सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपेन्द्रको ७५ रन मद्दतमा यूएईलाई नेपालको २०१ रनको लक्ष्य

शनिबार, १२ वैशाख २०८३, १३ : ५५
शनिबार, १२ वैशाख २०८३

काठमाडौँ । आईसीसी विश्व कप लिग २ अन्तर्गत महत्त्वपूर्ण खेलमा नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा यूएईलाई २०१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८.२ ओभरमा २०२ रनमा अलआउट भयो । 

नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । तर, उनलाई अन्य ब्याटरबाट गतिलो साथ मिल्न सकेन । ऐरीले आफ्नो अर्धशतकीय पारी (७५ रन) मा ९० बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । 

नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेलले २४ रन बनाए भने आशिफ शेख ७ रनमै आउट भए । कप्तान रोहित पौडेल पनि मात्र २ रनमै पेभेलियन फर्किए । मध्यक्रममा करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन जोडे भने भीम सार्की १० रन बनाएर आउट भए । 

यूएईका लागि अजय कुमार र जुनैद सिद्दिकीले उत्कृष्ट बलिङ गर्दै समान ३/३ विकेट लिए । 

आजको खेलमा नेपाली टोलीको प्लेइङ ११ मा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दिपेन्द्रसिह ऐरी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, बसिर अहमद र ललित राजवंशी छन् । 

यो खेल ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मान्यता जोगाउन शीर्ष ६ मा पर्न लागि नेपाल र यूएई दुवैका लागि अत्यन्त महत्त्वपूर्ण छ । हाल नेपाल २० खेलमा ५ जित, १३ हार र २ खेल नतिजाविहीन रहँदै १२ अंकका साथ सातौँ स्थानमा छ । यूएई भने समान खेलमा १५ हारसहित १० अंकका साथ आठौँ स्थानमा छ । 

यसैबिच जवाफी ब्याटिङ थालेको यूएईले तीन ओभर चलिरहँदा २ विकेट गुमाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप