सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भन्सार नीति पुनर्विचार गर्न केन्द्र सरकारसँग मधेसका अर्थमन्त्रीको आग्रह

सोमबार, ०७ वैशाख २०८३, २२ : १२
सोमबार, ०७ वैशाख २०८३

जनकपुरधाम । भारतबाट हुने सामान आयातमा हाल लागू गरिएको भन्सारसम्बन्धी व्यवस्थाले सीमा क्षेत्रका नागरिकको दैनिकी असहज बन्दै गएको भन्दै मधेस प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सोमबार सार्वजनिक गरिएको वक्तव्यमार्फत मन्त्री यादवले सीमामा लागु गरिएका कडाइपूर्ण नीतिका कारण सामान्य आवतजावतदेखि दैनिक उपभोग्य वस्तुको ओसारपसारसम्म प्रभावित भएको उल्लेख गरेका छन् । उनका अनुसार यसले सीमावर्ती क्षेत्रका बासिन्दाको जीवनयापन मात्र कठिन बनाएको छैन, नेपाल–भारतबिच सदियौँदेखि कायम रहँदै आएको सामाजिक तथा सांस्कृतिक सम्बन्धमा समेत असर पार्न थालेको छ ।

'यस्ता व्यवस्थाले केवल आर्थिक गतिविधिमा मात्र होइन, दुई देशबिचको ‘बेटी–रोटी’ सम्बन्धमै समेत असहजता सिर्जना गरेको छ,' वक्तव्यमा भनिएको छ । अर्थमन्त्री यादवले हालको अवस्थाबारे यथार्थ अध्ययन गरी नागरिकमैत्री, व्यवहारिक र सन्तुलित नीति अवलम्बन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत निर्णय हुनुपर्ने उनको जोड छ ।

यसैबिच उनले मधेस प्रदेशका विभिन्न स्थानमा भइरहेको सडक तथा फुटपाथ व्यवस्थापनका क्रममा साना तथा निम्न आय भएका व्यवसायी प्रभावित भइरहेको विषयप्रति पनि ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो समय बजार व्यवस्थापनको नाममा वैकल्पिक व्यवस्था नगरी चालिएका कदमले साना व्यवसायीको रोजीरोटीमै प्रत्यक्ष असर परेको उनले उल्लेख गरेका छन् । 'स्पष्ट विकल्पबिना गरिने यस्ता कार्यले साना उद्यमीको आर्थिक अवस्था झन् जटिल बनाउने जोखिम बढेको छ,' यादवको भनाइ छ ।

उनले सडक व्यवस्थापन आवश्यक भए पनि त्यसबाट प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि ठोस योजना अनिवार्य रूपमा ल्याउनुपर्ने माग गरेका छन् । अर्थमन्त्री यादवले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित निकायसँग दुवै विषयमा आवश्यक समन्वय, संवाद र दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप