प्रेमीको क्रुरता : आफ्नो ‘सम्पत्ति’ प्रमाणित गर्न प्रेमिकाको शरीरभरि २५० पटक आफ्नै नामको ट्याटु
सारांश
- नेदरल्याण्ड्समा एक व्यक्तिले आफ्नी प्रेमिकालाई आफ्नो सम्पत्ति प्रमाणित गर्न उनको शरीरभरि २५० पटक आफ्नै नामको ट्याटु खोपेर यातना दिएका छन्।
- पीडित महिलाको अनुहार र शरीरमा खोपिएका ती ट्याटुहरू अहिले लेजर प्रविधिको सहयोगमा हटाउन सुरु गरिएको छ।
- कानुनी जटिलताका कारण पीडकले हालसम्म कुनै सजाय पाएका छैनन् र पीडित महिला न्यायको पर्खाइमा छिन्।
एम्सटरडाम । प्रेममा परेर पार्टनरको नाम वा संक्षिप्त अक्षरको ट्याटु खोप्ने चलन सामान्य भए पनि नेदरल्याण्ड्समा एक महिलाले भोगेको हिंसाको कथाले संसारलाई स्तब्ध बनाएको छ। एक नियन्त्रणमुखी र हिंस्रक पुरुषले आफ्नी प्रेमिकालाई आफ्नो ‘सम्पत्ति’ प्रमाणित गर्नका लागि उनको शरीरभरि करिब २५० पटक आफ्नै नाम र संक्षिप्त अक्षरको ट्याटु खोपेर यातना दिएको खुलासा भएको छ।
डच फाउन्डेसन ‘स्टिचटिङ स्पिज्ट भ्यान ट्याटु’ (ट्याटु रिग्रेट) ले ‘जोक’ नामकी ती महिलाको यो दर्दनाक वास्तविकता सार्वजनिक गरेको हो। वर्षौँसम्म हिंसा सहेकी ती महिलाले पीडा भुल्नका लागि मदिरा र औषधिहरूको सहारा लिने गरेकी थिइन्।
उनका पूर्वप्रेमीले अनलाइनबाट सस्तो ट्याटु मेसिन किनेर उनको शरीरका विभिन्न अंगमा ‘यसको सम्पत्ति’ र आफ्नो नाम खोपेका थिए। फाउन्डेसनका संस्थापक एन्डी हानका अनुसार ती पुरुषले अन्य पुरुषले छोएको आशंका गरेका स्तन र नितम्ब जस्ता अंगहरूमा नियन्त्रण र स्वामित्व देखाउनका लागि ट्याटु खोपेका थिए। अझ विभत्स कुरा त के छ भने, ती महिलाको अनुहार र घाँटी समेत ट्याटुले भरिएको थियो।
डच पत्रिका ‘एनएल टाइम्स’ ले सार्वजनिक गरेका तस्बिरहरूमा ती महिलाको अनुहार ट्याटुले कुरुप पारिएको देखिन्छ। तर, फाउन्डेसनको सहयोगमा लेजर प्रविधिमार्फत अहिले उनको अनुहार र शरीरबाट ती ट्याटुहरू हटाउन सुरु गरिएको छ।
जोकले आफ्नो कथा सार्वजनिक गर्दै अन्य हिंसा पीडित महिलाहरूलाई पनि अगाडि बढ्न र मद्दत माग्न प्रेरित गरेकी छिन्। ‘जतिसुकै गहिरो चोट लागे पनि मानिस पुनः उठ्न सक्छ, यदि म सक्छु भने अरू कसैले पनि यो गर्न सक्छ,’ उनले फाउन्डेसनको वेबसाइटमा लेखेकी छिन्।
न्यायका लागि लामो लडाइँ लडे पनि कानुनी जटिलताका कारण पीडकले हालसम्म कुनै सजाय पाएका छैनन्। जोकले प्रहरीमा उजुरी गरे पनि पूर्व प्रेमीले ‘सहमतिमै ट्याटु खोपेको’ दाबी गरेपछि प्रमाणको अभावमा मुद्दा अगाडि बढ्न सकेन।
आँखाको छेउमा, नाकमा वा कानमा कसैले पनि स्वेच्छाले ट्याटु खोप्दैन भन्ने कुरा सामान्य मानिसले बुझ्ने भए पनि कानुनी छिद्रका कारण आफूले अन्याय महसुस गरेको उनले बताएकी छिन्। जोकले यसै वर्षको अन्त्यसम्ममा शरीरका सबै ट्याटु मेटिसक्ने लक्ष्य राखेकी छिन्, तर उनले भोगेको मानसिक आघात निको हुन भने अझै धेरै वर्ष लाग्ने देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण