बहुमुखी विजय मल्लको जन्म, बाल्यकाल र शिक्षा
सारांश
- विजय मल्लको जन्म १९८२ असार १० गते काठमाडौँको ओमबहालमा भएको थियो।
- उनले आफ्नो औपचारिक शिक्षा दरबार हाईस्कुलबाट सुरु गरी म्याट्रिक तहको अध्ययन बनारस हिन्दु विश्वविद्यालयबाट पूरा गरेका थिए।
- साहित्य र कलामा विशेष रुचि राख्ने मल्लले आफ्नो जीवनकालमा धेरै कृतिहरू सिर्जना गरेका थिए।
विजयबहादुर मल्लको जन्म १९८२ असार १० गते काठमाडौँको ओमबहालमा भएको थियो । उनी ऋद्धिबहादुर मल्ल र आनन्दकुमारी मल्लका चार दाजुभाइमध्ये माइला छोरा थिए ।
विजय मल्ल छ महिनाका हुँदा उनका बुबा ऋद्धिबहादुर मल्ल र आमा आनन्दकुमारीका साथमा कलैया पुगेका थिए । त्यति बेला राणाबाट सुब्बाको पद पाएर ऋद्धिबहादुर कलैयाको बलेवामा रजौटाको दरबारमा खटेका थिए । त्यो दरबार श्री ५ सुरेन्द्रका माइला भाइ रजौटा उपेन्द्रविक्रम शाहको थियो । त्यसैले बुबाआमासितै विजय मल्ल सात वर्षसम्म त्यतै बसेका थिए ।
दरबारमा बसेका कारण मल्लपरिवारमा त्यति बेलाको खान, लाउन ठाँटिलो थियो । त्यसैले विजय मल्लको पनि जीवनको प्रारम्भ राजशाहीकै ठाँटमा सञ्चालित थियो । त्यहाँ बसेताक जुद्धशमशेरकी जेठी छोरी उर्मिला राणाले विजय मल्ललाई संरक्षण दिएकी थिइन् । त्यसैले उनी सधैँ भन्ने गर्थे– ‘म उर्मिला आमालाई मेरी आमापछिकी आमा मान्थेँ ।’
विजय मल्ल सानामा चञ्चले स्वभावमा फक्रेका थिए । तर पनि उनी सरलै थिए, सभ्य नै थिए र तीक्ष्ण स्वभावका पनि थिए । उनको रुचि र समयको मागअनुसार चार वर्ष पुगेपछि उनलाई कखरा पढाइएको थियो । त्यति बेला कालो सिलेटमा खैरो माटोको धूलो राखेर यिनलाई छेस्काले अक्षरारम्भ गराइएको थियो । अनि यिनलाई क ख ग लेख्न सिकाउने काम यिनका बुबा ऋद्धिबहादुर मल्लले नै गरेका थिए ।
विजय मल्ललाई अक्षरारम्भ आफ्ना बुबाले गराएका थिए । उनका औपचारिक गुरुचाहिँ भारतीय नागिनाप्रसाद थिए । भारतीय मूलका नागिना गुरुकै प्रभावमा मल्ल सानैमा हिन्दी भाषा पनि बोल्थे । बाल्यकालमा नै उनले तीन भाषामा कुरा गर्न जानेका थिए । नेपाली, नेवारी र हिन्दी भाषामा बोल्न उनी पोख्त पनि हुन थालेका थिए । सानैदेखि अङ्ग्रेजी भाषा पनि यी बोल्न सक्थे ।
विजय मल्लको स्कुले शिक्षा दरबार हाईस्कुलबाट आरम्भ भएको थियो । उनी सात वर्षदेखि त्यहाँ पढ्न थालेका थिए । १३ वर्षको भएपछि उनी फाटफुट भित्ते पत्रिकामा लेख्ने गर्थे । त्यसै स्कुलमा विद्यार्थीका लागि विभिन्न मण्डलको स्थापना गरिएको थियो । मल्लको स्थानचाहिँ शुक्रमण्डलमा तोकिएको थियो । त्यही मण्डलबाट हस्तलिखित पत्रिका प्रकाशित हुने गथ्र्यो ।
कुरा के हो भने— एक दिन एक जना राणाका छोरालाई मल्ल बस्ने सिटमा राखिएको थियो र मल्ललाई अर्कै बेन्चमा सारिएको थियो । त्यस घटनाले उनीभित्र रिसको ज्वाला दन्किन पुगेको थियो ।
सुरुमा उनी त्यही पत्रिकाको सम्पादक मण्डलमा रहे भने अर्को वर्ष उनी सम्पादकमा नै चुनिएका थिए । उनी सम्पादक हुनुपूर्व नै त्यस पत्रिकामा उनले आफ्नो कथा छपाएका थिए । त्यहाँ प्रकाशित ‘दुई पसले’ शीर्षकको १९९५ सालमा छापिएको कथा नै उनको साहित्यिक जीवनको प्रथम रचना मानिन गयो ।
दरबार हाईस्कुलमा पढेताक विजय मल्लका मिल्ने साथीमध्ये मणिराज उपाध्याय, गुणदेव भट्टराई र नन्ददेव भट्टराई प्रमुख थिए । त्यस स्कुलमा चल्तापुर्जामा देखिएका विद्यार्थीहरूमध्येका एक जना मल्ल पनि थिए । उनी न्यायिक, निर्भीक र हक्की स्वभावका थिए । त्यस स्कुलमा राणाका छोरा र रैतीका छोराबीच भेदभाव गरिने परिपाटीलाई पनि उनले हटाउन मद्दत गरेका थिए ।
कुरा के हो भने— एक दिन एक जना राणाका छोरालाई मल्ल बस्ने सिटमा राखिएको थियो र मल्ललाई अर्कै बेन्चमा सारिएको थियो । त्यस घटनाले उनीभित्र रिसको ज्वाला दन्किन पुगेको थियो । अनि उनलाई सार्ने शिक्षकका सामुन्ने मल्लले राणाका छोराको गालामा चड्कन दिएका थिए । त्यसपछि ती शिक्षकले पनि मल्लको कान समातेर हेडमास्टर सरदार रुद्रराज पाण्डेका सामुन्ने पुर्याएका थिए । छात्रछात्रको एकअर्काको सामान्य झगडालाई कारबाही गर्न मिल्दैन भन्ने हेडमास्टरले निर्णय सुनाएका थिए ।
तर पनि मल्लको त्यस स्वभावले स्कुलमा हलचल नै मच्चेको थियो । त्यसपछि त्यस स्कुलमा राणाका छोरा र जनताका छोरामाझको पर्खाल भत्केको थियो । पछिल्ला दिनमा चाहिँ ती राणाका छोरासित भने मल्लको राम्रोसित हिमचिम बढेको थियो । वास्तवमा राणाकै संरक्षण, खान्की र रहनसहनमा हुर्केका मल्लले राणा भन्ने जातलाई त्यति ठूलो देख्तैन थिए ।
विजय मल्ल दरबार हाईस्कुलमा पढेताक वासुदेव भट्टराई पनि उनका गुरु थिए । उनी सात कक्षामा पढेका बेलाको कुरा हो— कक्षामा वासुदेव गुरु पढाउँदै जान्थे; विजय मल्ल उनको अनुहारकेन्द्रित चित्र बनाउँदै जान्थे । त्यसै बेला भट्टराईका आँखा मल्लसित ठोक्किन पुगे । अनि उनले मल्ललाई छेउमा बोलाए र सोधे— ‘के लख्तै छस् मल्ले, खोइ हेरूँ ?’ अनि मल्लले आफूले कोरेको वासुदेव भट्टराईकै चित्र देखाएका थिए । त्यो चित्र हेरेर भट्टराई मक्खै परेका थिए ।
त्यसपछि भट्टराई बोलेका थिए— ‘यो चित्र तेरा साथीहरूलाई देखा, चाण्डाल !’ अनि त्यो चित्र हेरेर कक्षा हाँसोमय बनेको थियो । छात्रहरू हाँसेको देखेर भट्टराई कड्केर बोलेका थिए— ‘यो मल्ले ठूलै चित्रकार हुन सक्छ, बुझ्यौ ? यसलाई गिल्ला गरेर हाँस्ने काम छैन ।’ वास्तवमा भट्टराईले मल्ललाई सधैँ प्रोत्साहन दिइरहे । भट्टराईलाई पनि उनी ‘बाजे’ भनेर सम्बोधन गर्थे ।
विजय मल्लले दरबार हाईस्कुलमा १९८९ सालदेखि १९९७ सालसम्म पढेका थिए । उनका पालामा नेपालमा म्याट्रिक परीक्षा दिने चलन थिएन ।
विजय मल्ल किशोरावस्थासम्म चित्रकारितामा निक्कै सक्रिय थिए । उनले बनाएका चित्र हेरेर उनका बुबाले चन्द्रमानसिंह मास्केलाई उनको चित्रगुरु थापेका थिए । मास्केसितको अभ्यासका कारण मल्ल चित्रकलामा पनि झनै खारिएका थिए । तर पछिल्ला दिनमा उनी चित्रकलातिर त्यति लागिपरेनन् । यति हुँदाहुँदै पनि उनले २०२२ साल चैत ३ गते साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको मुहारअङ्कित रेखाचित्र बनाएका थिए । अनि त्यही चित्र नै मल्लको अन्तिम औपचारिक चित्र ठहरिएको थियो । भनौँ त्यसपछि उनले कोरेका चित्रले जनमाझ पुग्न सकेका थिएनन् ।
विजय मल्ल बाल्यकालदेखि नै नाटक मन पराउँथे । उनी घरैमा पर्दा टाँगेर बाबुआमालाई पनि नाटक देखाउँथे । यसै प्रसङ्गमा ऋद्धिबहादुर मल्लले पण्डित श्यामदास वैष्णवलाई भनेका थिए— ‘विजय नाटककार हुने रहेछ । यो केटाकेटीमा पर्दा टाँगेर पुतलीको खेल खेल्ने गथ्र्यो ।’
विजय मल्लले दरबार हाईस्कुलमा १९८९ सालदेखि १९९७ सालसम्म पढेका थिए । उनका पालामा नेपालमा म्याट्रिक परीक्षा दिने चलन थिएन । त्यसैले म्याट्रिक दिन उनी आफ्ना दाजु गोविन्दबहादुर मल्ल ‘गोठाले’ सितै बनारस लागे । त्यहाँ उनीहरू सात महिना पढ्न बसेका थिए । ती दाजुभाइले नै बनारस हिन्दु विश्वविद्यालयबाट १९९९ सालमा म्याट्रिक पास गरेका थिए । त्यति बेला विजय मल्ल सत्र वर्षका थिए ।
म्याट्रिक पास गरेपछि विजय मल्ल उच्चशिक्षाका लागि दाजु शारदाबहादुर मल्लसित कोलकाता हानिएका थिए । तर त्यहाँ उनको मन अडिएन । यति हुँदाहुँदै पनि शारदाको स्नेह पाएर उनी त्यहाँ तीन महिनाचाहिँ बसे । त्यसपछि उनी काठमाडौँतिरै फर्के ।
विजय मल्ल र गोविन्द मल्ल ‘गोठाले’लाई साहित्यमा मोह थियो । त्यसैले उनीहरू दुवै त्रिचन्द्र कलेजमा आईए पढ्न थाले । एक वर्ष आईए पढेका दाजुभाइलाई बुबा ऋद्धिबहादुर मल्लले करबलमा ‘गोठाले’ र विजय मल्ललाई विज्ञान पढ्नका लागि त्रिचन्द्र कलेजमा भर्ना गरिदिए । उनीहरूलाई विज्ञानमा रुचि नै थिएन । त्यसैले उनीहरूले न आईए पास गरे, न आईएस्सी पास गरे ।
यति हुँदाहुँदै उनीहरूले लेख्ने कामचाहिँ छाडेनन् । पछि विजय मल्ललाई नरेन्द्रराज प्रसाईले एउटा प्रश्न गरेका थिए— ‘पढाइमा किन मन दिनुभएन ?’ उनले उत्तर दिएका थिए— ‘पढ्न छाडेर मलाई पछुतोचाहिँ भयो । तर पढेर भन्दा परेर जानिन्छ भन्ने लोकोक्ति नै मेरो जीवनमा गाँसियो ।’ विजय मल्लले उच्चशिक्षा हाँसिल नगरे तापनि उनका कृतिका बारे नेपाल तथा भारतका विश्वविद्यालयबाट सात जनाले विद्यावारिधि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण