'देखादेखी घन्टीमा भोट हाल्ने ? लाज हुँदैन ?'
सारांश
- मोरङ क्षेत्र नम्बर ५ का पराजित उम्मेदवार फूलकुमार लालबानीले कांग्रेसका नेताहरूले नै पार्टी उम्मेदवारलाई हराउन विपक्षीलाई मत दिएको भन्दै आक्रोश पोखेका छन्।
- समीक्षा बैठकमा सहभागी अन्य नेताहरूले पनि पार्टीभित्रको अन्तर्घात, पुराना नेताहरूको निष्क्रियता र नेतृत्वको कमजोरीका कारण निर्वाचनमा पराजय बेहोर्नुपरेको गुनासो गरेका छन्।
- महामन्त्री गगन थापाले पार्टी सुधारको आवश्यकता औंल्याउँदै पटक-पटक अवसर पाएर पनि नयाँ उम्मेदवारलाई असहयोग गर्ने नेताहरूमाथि प्रश्न उठाएका छन्।
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट पराजित नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले विराटनगरमा कांग्रेसले आयोजना गरेको प्रदेशस्तरीय समीक्षा बैठकमा आक्रोश पोखे । उनले भने, ‘म त भन्छु, यदि लाज छ भने कांग्रेसलाई भोट नहाल्नेहरू यो हलमा नबस्नुस् । लाज हुँदैन ? पार्टीका प्रदेशका मन्त्री भइसकेका मन्त्रीहरू, प्रदेशका पदाधिकारीहरू, देखादेखी रूखमा होइन, घन्टीमा भोट हाल्ने, छातामा भोट हाल्ने ?अनि लाज भन्ने कहाँ हरायो ? ।’
नेता लालबानीले यो शब्दहरू व्यक्त गरेपछि हलमा गडगडाहट ताली बज्यो ।
केन्द्रीय सभापति गगन थापालगायत पदाधिकारीको टिमलाई साक्षी राखेर भएको निर्वाचन समीक्षा कार्यक्रममा लालवानीले पार्टीको निर्मम अपरेसन हुनुपर्नेमा जोड दिए । ‘निर्मम अप्रेसन गर्नुपर्छ सभापतिज्यू, चाहे त्यसमा मन्त्री परोस्, सांसद परोस् वा प्रदेशका पदाधिकारी । तपाईंले आँट गर्नुपर्छ । चुनाव सकिएको भोलिपल्ट तिक्तता मेटौँ रे ? तिक्तता सुरु नै भएको छैन, के मेट्ने ?,’ उनले भने ।
कांग्रेसले सुरु गरेको जरा अभियानअन्तर्गत समीक्षा बैठकमा बोल्ने पराजित उम्मेदवारहरूले लालबानीले जस्तै आक्रोश व्यक्त गरे । तर, विजयी इलाम १ का निष्कल राईहरूले खुसी साटे । राईले विशेष महाधिवेशनबाट विजयी सभापति गगन थापाले आफूहरूजस्ता नयाँ पुस्तालाई समेटेको कारण इलाम १ मा विजय हासिल गर्न सकेको बताए ।
_8LPaekMM24.jpg)
‘हामीले पार्टीभित्र एउटा यस्तो वातावरण बनायौँ, जहाँ सबैले आफूलाई सुरक्षित महसुस गरे । मैले इलाम १ मा निर्वाचन जित्नुको एउटै मुख्य कारण हो– पार्टीमा नयाँ फूलहरूलाई फुल्न दिइनु,’ उनले भने, ‘जब पार्टी एउटा सुन्दर बगैँचाजस्तै बन्छ र सबैले त्यहाँ फुल्ने अवसर पाउँछन्, तब जनताले पनि रूखलाई विश्वास गर्दा रहेछन् ।’
निर्वाचन समीक्षा बैठकमा सहभागी नेताहरूको स्वरमा कतै आत्मसन्तुष्टि, कतै पुराना नेताप्रतिको आक्रोश र घृणा र कतै आफ्नै पार्टीका नेताहरूले गरेको असहयोगको पोकाहरू खोलियो । समीक्षा बैठकमा सबैभन्दा बढी उठेको विषय थियो, पार्टीका क्रियाशील सदस्यहरूले नै पार्टीको आधिकारिक उम्मेदवारलाई भोट नहाल्नु । मोरङ ५ का लालबानीले थपे, ‘जुन जिल्लामा हामीले हजारौँ क्रियाशील सदस्य बनायौँ, त्यहाँ रुख चिन्हको भोट सदस्य संख्याभन्दा पनि कम आयो । यो अन्तरघात मात्र होइन, पार्टीको अस्तित्व समाप्त पार्ने षड्यन्त्र हो ।’
यस्तै पीडा ओखलढुंगाका कुमार लुईंटेलको थियो, जो मात्र ५ मतको अन्तरले पराजित भएका थिए । ‘मैले बाहिरका उम्मेदवारसँग हारिनँ, मेरै आफ्नै साथीहरूका घरभित्र लुकेका अदृश्य तानाबुनासँग पराजित बने । ५ मत भनेको केही पनि होइन, तर पार्टीका निवर्तमान दुई केन्द्रीय सदस्यको निष्क्रियताकै कारण मैले पराजय बेहोरें,’ उनले भने । उनले पार्टीका निवर्तमान केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र प्रदिपकुमार सुनुवारलाई इंगित गर्दै असहयोग भएको दाबी गरे ।
झापा–२ की सरिता प्रसाई र सुनसरी २ का राजीव कोइरालाले पनि आफ्नै संगठनका पदाधिकारीहरूले विपक्षीसँग साँठगाँठ गरेको र रूख चिह्नलाई हराउन अहोरात्र खटिएको प्रमाणसहित नेतृत्वको ध्यानाकर्षण गराए । बैठकमा सबैभन्दा बढी निशानामा पटक–पटक चुनाव जितेर सत्ता र शक्तिमा पुगेका नेताहरू पनि परे । उनीहरूले यसपटक आफ्नै क्षेत्रका नयाँ उम्मेदवारलाई जिताउनुको साटो घरमै सुतेर बसेको आरोप लगाए । ‘केन्द्रीय सदस्य र निवर्तमान माननीयहरूले आफूले टिकट नपाएपछि पार्टीलाई हराउन कुनै कसर बाँकी राखेनन्,’ उनीहरूको भनाइ थियो ।
_YiCYxIYZ4D.jpg)
इलाम–२ का भेषराज आचार्यले त जिल्लाका सभापतिले नै आफूलाई हराउन लागेको बताए । ‘पार्टीले मलाई टिकट दियो, तर जिल्लाका नेताहरू चुनावी प्रचारमा हिँड्नुभएन । उल्टो, कांग्रेसका मतदातालाई सूर्यमा भोट हाल्न उक्साइयो । यसले त जित्दैन । मैले ४ हजार मत सूर्यमा हलाएँ भनेर सभापतिले नै भनेको भनेर साथीहरूले सुनाए,’ उनले भने ।
भोजपुरका विनोद वान्तवा राई र धनकुटाका दिनेश राईले कांग्रेसको छवि जनताको नजरमा भ्रष्ट र यथास्थितिवादी बन्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘जनताले कांग्रेस भन्नु नै भ्रष्टाचार, कुशासन र बुढा नेताहरूको क्लब हो भन्ने बुझ्न थालेका छन्,’ उनीहरूको भनाइ थियो, ‘नक्कली भुटानी शरणार्थी प्रकरणदेखि विभिन्न काण्डहरूमा कांग्रेसका नेताहरूको नाम जोडिँदा गाउँमा भोट माग्न जाने कार्यकर्ताको शिर निहुरिएको छ ।’
कांग्रेस नेता मिनेन्द्र रिजालले भने तथ्याङ्कको विश्लेषण गरे । अघिल्लो चुनावमा बुढा नेताहरूले जितेको ठाउँमा यसपटक जनताले नयाँ अनुहार खोजेको उनको तर्क थियो । झापा १ का केशवराज पाण्डेले पनि पुराना नेताहरूले अब नयाँ पुस्तालाई ठाउँ छोड्नुपर्ने र वैचारिक स्पष्टता ल्याउनुपर्नेमा जोड दिए ।
कांग्रेसले आफ्नो इतिहास र त्यागको कुरा गरिरहँदा नयाँ पुस्ताले भविष्य खोजेको र सोसल मिडिया (टिकटक, फेसबुक) मार्फत आक्रामक रूपमा आएका नयाँ शक्तिहरूले कांग्रेसको भोट बैंक भत्काइदिएको उनीहरूको विश्लेषण थियो ।
झापा–३ का राजेन्द्र घिमिरेले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई असहयोग गरेको संकेत गरे । भोजपुरका सभापति विनोद वान्तवा राईले कोशी प्रदेशको नामाकरणपछि उब्जिएको पहिचानको आन्दोलनमा कांग्रेसले स्पष्ट अडान लिन नसक्दा ठूलो क्षति बेहोर्नुपरेको बताए ।
मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बूले भने पार्टीलाई मिलाएर जानुपर्नेमा जोड दिए । उनले बीपी कोइराला र कृष्णप्रसाद भट्टराईहरूले दिएको सदस्यता खारेज गरेर फेरि नयाँ सदस्यता दिने कुरा गर्दा उनीहरूको आत्मसम्मानमा चोट पुगेको बताए ।
झण्डै तीन दर्जन नेताहरूले राखेको समीक्षा रिपोटिङ पति सभापति गगन थापाले आफ्नो मन्तव्य दिएका थिए । उनले सहभागीहरूले उठाएका गम्भीर विषयहरूलाई सम्बोधन गर्दै कांग्रेस सुधारिने बाटोमा रहेको बताए । थापाले पटक–पटक चुनाव जितेर जाने तर नयाँ उम्मेदवारलाई नसघाउने नेताहरूमाथि कडा प्रहार गरे ।
‘जुन नेताले एउटै क्षेत्रबाट ५–६ पटक चुनाव जिते, मन्त्री भए, शक्तिमा पुगे, तर आज त्यही क्षेत्रमा पार्टीको नयाँ साथी उम्मेदवार हुँदा उसलाई जिताउन जाँदैनन् भने त्यस्ता नेतामाथि प्रश्न उठ्छ कि उठ्दैन ?,’ उनले प्रश्न गरे । कार्यक्रममा कांग्रेसका उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदिप पौडेल, गुरुराज घिमिरेलगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण