सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भोजपुर गोल्डकपको उपाधि आयोजकलाई

आइतबार, १३ वैशाख २०८३, ०१ : १३
आइतबार, १३ वैशाख २०८३

भोजपुर । नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक भोजपुर फुटबल सङ्घले जितेको हो । सङ्घले उपाधिसहित रु पाँच लाख हात पारेको छ ।

भोजपुरले ललितपुरको सातदोबाटो युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । भोजपुरका लागि दोर्जी तामाङले खेलको तीन मिनेटमै पहिलो गोल गरे । यस्तै ४०औँ मिनेटमा उसका लागि सन्तोष तामाङले दोस्रो गोल थपे । वर्षात्मै खेलाइएको दोस्रो हाफको एक मिनेटमा सातदोबाटो युथ क्लबका राजेश दाहालले एक गोल गर्न सफल भए । उपविजेता सातदोबाटोले रु तीन लाखमा चित्त बुझायो । फाइनल खेलको प्लेयर अफ दी म्याच भोजपुरका गोलकर्ता सन्तोष बने । उनले रु पाँच हजार र मेडल पाए ।

गत वर्षको विजेता सशस्त्र प्रहरीको विभागीय टोली एपिएफलाई २–० गोलले हराउँदै आयोजक भोजपुर फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको थियो भने काठमाडौँको प्लानिङ ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै सातदोबाटोले फाइनलको यात्रा तय गरेको थियो । आठ टोली सहभागी भोजपुर नगरपालिका–७ कोदारमा रहेको रङ्गशालामा भएको प्रतियोगितामा उत्कृष्ट गोलरक्षक भोजपुरका समिर क्षेत्री, उत्कृष्ट प्रशिक्षक भोजपुरका बिनम श्रेष्ठ तथा सर्वोत्कृष्ट खेलाडी भोजपुरकै विवेक राई भए । उनीहरूले जनही रु सात हजार पाँच सय रुपैयाँ र मेडल प्राप्त गरे । विजेता तथा उपविजेतासहितलाई भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले पुरस्कार प्रदान गरे । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको रु ३० लाख सहयोगमा यही वैशाख ६ गतेदेखि प्रतियोगिता सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप