी नेता छिरिङ तेन्जिङको घरमा राप्रपा (थापा)को घोषणा गरे ।

यसरी विभाजनबाट सुरु भएको राप्रपाको यात्रामा फुट र जुटको शृङ्खला निकै लामो छ । २०४७ मा फुटेका दुई राप्रपा २०५१ सालमा आएर पहिलो पटक एक भएका थिए । २०४८ सालको निर्वाचनमा चन्द नेतृत्वको राप्रपाले ३ सिट र थापा नेतृत्वको राप्रपाले १ सिट जितेसँगै दुवै पार्टीले चेतेर ०५१ मा एकता भएको थियो । त्यसपछि पनि पटक–पटक फुट्दै र जुट्दै आएका राप्रपा अहिले फेरि विभाजनको मुखमा पुगेको नेताहरू नै स्वीकार गर्छन् ।

यद्यपि आफूहरू पार्टीभित्रको समस्या समाधान गरेर राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई सशक्त बनाउनुपर्छ भन्ने पक्षमा रहेको पाठक बताउँछन् ।

हुन पनि ३६ वर्षको इतिहासमा राप्रपा १० पटक फुटेको छ । अहिले फेरि नेतृत्व हस्तान्तरण र महाधिवेशनको किचलोका कारण पार्टीमा दाउपेच र फुटको आशङ्का बढ्न थालेको हो ।

अहिले राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देन छन् । तर, लिङ्देनको नेतृत्वप्रति धवलशमशेर राणा नेतृत्वको समूहले निरन्तर प्रश्न उठाएपछि पार्टीभित्र विवाद उग्रमात्रै बनेको छैन, पछिल्लो दिनमा नेताहरूबिच तारन्तार गुटको बैठक चल्दै आएको छ । चैत २९ गते मात्रै राप्रपा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा अध्यक्ष लिङ्देनलाई तीन बुँदे मागसहितको पत्र बुझाइएको थियो ।

गुटको बैठकपछि तयार पारिएको उक्त पत्रमा राणा पक्षले निर्वाचनमा व्यहोरेको शर्मनाक पराजयको जिम्मेवारी लिन र तत्काल महाधिवेशनको प्रक्रिया सुरु गर्न अध्यक्ष लिङ्देनलाई अल्टिमेटम दिएको थियो । पत्रमा २०७८ को एकता महाधिवेशनपछि पार्टीले ठुलो आशा जगाए पनि फागुन २१ मा सम्पन्न संसदीय निर्वाचनमा राप्रपा नराम्रोसँग खुम्चिएको उल्लेख छ ।

राणा पक्षले उपसभामुखको निर्वाचनमा पार्टीको सहभागितालाई लिएर पनि नेतृत्वको आलोचना गरेको छ । केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिमा छलफल नै नगरी उपसभामुख पदमा उम्मेदवारी दिनुले राप्रपाको निष्ठा र सैद्धान्तिक आधारमा प्रश्न उठेको उनीहरूको ठहर छ । यसलाई राणाले मध्यावधि निर्वाचनको आलो घाउमा नुनचुक दलेसरह भएको टिप्पणी गरेका छन् ।

पार्टीको कार्यकाल सकिएर अतिरिक्त अवधिमा रहेको स्मरण गराउँदै असन्तुष्ट पक्षले २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यतालाई जोड दिएको छ । पार्टीलाई पुनर्जीवन दिन राणा पक्षले ३ बुँदे माग अघि सारेको हो ।

मागका तीन बुँदा

१.सन्तुलित र विश्वसनीय वातावरणमा महाधिवेशन सम्पन्न गर्न कुनै निष्पक्ष व्यक्तिको संयोजकत्वमा ‘केन्द्रीय महाधिवेशन आयोजक समिति’ गठन गर्नुपर्ने ।

२. आगामी एक हप्ताभित्रै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने ।

३. एकता महाधिवेशनपछि पार्टीको आदर्श, विधान र अनुशासन विपरीत भएका काम कारबाहीहरूको न्यायसङ्गत छानबिन गरी आगामी महाधिवेशनमा प्रतिवेदन पेस गर्न एक उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने ।

राणा समूहले दिएको तीन बुँदे मागसहितको अल्टिमेटमको समयसीमा आइतबार सकिँदैछ ।

  • युवा नेतृत्वमा जोड

पार्टीका केन्द्रीय सदस्य रन्जन कार्की राप्रपामा हाल देखिएको विवाद कुनै अमुक व्यक्ति वा गुटको मात्र नभई पार्टीको नीतिगत र सैद्धान्तिक स्पष्टताको अभावले निम्तिएको बताउँछन् । उनले बिहीबार रातोपाटीसँग भने, ‘अहिलेको विवाद चरममा पुगेको छ । पार्टी नेतृत्वले जुन लोकतान्त्रिक अभ्यास र धरातलमा रहेर राजनीति गर्नुपर्ने थियो, त्यसमा चुकेको छ ।’

उनले राप्रपाको निर्णय प्रक्रिया लोकतान्त्रिक हुनुपर्नेमा केही सीमित व्यक्तिको घेराबाट सञ्चालित हुँदा अहिलेको अवस्था आइलागेको आरोप लगाए ।

केन्द्रीय सदस्य कार्कीले वर्तमान सङ्कट टार्न र पार्टीलाई एक ढिक्का बनाउन निम्न तीन विकल्प अघि सारेका छन् ।

ranjan karki

पहिलो विकल्पका रूपमा उनले पार्टीमा देखिएको वैधानिकता र नेतृत्वको प्रश्न सुल्झाउन विशेष वा नियमित महाधिवेशनको विकल्प नभएको उल्लेख गरेका छन् । यस्तै पार्टीभित्रका युवा नेताहरूलाई नीति निर्माण र नेतृत्व तहमा स्थान दिनुपर्ने उनले दोस्रो विकल्पका रूपमा उल्लेख गरेका छन् । 

यस्तै तेस्रो विकल्पका रुपमा राप्रपाले चुनावमा व्यहोरेको पराजयपछि नेतृत्वले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने र नयाँ जनादेशका साथ अघि बढ्नुपर्ने उनको धारणा छ ।

यस्तै पार्टीका निर्णयहरू विधि र विधानसम्मत हुनुपर्ने र कार्यकर्ताको भावनालाई कदर गर्दै अघि बढ्नुपर्ने समेत उनको धारणा छ ।

राप्रपाका लागि अहिलेको समय पेचिलो भए पनि नेतृत्वले कार्यकर्ताको भावना र बदलिँदो राष्ट्रिय राजनीतिलाई बुझ्न सकेमात्र पार्टीले पुनः काँचुली फेर्न सक्ने उनको भनाइ छ । उनले भने, ‘पार्टीमा विकल्प खोज्ने काम अब कार्यकर्ता तहबाटै सुरु हुनुपर्छ, नत्र राप्रपाले आफ्नो साख जोगाउन कठिन हुन्छ ।’

  • नेतृत्वको बचाउमा श्रेष्ठ

राप्रपा प्रवक्ता मोहन श्रेष्ठ भने वर्तमान नेतृत्वले नै पार्टीलाई अघि बढाउन सक्ने जिकिर गर्छन् । राप्रपाभित्र हाल देखिएको विवाद पार्टीको आन्तरिक लोकतन्त्रको प्रक्रियाका रूपमा मात्र लिनुपर्ने र यसलाई अनावश्यक रूपमा उछाल्न नहुने उनको भनाइ थियो । श्रेष्ठले रातोपाटीसँग भने, ‘राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टीले एउटा लय समातेको छ । उनीहरू (राणा पक्ष)ले माग गरेको जस्तो नेतृत्व परिवर्तनको अवस्था अहिले छैन । वर्तमान नेतृत्वले पुस्तान्तरणको अध्याय सुरु गरिसकेको छ, त्यसलाई विफल पार्ने प्रयासमात्रै हो ।’

श्रेष्ठले राणा पक्षका केही नेताले पार्टीको आन्तरिक मामिलालाई मिडियाबाजी र अनावश्यक चलबल गराएको आरोप लगाए । उनले पार्टीभित्रको समस्यालाई संस्थागत रूपमा सुल्झाउनुको साटो बाहिर हल्ला फिँजाउनु गैरजिम्मेवारपूर्ण भएको समेत बताए ।

श्रेष्ठले थपे, ‘एउटा स्थापित नेतृत्वलाई वैधानिक प्रक्रियाबाट विस्थापित गरेर नयाँ नेतृत्व स्थापित गर्ने प्रक्रिया जारी छ । यसको विरोध गर्नु भनेको लोकतान्त्रिक अभ्यास विपरीतको कार्य हो ।’

असन्तुष्ट पक्षले महाधिवेशनको माग गरिरहेको सन्दर्भमा भने उनले समय आए पनि महाधिवेशन हुने बताए । ‘महाधिवेशन गर्ने कुरा हामीलाई थाहा नभएको होइन । पार्टीको प्रक्रिया अनुसार समय आएपछि महाधिवेशन हुन्छ नै’, उनले भने, ‘तर, केही सीमित स्वार्थपूर्तिका लागि जहिले पायो त्यही बेला महाधिवेशनको राग अलाप्नु पार्टीको हितमा छैन ।’

असन्तुष्ट पक्षले जेठभित्र पार्टीको नियमित महाधिवेशनको माग गर्दै आएको छ, तर संस्थापनले चुनावअघि कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एकता गरेकाले महाधिवेशन सार्न सकिने जिकिर गर्दै आएको छ ।

एकता महाधिवेशनपछि राजेन्द्र लिङ्देन नेतृत्वमा राप्रपाले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा १४ सिट जितेको थियो । त्यतिबेला एकताबद्ध भएको पार्टी त्यसपछि भने क्रमशः विवादमा फसेको थियो । सुरुमा शीर्ष तहमा मात्रै विवाद सीमित रहेको राप्रपामा अहिले तल्लो तहसम्मै विवाद झाङ्गिएको नेताहरू बताउँछन् ।

संस्थापन पक्षका कार्यकर्ता राणा पक्षलाई र राणा पक्ष संस्थापन पक्षलाई तल्लोस्तरका आरोप लगाउन तल्लीन देखिन्छन् । आरोप–प्रत्यारोपकै क्रममा राप्रपा प्रवक्ता श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत राणाले पार्टी फुटाएर दुर्गा प्रसाईंसँग सहकार्य गर्न खोजेको सुनिएको भन्दै यसबारे उनले जबाफ दिनुपर्ने धारणा राखेका थिए ।

यस्तै राणा पक्षका कार्यकर्ताले पनि लिङ्देनमाथि कैयौँ आरोप रहेको भन्दै जबाफ दिनुपर्ने धारणा राखेका थिए । राप्रपाका एक नेताले अहिले राप्रपाको विवाद शिरदेखि पाउसम्म फैलिएको भन्दै पार्टी नसम्हालिए विभाजनतिर जान सक्ने टिप्पणी गरे ।

  • नेतृत्वको स्वार्थले पार्टीमा सङ्कटः दिलनाथ गिरी

राप्रपाका पुराना नेता दिलनाथ गिरी पार्टीभित्रको असन्तुष्टि र बढ्दो विवादको प्रमुख कारण नेतृत्वको व्यक्तिगत स्वार्थ भएको जिकिर गर्छन् । पार्टीभित्र कुनै पनि वैचारिक बहसभन्दा पनि ‘लुटेर खाने’ र ‘स्वार्थ पूरा गर्ने प्रवृत्ति हाबी हुँदा राप्रपा कमजोर बन्दै गएको उनको भनाइ छ । पछिल्लो आम निर्वाचनको परिणाम र त्यसपछिको परिस्थितिमा नेतृत्वले गम्भीर समीक्षा गर्न नसक्नु नै पार्टी सङ्कटको मुख्य कारण भएको उनको ठहर छ ।

‘नेतृत्वले जसरी पार्टीलाई अघि बढाउनुपर्ने थियो, त्यो हुन सकेन । जसले गर्दा जनताको नजरमा पार्टीप्रति वितृष्णा पैदा भएको छ,’ गिरीले भने ।

उनले यही पार्टीलाई सच्याएर अघि बढ्नुपर्छ भन्ने आफ्नो चाहना भएपनि यो सबै विषय नेतृत्वमा निर्भर रहेको बताए । ‘अहिलेको समस्याको समाधान फुटाउनेु होइन, सुधार्ने हो, तर यदि नेतृत्वले कार्यकर्ताको भावनालाई बेवास्ता गर्दै गइरह्यो भने त्यसको निकास जनता र कार्यकर्ताले नै खोज्नेछन्’, उनले भने ।

यसैगरी कमल थापा पक्षका मानिने नेता राजाराम बर्तौलाले हाल पार्टीभित्र देखिएको गुटबन्दी र विवादमा आफूहरूको संलग्नता नरहेको जिकिर गरे । पार्टीभित्र सङ्कट रहेकोबारे भने जानकार रहेको उल्लेख गर्दै उनले यसबारे नेतृत्वले समयमै आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘हामी अहिलेको यो विशिष्ट विवादमा संलग्न छैनौँ, तर पार्टी जुन ढङ्गले अन्योलतामा फसेको छ, त्यसको समाधान खोजिनुपर्छ,’ उनले भने ।

नीतिगत स्पष्टता र पारदर्शी छलफलमार्फत मात्रै राप्रपालाई पुनर्जीवन दिन सकिने उनको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप