सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मौसम पूर्वानुमान

लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको सम्भावना : तापक्रम ४० डिग्री नाघेसँगै सतर्क रहन चेतावनी

शनिबार, १२ वैशाख २०८३, ०५ : ४९
शनिबार, १२ वैशाख २०८३

सारांश

  • लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना देखिएको छ।
  • केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
  • गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन र प्रशस्त मात्रामा झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ।

काठमाडौँ । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसकै कारण गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै केही स्थानमा वर्षा र हिमपात भइरहेको छ। 

तर, देशको दक्षिणी भेग भने प्रचण्ड गर्मीको चपेटामा परेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम खालको तातो लहर अर्थात् ‘हिट वेभ’ चल्ने देखिएकाले मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाको विश्लेषण अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने अनुमान छ। यसबाट कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, सुर्खेत, दाङ, कपिलवस्तु र रुपन्देही लगायतका जिल्लाहरू बढी प्रभावित हुने देखिन्छ। यी क्षेत्रका बासिन्दाले तातो हावाका कारण थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने र चक्कर आउने जस्ता स्वास्थ्य समस्या भोग्नुपर्ने हुनसक्छ। कतिपय अवस्थामा बेहोस हुने र मांसपेशी दुख्ने समस्या समेत देखिने भएकाले स्वास्थ्यप्रति विशेष ध्यान दिन जरुरी छ।

गर्मीको यो जोखिमबाट बच्न दिउँसोको चर्को घाममा बाहिर ननिस्कन र घरभित्रै चिसो स्थानमा बस्न सुझाव दिइएको छ। बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउने र हल्का सुतीका कपडा प्रयोग गर्नु बुद्धिमानी हुनेछ। शरीरमा पानीको मात्रा कम हुन नदिन पटक-पटक पानी, जुस वा सर्वत जस्ता झोल पदार्थ पिउनु आवश्यक छ। यदि स्वास्थ्यमा कुनै पनि असामान्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सल्लाह लिन समेत महाशाखाले अनुरोध गरेको छ।

आउँदो साताको सुरुदेखि मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ। यसले गर्दा ती क्षेत्रको तापक्रममा सामान्य गिरावट आउने र वायु प्रदूषण तथा तुवाँलोको अवस्थामा पनि सुधार हुने अपेक्षा गरिएको छ। 

शनिबार कोशी, बागमती र गण्डकीका पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाले पहाडी भेगमा भने गर्मीबाट केही राहत मिल्ने देखिन्छ। तर, लुम्बिनी र सुदूरपश्चिमका तराई, उपत्यका र खोँचहरूमा भने अझै केही दिन तातो दिन कायमै रहने भएकाले सावधानी अपनाउनु पर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप