विजय मल्लको स्त्रीमोह, पत्नी र छोरीहरू
सारांश
- विजय मल्ल आफ्नो किशोरावस्थादेखि नै नारीप्रति विशेष आकर्षण राख्ने र प्रेमिल स्वभावका व्यक्ति थिए।
- परिवारको इच्छामा श्यामा प्रधानसँग विवाह गरे पनि मल्लले आफ्नो साहित्यिक सिर्जनामा नारी मनोविज्ञानलाई प्राथमिकता दिएका थिए।
- नौ छोरीका पिता बनेका विजय मल्लको जीवनमा उनकी पत्नी श्यामाको योगदान र साथ अतुलनीय थियो।
विजय मल्ल किशोरावस्थादेखि नै केटीहरूसँग सङ्गत गर्न मन पराउँथे । उनी प्रेमिल स्वभावका थिए । एक पटक नरेन्द्रराज प्रसाईंले उनलाई सोधेका थिए– ‘सत्तरी वर्षको हुँदा पनि तपाईं आइमाईसँग आसक्त भएर कति मरिमेट्नुहुन्छ, दाइ !’ वास्तवमा उनी केटी खेलाउन र उनीहरूसित खेल्नेमा नाउँ चलेकै व्यक्ति थिए । सुरा र सुन्दरीचाहिँ उनका प्रिय चिज थिए । खास गरेर उनी प्राज्ञ भएका ताका उनको केटीमोहले हल्लाखल्ला गरेको पनि थियो ।
तर अशिष्ट, अश्लील र अमर्यादित भएर भने केटीहरूसँग उनले कहिले पनि झुत्ती खेलेनन् । उनले जतिसित स्नेह बाँडे, त्यतिलाई उचित प्रोत्साहन पनि दिए । कसैलाई जागिर दिए, कसैलाई मन दिए, कसैलाई तन दिए र कसैलाई गच्छेअनुसारको धन पनि दिए । तर उनले एकोहोरो कसैको शोषण गरेको कहीँकतै सुनिएन । बरु उनले छोएपछि फलाम पनि तामा बन्थ्यो, तामा पनि चाँदी बन्थ्यो र चाँदी नै पनि सुनै बन्थ्यो ।
विजय मल्ल जुद्धशमशेरकी छोरी उर्मिला राणासित बिहानबेलुकै झुम्मिन्थे । किनभने उर्मिला मल्ललाई पुत्रवत् व्यवहार गर्थिन् । उनी पनि ‘मा’ भन्दै त्यतै लुटुपुटु हुन्थे । उर्मिला महलमा रमा नाउँ गरेकी एउटी किशोरी पनि बस्थिन् । तिनै केटीसित मल्लको आँखा गढेको थियो । त्यसै बेला कुर्कुरे बैँसको फेरोमा उनले तिनलाई प्रेमपत्र पनि लेखेका थिए । यसैबारे उनले नरेन्द्रराज प्रसाईंसित भनेका थिए, ‘मैले जीवनमा प्रेमपत्र लेखेको त्यही पहिलो चोटि थियो । मैले तिनलाई फूलबुट्टा राखेरै प्रेमपत्र लेखेको कुरा अझै मेरो सम्झनामा छ ।’
विजय मल्ल चौध वर्षको उमेरदेखि नै केटीको प्रेममा डुबेका थिए । त्यसै उमेरमा बनारसमा बस्ने नेपालका राणाजीकी छोरी रमा राणासित उनी प्रेममा फसेका थिए । यसै प्रसङ्गमा उनले भनेका थिए, ‘मेरो लभ परेकै हो । रमाले पनि मलाई मन पराएकी नै हुन् । त्यसैले हामी प्रायः गङ्गामा जान्थ्यौँ, त्यहीँ घुम्थ्यौँ, त्यहीँ चुम्बन पनि गर्थ्यौँ । यति हुँदाहुँदै पनि उनीसित विवाह गर्ने मेरो सामर्थ्य भने थिएन । जातभातका कुराले हाम्रो प्रेम असफल नै भयो । तर पनि मैले रमालाई बिर्सन सकेको छैन । सायद उनले पनि मलाई बिर्सेकी छन् जस्तो लाग्दैन ।’
विजय मल्ललाई मन परेकी केटीको सट्टा उनका बुबाआमाले अर्कै केटीसित बिहे गर्न जोड गरे । यसबारे उनी दोमनमा नै रहेका थिए र निकै दिनसम्म पनि मौन नै बसे ।
सोह्र वर्ष लाग्दानलाग्दै मल्लले आफ्नै साथी रेशमबहादुर श्रेष्ठकी भान्जी अनुराधासित प्रेम गरे । ती जोडी खुबै मिल्थे । मल्लका बुबाआमालाई पनि ती कन्या मन परेकी थिइन् । सोहीअनुरूप मगनी पनि भयो । तर त्यस बेलासम्म ती कन्याकी दिदीको विवाह भएको थिएन । त्यसैले कन्याका बुबाआमाले विजय मल्लसित दिदीको चाहिँ पहिले बिहे गर्नुपर्ने हुनाले दिदीसँग नै बिहे गर्न प्रस्ताव गरे । दिदीको बिहे नगरी बहिनीको बिहे गर्नै मिल्दैन भन्ने अडानमा श्रेष्ठ परिवार पुगेको थियो ।
विजय मल्ललाई मन परेकी केटीको सट्टा उनका बुबाआमाले अर्कै केटीसित बिहे गर्न जोड गरे । यसबारे उनी दोमनमा नै रहेका थिए र निकै दिनसम्म पनि मौन नै बसे । अन्ततः उनले आफ्ना बुबाआमाले नै रोजेकी केटीसँग बिहे गरे । उनका दाजु गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले पनि त्यसै गरे । उनीहरूको सँगसँगैजस्तो बिहे भएको थियो ।
विजय मल्लले बिहे गरेको सूचना पाएपछि उनकी प्रेमिका अनुराधाले घरको छानाबाट फाल हानेकी थिइन् । तर उनी त्यस घटनाबाट बाँच्न सफल भइन् । ‘म उनलाई प्रायः सम्झिरहेकै पनि हुन्छु,’ मल्लले भनेका थिए । त्यो कुरा पछिसम्म विजय मल्लले भन्न छाडेनन्, ‘मेरा बुबाआमाको म धेरै नै आज्ञाकारी थिएँ; उहाँहरूले भनेको मैले मानिदिएँ । उहाँहरूले देखाएकै केटीलाई मैले स्विकारिदिएँ । त्यसैले मेरो विवाह श्यामा प्रधानसित हुन गयो । अनि मैले ‘अनुराधा’ लेखेँ ।’
विजय मल्ल सानैदेखि नारीप्रधान थिए । यसको प्रमुख कारण के हो भने उनी आफ्नी आमाका भक्त थिए । त्यसै कारणले पनि उनी आफूलाई नारी वर्गको छेउछाउमै पुर्याइरहन चाहन्थे । किशोरकालदेखि नै उनी नारी जागरणका लागि समर्पित थिए । कतिसम्म भने स्कुलविहीन नारीहरूलाई साक्षर गराउन पनि उनी तल्लीन थिए । नारी शिक्षाका लागि उनले आफ्नै ससुरालीमा प्रौढ स्कुल पनि खोले । वास्तवमा उनको नारीपरिवेष्टित जीवनशैलीको निष्कर्ष उनको नारीमनोविज्ञानकेन्द्रित साहित्य साधना नै हो ।
मनोवैज्ञानिक विश्लेषणले यस व्यहोराको पुष्टि गर्दछ । उनले साहित्यमा नारीलाई प्राथमिकता दिनुले यस तथ्यलाई पूर्ण रूपमा प्रमाणित गरेको छ भन्ने कुरा सुप्रसिद्ध मनोविज्ञ प्रा.डा. मुरारीप्रसाद रेग्मीले नरेन्द्रराज प्रसाईंलाई बताएका हुन् । रेग्मीका अनुसार ‘सतही आँखाले हेर्दा मल्ल नारीका आकर्षणमा परेका देखिन्छन् तर सारतत्त्वका रूपमा स्त्रीमोह उनको रचनाको शाश्वत गर्भगृह थियो ।’ त्यसैले नै पनि उनका नारीकेन्द्रित रचनाहरू अजर र अमर भएका पनि छन् ।
विजय मल्ललाई मन परेको उपन्यास ‘अनुराधा’ थियो । उनकी जेठी छोरी नलिनी मास्के भन्थिन्, ‘२०१७ सालमा भूमिगत बस्दा मेरा बुबाले अनुराधा लेख्नुभएको थियो । उपन्यासमा मलाई अनुराधा मन पर्छ ।’ विजय मल्ल जहिलेसुकै पनि अनुराधालाई प्राथमिकता दिएर बोल्ने गर्थे । त्यस कृतिमा उनले आफू केटी नै भएर लेखे, ‘सौन्दर्यप्रति मेरो झुकाउ त्यस बखत आवश्यकभन्दा बढी नै थियो ।’
विवाहपछि मल्लदम्पती साह्रै मिल्थे । उनीहरूको जीवन संसार एकअर्कामा केन्द्रित थियो ।
विजय मल्लले ‘अनुराधा’ मा आफू केटी भएर अर्को एउटा विशेष बिम्ब स्थापित गरे, ‘मेरो रूप र सौन्दर्यको मेरो सम्मुख नै उनीहरू प्रशंसा गर्थे र मलाई बाटाबाटामा बोकेर हिँड्न उनीहरूलाई सरम र तक्लिफ हुँदैनथ्यो । यसले गर्दा अहिले मलाई लाग्दछ, त्यस बखतदेखि नै म आफूलाई अरू आफ्ना साथीसङ्गातीभन्दा विशेष श्रेणी अथवा भिन्नै केही हुँ भन्ने लाग्दथ्यो र तिनीहरूको सामुन्ने आफूलाई ठूलो मानिस सम्झन्थेँ । यसैले म उनीहरूको ईर्ष्याको पात्र पनि थिएँ र साथै उनीहरूको लक्ष्य पनि । कोही मलाई अत्यन्त मन पराउँथे र डाहाले मसँग विमुख थिए । तर जेसुकै होस्, त्यस बखत म ज्यादै स्वाभिमानी गर्विली ठिटी थिएँ र कसैको पर्वाह, ख्यालै राख्दिनथेँ ।’ अनि मल्लको यस भनाइउपर सुप्रसिद्ध स्रष्टा तथा आख्यानका विशेषज्ञ प्रा. राजेन्द्र सुवेदीले लेखे, ‘अनुराधालाई लाग्दथ्यो आफूलाई सबैले मन पराउँछन् । समग्र सौन्दर्यको संश्लेषित पूज्य म नै हुँ र मेरो सौन्दर्यप्रति सबै ईर्ष्यालु बनेका छन् ।’
१९९९ सालमा विजय मल्ल र श्यामा प्रधानबीच विवाहबन्धन कसिएको थियो । त्यस बेला मल्ल अठार वर्षमा प्रवेश गरेका थिए भने उनकी बेहुली तेह्र वर्षकी थिइन् । श्यामा प्रधान दन्तचिकित्सक डा. वजिरमान प्रधानकी छोरी थिइन् । ठमेल निवासी प्रधान नाट्यकलामा पनि आबद्ध थिए । साथै उनी नाटक निर्देशक पनि थिए । विजय मल्ल पनि नाटक खेल्ने भएकाले उनीहरू पूर्वपरिचित नै थिए । तर मगनीपूर्व दुलाहा र दुलहीले भने एकअर्कालाई देखेका पनि थिएनन् र एकअर्काको नाउँसमेत पनि सुनेका थिएनन् । बिहेको मगनीमा मात्र उनीहरूले एकले अर्कासित देखादेख गर्ने मौका पाएका थिए । बुबाआमाको करबल र ढिपीका कारणले मल्ल हठात् रूपमा विवाहबन्धनमा बाँधिएका थिए ।
विवाहपछि मल्लदम्पती साह्रै मिल्थे । उनीहरूको जीवन संसार एकअर्कामा केन्द्रित थियो । त्यति मात्र होइन, विजय मल्लको व्यक्तित्वका विविध पाटा उकास्न श्यामा मल्लको अति नै ठूलो योगदान थियो । त्यसै प्रसङ्गमा मल्ल भन्थे, ‘म जे छु त्यसको स्तम्भ नै श्यामा हुन् । उनीसित मेरो दाम्पत्य जीवन बाँधिएकै कारण म विजय मल्ल हुन सकेँ ।’
विजय मल्ल र श्यामा मल्लबाट नौ जना छोरी क्रमशः नलिनी, रीता, नीना, शिला, उमा, रोमा, सिर्जना, अर्चना र बन्दनाको जन्म भएको थियो । काइँली छोरी शिलाचाहिँ कुमारीमै दिवङ्गत भएकी थिइन् । मल्लदम्पतीका आठ जना छोरीले भने वैवाहिक जीवन गाँसेर उत्कृष्ट कोटिको घरजम पनि गरे ।
विजय मल्लको पैत्रिक सम्पत्ति पनि थियो । साथै उनले आफूले कमाएको पनि छँदै थियो । उनी बाँचुन्जेल उनले आफ्नो धन पनि सदुपयोग गरेकै थिए । नरेन्द्रराज प्रसाईंको एउटा प्रश्नको उत्तरमा उनले भनेका थिए, ‘मेरा नौ जना छोरी जन्मे; म र मेरी पत्नीको शेषपछि तिनीहरूले आआफ्नो गच्छेअनुसार हाम्रो कीर्ति पनि राख्ने काम गर्लान् । छोराले मात्र बुबाआमाको विरासत धान्छन् भन्ने कुनै प्राकृतिक नियम पनि त छैन नि !’
हुन पनि मल्लको भावना सक्कली रहेछ भन्ने प्रमाण उनी दिवङ्गत भएपछि उनका छोरीहरूले आफ्ना बुबाआमाप्रति चासो राखिरहे । कतिसम्म भने विजय मल्लको शताब्दी महोत्सव मनाउने क्रममा अन्तरी छोरी डा. उमा श्रेष्ठ र उनका पति डा. कुशनारायण श्रेष्ठ नइ एकेडेमीसँगसँगै मन, वचन र कर्मले समर्पित थिए ।
डा. कुशनारायण श्रेष्ठ तत्कालीन श्री ५ को सरकारका सचिव, अञ्चलाधीश र प्रख्यात समाजसेवी रामनारायण श्रेष्ठका छोरा हुन् । विजय मल्लकी अन्तरी छोरी उमा मल्लसित उनको २०४३ सालमा लगनगाँठो कसिएको थियो । उमाले संयुक्त राज्य अमेरिकाबाट भाषाविज्ञानमा पिएच.डी. गरिन् । अनि उनले अमेरिकाकै वेस्टर्न ओरेगन विश्वविद्यालयमा तीस वर्षसम्म प्राध्यापन गरिन् र आफ्नो योग्यताले उनी प्राध्यापक बनिन् ।
विजय मल्ल र श्यामा मल्लले बाँचुन्जेल शानदार जीवनवृत्ति चलाए । उनीहरूको घरेलु वातावरण पनि समुन्नत थियो । जुनसुकै पाहुनापाछालाई पनि स्वागत गर्नेदेखि बिदाइ गर्नेसम्ममा उनीहरू निपुण थिए । खास गरेर श्यामा मल्ल घरपरिवारका लागि एउटा शाश्वत नमुना थिइन् । त्यसैले मल्लले पनि घरपरिवारमा शान्तिको सास फेरेका थिए । यसै प्रसङ्गमा मल्ल भन्थे, ‘श्यामाको घरेलु वातावरणीय प्रभावका कारण मैले अझ लेख्न सकेको हुँ ।’
विजय मल्ल र श्यामा मल्लको स्वर्णिम दाम्पत्य जीवनले उनन्साठी वर्षको हिउँद कटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण