१०औँ पीएम एनभीए भलिबल लिग : दोस्रो खेलमा सुदूरपश्चिमको सुधारात्मक हार
सारांश
- काठमाडौँको त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी १०औँ प्रधानमन्त्री एनभीए भलिबल लिगमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।
- पहिलो दुई सेटमा फराकिलो अन्तरले पछि परेको सुदूरपश्चिमले तेस्रो सेटमा भने केही सुधारिएको प्रदर्शन गर्दै १८ अङ्क जोडेको थियो।
धनगढी । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा जारी १०औँ प्रधानमन्त्री पीएम एनभीए राष्ट्रिय भलिबल लिग अन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।
प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलिरहेको सुदूरपश्चिमले विभागीय टोली पुलिससँग ३–० को सोझो सेटमा हार बेहोरेको हो । नेपाल पुलिस क्लबले सुदूरपश्चिमलाई पहिलो सेटमा २५–१२ र दोस्रो सेटमा २५–५ को फराकिलो अन्तरले पाखा लगाएको थियो ।
यद्यपि, तेस्रो सेटमा भने सुदूरपश्चिमले उत्कृष्ट पुनरागमनको प्रयास गर्दै खेललाई केही प्रतिस्पर्धात्मक बनाएको थियो । तेस्रो सेटमा सुदूरपश्चिमले १८ अङ्क जोडे पनि अन्ततः पुलिसले २५–१८ ले सेट आफ्नो पक्षमा पार्दै खेल जित्यो।
आफ्नो पहिलो खेलमा न्यु डायमण्ड यूथ स्पोर्टस क्लबसँग निकै कमजोर प्रदर्शन गरेको सुदूरपश्चिमले आजको खेलमा भने केही सुधारिएको प्रदर्शन गरेको छ । हिजोको तुलनामा आज सुदूरपश्चिमका खेलाडीहरूले कोर्टमा राम्रो तालमेल देखाएका थिए। तेस्रो सेटमा उनीहरूको प्रदर्शन राम्रो रहेको थियो।
नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको यो प्रतियोगितामा देशका शीर्ष टोलीहरूको सहभागिता रहेको छ । सुदूरपश्चिमले अबका खेलहरूमा आजको सुधारिएको प्रदर्शनलाई निरन्तरता दिने अपेक्षा गरिएको प्रशिक्षक लालबहादुर बटालाले जानकारी दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण