सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

निर्वाचनमा बागी लडेर पनि पार्टी उम्मेदवारभन्दा धेरै मत ल्याउने आशिष

आइतबार, ०६ वैशाख २०८३, १६ : ५२
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • कपिलवस्तु-१ मा स्वतन्त्र उम्मेदवार बनेका आशिष शर्माले आधिकारिक उम्मेदवारभन्दा बढी मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका छन्।
  • नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार बनेका शर्माले आफ्नो लोकप्रियताका कारण राम्रो मत प्राप्त गरेको बताएका छन्।
  • पराजित भए पनि शर्माले आफ्नो क्षेत्रका मतदाताको समस्या समाधान गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा केवल एक स्वतन्त्र उम्मेदवारले जिते भने एक स्वतन्त्र उम्मेदवार मात्र निकटतम प्रतिद्वन्द्वी बनेका थिए । 

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर निवर्तमान शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले जित्दा कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारी दिएका आशिष शर्मा निकटतम प्रतिद्वन्द्वी भएका हुन् । 

कपिलवस्तु–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहनलाल आचार्य ३४ हजार १४८ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार शर्मा १५ हजार ८६० मतसहित निकटतम प्रतिद्वन्द्वी बने । 

नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी बन्दै शर्माले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जबकि कांग्रेसले टिकट दिएका आधिकारिक उम्मेदवार अतहर कमाल मुसलमानले १४ हजार ५८२ मत मात्रै ल्याउन सके । पार्टीले टिकट नदिँदा पनि आधिकारिक उम्मेदवारले भन्दा बढी मत ल्याएपछि उनी मतदातामाझ लोकप्रिय रहेको देखिन्छ । 

शर्माले आफू मतदातामाझ लोकप्रिय रहेको निर्वाचनमा प्राप्त मतले देखाएको बताए । ‘म मतदातामाझ लोकप्रिय थिए / छु भन्ने निर्वाचनको परिणामले देखाएको छ,’ शर्माले रातोपाटीसँग भने, ‘आधिकारिक टिकट पाएको भए जित्ने सम्भावना प्रबल रहेको परिणामले देखाएको छ । मैले भनिरहन पर्ने अवस्था छैन ।’ 

कांग्रेसमा प्रतिनिधि सभा क्षेत्रीय समितिले उम्मेदवारका लागि नाम सिफारिस गर्ने, त्यसमा जिल्ला र प्रदेशले राय दिने र केन्द्रीय समितिले सिफारिस र रायका आधारमा टिकट दिने व्यवस्था छ । शर्माका अनुसार क्षेत्रीय समितिले शर्माको नाम १ नम्बरमा सिफारिस गरेको थियो । शर्मा र अरू २ जनाको नाम पनि क्षेत्रीय समितिले जिल्लामा सिफारिस गरेको थियो । 

ashish

केन्द्रबाट टिकट पाएका मुसलमानको नाम क्षेत्रले सिफारिस गरेको थिएन । जिल्ला र प्रदेशले मुसलमानलाई टिकट दिँदा उपयुक्त हुने राय केन्द्रमा पठाएको थियो । तर, केन्द्रले त्यही रायलाई मानेर टिकट दियो, क्षेत्रीय समितिको सिफारिसलाई रद्दीको टोकरीमा फ्याँकिदियो । 

‘भदौ २३ र २४ को जेनजी आन्दोलनले पुरानालाई होइन, युवालाई अवसर दिनुपर्छ । सुशासन स्थापित गर्नुपर्छ, भ्रष्टाचार र कुशासनको अन्त्य हुनुपर्छ भन्ने एजेन्डा अगाडि सारेको थियो,’ शर्माले भने, ‘जेनजी आन्दोलनपछि पार्टीको केन्द्रमा पनि नयाँ व्यक्तिहरू आउनु भएको थियो । म पनि नयाँ थिए । म मतदातामाझ लोकप्रिय छु भन्ने उहाँहरूलाई थाहा थियो । क्षेत्रीय समितिले पनि नयाँ र लोकप्रिय भन्ने राय दिएर सिफारिस गरेकाले टिकट पाउनेमा ढुक्क थिए । तर, नेतृत्वले योग्य ठहर्‍याएन र टिकट दिएन ।’ 

लामो समयदेखि ठुला राजनीतिक दलको प्रभाव रहेको कपिलवस्तु–१ मा संरचना र संगठनको सञ्जाललाई चिरेर स्वतन्त्र उम्मेदवार हुँदै निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी बन्न सक्नु आफ्नो राजनीतिक विजय रहेको शर्मा बताउँछन् । 

ashish sharma (1)

एमाले, कांग्रेस, तत्कालीन माओवादी केन्द्र तथा मधेस केन्द्रित दलको बाहुल्यता रहेको यो क्षेत्रमा यी सबै दलका उम्मेदवारहरूलाई उछिन्न गाह्रो थियो । शर्माले लामो समयदेखि त्यही क्षेत्रमा काम गरेको र मुख्यगरी युवा मतदाताबिच लोकप्रिय रहेकाले यो उपलब्धि प्राप्त गर्न सकेको बताए ।

 ‘मैले लामो समयदेखि यो क्षेत्रका नागरिकका लागि र समग्र क्षेत्रका लागि काम गरें, त्यसको परिणाम पार्टीले टिकट नदिएर स्वतन्त्र उम्मेदवार बन्दा पनि करिब १६ हजार मतदाताले पत्याइदिनुभयो । यो मैले क्षेत्रका लागि गरेको कामको मूल्याङ्कन हो भन्ने किसिमले बुझेको छु,’ शर्माले भने । 

आफूले निर्वाचनको अभियानका क्रममा युवासँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत सक्रियता र स्थानीय मुद्दालाई प्राथमिकतामा राखेका कारण युवा मतदाताको राम्रो समर्थन पाएको शर्माले बताए । 

निर्वाचनमा पराजित भए पनि शर्मा कपिलवस्तुमा जनताको घर दैलोमा पुगिरहेका छन् । निर्वाचनमा मत दिनेलाई धन्यवाद दिने र समस्या के छन् भनेर सोधिरहेका छन् । पराजित भए पनि आफूलाई मत दिने मतदातालाई कहिल्यै नबिर्सने र समस्या पर्दा साथमै रहने उनले बताए । ‘म धेरैजसो क्षेत्रका मतदाताका समस्या समाधानमा लागिरहन्छु,’ काठमाडौँ आइपुगेका शर्माले रातोपाटीसँगको कुराकानीमा भने, ‘हारेपछि क्षेत्रमा नजाने भन्ने हुँदैन । क्षेत्रका समस्या समाधानका लागि भरमग्दुर प्रयास गरिरहन्छु ।’

राजनीतिबाट नबाहिरिने र तत्काल दलगत राजनीतिमा नजाने शर्माको भनाइ छ । ‘तत्कालै पार्टी राजनीतिमा फर्किएर राजनीति गर्ने सोच बनिसकेको छैन,’ शर्माले भने, ‘स्वतन्त्र भएर राजनीति गर्छु । जनतामाझमै रहन्छु । समाजसेवाका लागि गरिरहेको कार्य जारी राख्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप