सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
विजय मल्ल भाग– ५

विजय मल्लको व्यक्तित्व

शनिबार, १२ वैशाख २०८३, १५ : ००
शनिबार, १२ वैशाख २०८३

सारांश

  • विजय मल्ल एक मिलनसार, शालीन र सरल व्यक्तित्वका धनी साहित्यकार थिए।
  • उनी आफ्नो जीवनका पीडा र व्यथालाई लुकाएर सधैँ हाँसेर बाँच्न सक्ने खुबी राख्थे।
  • मानवीय सेवा र साहित्यमा समर्पित मल्ल एक मौलिक र आशावादी स्रष्टाका रूपमा परिचित थिए।

विजय मल्ल गहुँगोरो थिए । उनका आँखा बाटुला र ससाना थिए । उनको ठूलो निधार थियो । पाँच फुट पाँच इन्चको उनको शारीरिक उचाइ थियो । उनको शरीर मोटो थियो तर पनि उनी छरितो पाराले हिँड्थे । आफूसँगै हिँड्ने कोही साथी भेटे भने उनी ख्यालठट्टा पनि गरिदिन्थे । साथै कथाकुथुङ्ग्री भन्न पनि उनी बिराउँदैन थिए । उनी अर्काको कुरा सुन्न पनि धैर्य राख्थे र त्यति बेला मुसुक्कै हाँसिदिन्थे । पुराना साथीसङ्गीसित बोल्दा उनी नाटकीय शैलीमा टुक्का हालेर बोल्न पनि पछि पर्दैन थिए । 

विजय मल्ल कहिले दौरासुरुवाल लगाउँथे र कहिले सर्टप्यान्ट पनि लगाउँथे । उनले कुर्तासुरुवाल पनि लगाएकै हुन्थे । घर बस्ता पनि उनी ठाँटिलै तरिकामा हुन्थे । कतिसम्म भने उनी घर बसेका बेला पनि कोट फुकाल्दैन थिए । सभासम्मेलन र भोजभतेरमा टाईसुट लगाएर हिँडेपछि उनको व्यक्तित्व झनै राजसी देखिन्थ्यो । त्यस्तो पोसाकमा ठाँटिएर हिँडेपछि उनका केटी साथीहरू उनलाई एकोहोरो हेरेकोेहेरेकै हुन्थे । 

विजय मल्ल जोसँग बोल्दा पनि मीठो शैलीमा बोल्थे । बोल्ने कुरा उनी नरम भएर खुलस्त पारामा बोलिदिन्थे । उनका लागि ठूलासाना सबै बराबरी हुन्थे । खास गरेर पुरुषसित भन्दा स्त्रीसित कुरा गर्न उनी जाँगरिला देखिन्थे । त्यसैले उनी प्रायः केटीहरूको नजिक हुन्थे । उनका वचन, दृष्टि र मुस्कानसित परिचित परीहरू उनीबाट उछिट्टिन गाह्रो मान्थे । उनी प्रायः केटीहरूबाट घेरिएकै हुन्थे । साथै पुरुषहरूसित पनि उनको बसउठ बराबरी नै थियो । त्यस बेला बलरामदास मूल, बलभद्र थापा, कलानाथ अधिकारी, रामराज पौड्याल र मणिराज उपाध्याय यिनका मिल्ने साथी थिए ।    

विजय मल्लको शारीरिक बनोट एक प्रकारले चुम्बकीय देखिन्थ्यो । अथवा भनौँ उनी एउटा चमत्कारी शारीरिक तन्दुरुस्त भएका व्यक्ति थिए । शिष्ट बोल्ने, सरल बोल्ने र शालीन पारामा बोल्ने उनको खुबी थियो । खास गरेर साहित्यकारसँग कुरा गर्न थालेपछि उनी दुईचार घण्टा बितेको चालै पाउँदैन थिए । पन्ध्र मिनेटमा उनी एउटा चुरोट सल्काउँथे र त्यसपछि दुईतीन घण्टासम्म औँलाका कापमा धूवाँबिनाको चुरोट औँलामा नै चेपिरहन्थे ।

विजय मल्ललाई कसैले गाली गर्दा पनि उनी हाँसिदिन्थे । उनले मुख लागेर आफ्नो विपक्षलाई प्रतिकार गरेको कसैले सुनेका थिएनन् ।

विजय मल्ल सानैदेखि टोलछिमेकमा पनि हाउभाउ राख्थे । उनी मिलनसार थिए । टोलका बूढापाकाहरूलाई समेत आफ्ना चित्र देखाउन र कविता वाचन गर्न उनी चुक्तैन थिए । बुढेसकालमा पनि उनी बच्चाझैँ निश्चल, स्वच्छ र खुलस्त थिए । एक पटक उनले नइ प्रसाईलाई भनेका थिए- ‘बाल्यकालदेखि नै म कविता लेख्थेँ, चित्र बनाउँथेँ, चङ्गा उडाउँथेँ । व्याडमिन्टन, बुद्धिचाल र क्यारेमबोर्ड खेलेर म साथीहरूलाई जितिदिन्थेँ । खासमा म फुटबल नै खेल्ने गर्थें । सानामा म राम्रो फुटबल खेलाडी थिएँ ।’ खेलकुदकै सन्दर्भमा म कविता बोकेर खेल्ने ठाउँ पुग्थेँ । खेल्नुअघि साथीहरूलाई म कविता सुनाउने गर्थें ।’ त्यस बेला मल्ल न्युरोड फुटबल टिमको क्याप्टेन थिए । उनका फुटबल खेल्ने भरपर्दो, सिपालु र प्रिय साथी मणिराज उपाध्याय थिए ।

विजय मल्ललाई कसैले गाली गर्दा पनि उनी हाँसिदिन्थे । उनले मुख लागेर आफ्नो विपक्षलाई प्रतिकार गरेको कसैले सुनेका थिएनन् । उनी चिन्तनका नमुना थिए । ईश्वरवल्लभका शब्दमा भन्दा ‘विजय मल्ल अकबरी सुन थिए । उनी कसैलाई नबिझाउने सशक्त मानवीय गुण भएका एक जना स्रष्टा थिए ।’ वास्तवमा उनी अरूको आँखामा नबिझाउने सरल, शालीन र सौम्य पुरुष थिए ।

विजय मल्ल लेखनमा मात्र प्रखर थिएनन्, व्यवहारमा पनि परिपक्व थिए । उनको छातीभित्र जति पीर, व्यथा र डाहा भए तापनि उनी हाँसीहाँसी हिँड्न सक्थे । जिन्दगीभरि उनले आफ्नो वेदना घरबाहिर लगेर कसैसामु पनि पोखेनन् । उनी मौनतामा नै विजयी बन्थे । वास्तवमा उनले सांसारिक चरित्र चिनिसकेका नै थिए । उनको त्यस्तै व्यक्तित्वका बारे उनका आत्मीय साथी रमेश विकलले लेखे- ‘सामान्य मान्छे व्यथा पिएर हाँस्न सक्तैन, तर ऊ सक्थ्यो । त्यसैले उसलाई सामान्य मान्छेको कोटीमा हेर्न सकिँदैनथ्यो । ऊ व्यथा पिएर पनि हाँस्न सक्ने अति थोरै मान्छेहरूका पङ्क्तिमा राख्नुपर्ने मान्छे थियो । ऊ अर्थात् देशकै एक जना प्रख्यात कवि, कथाकार, नाटककार विजय मल्ल, अर्थात् विजयबहादुर मल्ल ।’

विजय मल्लले जीवनमा धेरै चुरोट खाए । नेपाली साहित्यमा अत्यधिक चुरोट खाने स्रष्टामध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटा पछाडि उनकै नाउँ आउँथ्यो ।

मल्लले धेरैलाई रिझाएका थिए । उनी साहित्यिक गोष्ठी भनेपछि गाँस छाडेर नै दौड्न्थे । उनका लागि साहित्यिक समारोहका साथै आयोजक साथीभाइ प्रिय हुन्थे । उनी भन्थे- ‘साथीहरूले नै मलाई लेख्न प्रेरित गरिरहन्छन् । जब म कविता, कथा र नाटक आदि सुनाउन पुग्थेँ त्यहाँ सबैले मेरो तारिफ गरिदिन्थे । अनि म अर्को गोष्ठीका लागि मेरो रचना सुरक्षित गर्नतिर लाग्थेँ । मेरा खेस्राहरू कति छापिए, कति हराए । मैले कोरेका चित्रहरू पनि मसित सुरक्षित भएनन् । मैले सबै कुरा जानेजस्तो लाग्थ्यो तर मेरा रचना सुरक्षित राख्न भने म योग्य हुन सकिनँ ।’ 

विजय मल्लले जीवनमा धेरै चुरोट खाए । नेपाली साहित्यमा अत्यधिक चुरोट खाने स्रष्टामध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटा पछाडि उनकै नाउँ आउँथ्यो । खानपिनमा मीठोनमीठोको उनका लागि अर्थ थिएन । उनीमा कफी खानेचाहिँ बानी परेको थियो । सधैँ हिँडिरहने उनको बानी थियो । बाहिरबाट घर फर्कंदा उनी खाली हात आउँदैन थिए ।

विजय मल्ल मौलिकतावादी स्रष्टा थिए । उनी प्रतिभाको खुबै सम्मान गर्थे । अझ उनीभित्र सबैप्रति समभाव राख्ने खुबी थियो । उनीभित्र कसैउपरको शत्रुभाव पनि थिएन । उनी वसुधैव कुटुम्बकम्का हिमायती थिए । त्यसैले उनका समकालीन, अग्रज र अनुज पुस्ताले उनको बढाइँ गर्न पनि छाडेका थिएनन् । उनको निर्मल स्वभावप्रति रत्नशमशेर थापाले भनेका थिए- ‘मल्लमा म अग्रज ख्यातिप्राप्त साहित्यकार हुँ, मलाई मान सम्मान गर्नुपर्छ भन्ने तुजुक थिएन । मल्लको सरल स्वभाव, उच्च विचार, विविध विषयको कुशल ज्ञान देखेर र भोगेर मल्लको म सदा प्रशंसक बनिरहेँ ।’

विजय मल्लको भावना विचित्रकै थियो । उनी गरिब, असहाय र अप्ठ्यारोमा परेकाहरूका लागि पनि आफ्नो गच्छे रोप्ने गर्थे ।

विजय मल्लको आनीबानी र धारणालाई उनका बुबाआमापछाडि सबैभन्दा धेरै चिन्ने व्यक्ति उनकै सहोदर दाजु गोविन्दबहादुर मल्ल ‘गोठाले’ थिए । ‘गोठाले’ले उनलाई अत्यधिक माया गर्थे । मल्ल पनि उनका दाजु भनेपछि मरिमेट्थे । उनको व्यक्तित्वबारे ‘गोठाले’ले लेखेका थिए- ‘ऊ पूरा आशावादी र आँटिलो थियो । मान्नैपर्ने व्यक्तिलाई मान्ने गथ्र्यो । तर ऊ कसैसँग दब्दैन थियो । ऊ एक्सट्रोभर्ट स्वभावको थियो । घरभित्रका सानोतिनो मामिलामा वास्ता गर्दैनथ्यो । बाहिरी सरकारी ठूलाठूला कामकाज आफँै सुल्झाउने गर्दथ्यो । चाहे प्रेसको कर्जाको मामिलामा होस् चाहे गाउँ मधेसको भूमिसुधार आदि मामिलामा होस् ऊ आफैँ खटेर सुल्झ्याउँथ्यो ।’

विजय मल्लको भावना विचित्रकै थियो । उनी गरिब, असहाय र अप्ठ्यारोमा परेकाहरूका लागि पनि आफ्नो गच्छे रोप्ने गर्थे । उनी मानवताका सग्लो पुजारी थिए । उनको यस्तो भावनालाई उनकी साइँली छोरी नीना ख्याउँजूले पोखेकी छिन्- ‘विजय बाले रातको समयमा एउटा बच्चा ल्याएर हामी सुतेको ओछ्यानमा सुताइदिनु भयो । म पनि सानो भएकाले मनमा धेरै कुरा खेले- यो बच्चा को होला ? मेरो बाबाको बच्चा होला कि अरूको बच्चा होला ? ममा निकै खुलदुली मच्चियो । बिहान उठ्ता आफूसँग सुतेको बच्चा ओछ्यानमा थिएन । म छक्क परेँ । पछि के थाहा लाग्यो भने त्यो बच्चा राति एघार बजेको समयमा पानी परिरहेको बेला एक्लै बाटामा हिँडिरहेको रहेछ । सानीआमाले कुटेर घरबाट निकालिदिएको कुरा बच्चाबाट थाहा भएपछि त्यसलाई बाले बोकेर ल्याई मसँग सुताउनुभएको रहेछ ।’

विजय मल्ल सानैदेखि नरम, सरल र मनकारी थिए । उनको जीवनमा जतिसुकै अप्ठ्यारा परिबन्धले घेरे पनि, उनीभित्र जस्तै हुरीबतास मडारिए पनि र उनको सुक्ख र दुक्खमा जस्तै उतारचढाव देखिए तापनि उनीभित्रको ‘विजय मल्ल’ कहिले कतै विचलित भएन, कहिले ओइलिएन र कहिले उन्मादले पनि हौसिएन । सहज पाराको मानसिक अवस्था, विवेकशील धारणा र भौतिक चोलालाई मल्लले बाँचुन्जेल एउटा जिन्दगनीको मूर्तरूप दिइरहे । त्यसैले उनको व्यक्तित्व नेपाली समाजमा प्रेरक पनि भइरह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप