बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अधिकार, जनजीविका र सुकुमबासी मुद्दामा जिम्मेवार बन्न सरकारलाई महरको आग्रह

शुक्रबार, ११ वैशाख २०८३, ११ : ३९
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले अधिकार संरक्षण, जनजीविका र सुकुमबासी समस्याप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
  • उनले लोकतन्त्रको मर्म विकेन्द्रीकरण र उत्तरदायित्व भएको बताउँदै जनअपेक्षा पूरा गर्न सरकार चुकेको टिप्पणी गरेका छन्।
  • महरले बढ्दो महँगी र बेरोजगारीका कारण लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुन सक्ने भन्दै गम्भीर बन्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले अधिकार संरक्षण, जनजीविका सुधार र सुकुमबासी समस्याप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। लोकतन्त्र दिवस २०६३ वैशाख ११ को सम्झनामा स्कुल अफ डेमोक्रेसीद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा महरले २०६३ को ऐतिहासिक जनआन्दोलनलाई स्मरण गर्दै भने, ‘जनताको नैतिक बलले निरंकुशतालाई झुकाएको दिन हो आज। लोकतन्त्र केवल उपलब्धि होइन, निरन्तर जिम्मेवारी हो।’

उनका अनुसार लोकतान्त्रिक व्यवस्थाले संस्थागत उपलब्धि हासिल गरे पनि जनअपेक्षा अझै पूर्ण रूपमा सम्बोधन हुन सकेको छैन। जनविश्वास कमजोर हुँदा राजनीतिक सन्तुलनमा परिवर्तन आउने संकेतलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए।

महरले राज्य संरचनामा देखिँदै गएको केन्द्रीकरण र अधिकार सङ्कुचनप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रको मूल मर्म विकेन्द्रीकरण, सहभागिता र उत्तरदायित्व भएको स्पष्ट पारे। सुकुमबासी तथा भूमिहीन समुदायको विषय उठाउँदै उनले भने, ‘दिगो व्यवस्थापन बिना हुने विस्थापन लोकतान्त्रिक राज्यको संवेदनशीलता र न्यायमाथिको प्रश्न हो।’

उनले बढ्दो महँगी, बेरोजगारी र कमजोर सेवा प्रवाहका कारण जनजीविका थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै सरकारको ध्यान पर्याप्त नभएको टिप्पणी गरे।

महरले सरकारलाई अधिकार संरक्षण, जनजीविका सुधार र सुकुमबासी लगायत संवेदनशील वर्गप्रति न्यायपूर्ण र दिगो नीति अवलम्बन गर्न आग्रह गर्दै भने, ‘यी विषयमा ढिलाइ भयो भने लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुन सक्छ।’

उनका अनुसार लोकतन्त्र दिवस केवल उत्सव होइन, आत्मसमीक्षा र सुधारको अवसर पनि हो। ‘लोकतन्त्रको सार उत्तरदायित्व, समावेशिता र न्याय हो, उनले जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप