सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

संसदमा राजसंस्थाको एजेण्डा राप्रपाकै कारणले घन्किरहेको छ : लिङ्देन

आइतबार, १३ वैशाख २०८३, ०९ : ५९
आइतबार, १३ वैशाख २०८३

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभई राजसंस्था मान्नेहरूको पार्टी भएको बताएका छन्।
  • उनले राप्रपाको सहभागिताले नै संसदमा राजसंस्थाको एजेण्डाले स्थान पाएको दाबी गरेका छन्।
  • लिङ्देनले अनुशासन विपरीत काम गर्ने नेता तथा कार्यकर्ताहरूमाथि कारबाही अघि बढाएको स्पष्ट पारेका छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका छन् । 

पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम अन्तर्गत शनिवार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको बताए । राजा र राजसंस्था कुनै पार्टीको नहुने भन्दै उनले राजसंस्थाको पनि कुनै पार्टी नहुने बताए ।  राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको उनको भनाइ थियो। राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको उनले बताए । 

गत फागुन २१ गते भएको निर्वाचन अघि आएको पूर्वराजाको सम्बोधनलाई लिएर कतिपय राजसंस्थावादीले राप्रपा निर्वाचनमा जानु गल्ती भएको भनेर टिप्पणी गरिरहेका बेला अध्यक्ष लिङ्देन यसबारे पनि बोले ।

'राप्रपा निर्वाचनमा नगएको भए के हुन्थ्यो ?' अध्यक्ष लिङ्देनले प्रतिप्रश्न गर्दै भने, 'राप्रपा निर्वाचनमा नगएको भए आजको राजनीतिक परिदृश्य र संसदीय मञ्चबाट राप्रपा र राजसंस्थाको पक्षपाती शक्तिको हालत के हुन्थ्यो ? आफुलाई राजसंस्थावादी भन्नेहरुले राप्रपा भन्ने अस्तित्वमै नरहोस् भन्ने चाहेका हुन् ? संसदमा राजसंस्थाको एजेण्डा राप्रपाकै कारणले घन्किरहेको छैन ?'

पार्टीमा चलिरहेको विवादका बारेमा मुख खोल्दै लिङ्देनले चुनाव अघिसम्म सबैलाई मिलाएर लैजाने प्रयास गर्दा आफुलाई कमजोर सोचेर पार्टीका नेताकार्यकर्ताले अनुशासन विपरित मनपरी कार्य गरेको भन्दै हाल अनुशासनको कारबाही चलाउन आरम्भ गरेको प्रष्ट पारे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप