हर्कवादः वैकल्पिक राजनीतिक चेतनाको दस्ताबेज
नेपाली समाज र राजनीतिमा पछिल्लो समय देखिएको असन्तोष, निराशा र परिवर्तनको चाहनालाई प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण कृतिको रूपमा ‘हर्कवाद’ पुस्तकलाई लिन सकिन्छ । यो पुस्तक केवल एउटा व्यक्तिको कथा मात्र होइन । एउटा सोच, आन्दोलन र वैकल्पिक राजनीतिक दर्शनको प्रस्तुति हो । परम्परागत राजनीतिक अभ्यासप्रति जनतामा बढ्दो अविश्वासबिच प्रकृति, संस्कृति र प्रविधिको संयोजनबाट ‘हर्कवाद’ले नयाँ आशा, साहस र प्रतिरोधको भाषा बोलेको छ ।
यसर्थ प्रकृति, संस्कृति र प्रविधिको अन्तरसम्बन्ध नै जीवनको आधार हो । यी तीनै पक्षको सन्तुलित र समुचित विकासले मात्र मानव समाज र समग्र जगतको रक्षा तथा उन्नति सम्भव हुन्छ । यस्तो अवस्था हासिल गर्न निरन्तर श्रम र श्रमदान अनिवार्य मानिएको छ । श्रमको मूल्य र यसको व्यवहारिक अभ्यासमार्फत अभाव, गरिबी, विभेद तथा त्यसबाट उत्पन्न द्वन्द्व र अशान्तिको अन्त्य गर्न सकिने विश्वास यस विचारधाराले व्यक्त गर्छ ।
विषयवस्तु
हर्कवाद मूलभूत रूपमा नेपाली राजनीतिक संरचनाको आलोचना गर्दै त्यसको विकल्प खोज्ने प्रयास हो । पुस्तकले स्थापित दलहरू, तिनका नेताहरू र शासन प्रणालीको कमजोर पक्षलाई उजागर गर्छ । लामो समयदेखि चल्दै आएको बेथिति, भ्रष्टाचार, ढिलासुस्ती, जनतासँगको दूरी र सत्ता केन्द्रित राजनीति विरुद्ध यो पुस्तकले कडा प्रश्न उठाएको छ ।
यस पुस्तकको केन्द्रीय भाव, बेठिक प्रणाली र परम्परालाई बदल्नुपर्छ भन्ने हो । पुस्तकका लेखक तथा प्राध्यापक डा. विजयप्रसाद मिश्रले यो विचारलाई विभिन्न उदाहरण, अनुभव र तर्कमार्फत प्रस्तुत गरेका छन् । यसले पाठकलाई केवल समस्या बुझ्न मात्र होइन, समाधानतर्फ सोच्न पनि प्रेरित गरेको छ ।
हर्कवादको अवधारणा
हर्कवाद कुनै औपचारिक राजनीतिक सिद्धान्त जस्तो जटिल र सैद्धान्तिक ढाँचामा सीमित छैन । बरु यो व्यवहारिकता, जनसहभागिता र नयाँ वादको परिणाममुखी कार्यशैलीमा आधारित जीवन्त सोच हो । यसले राजनीति र नेतृत्वलाई केवल सैद्धान्तिक बहस वा आदर्शका कुरा मात्र नभई, जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको क्रियाशील प्रक्रियाका रूपमा बुझ्न आग्रह गर्छ ।
यस अवधारणाको मूलमा जनताको प्रत्यक्ष सहभागिता, पारदर्शिता, जबाफदेहिता र इमानदार कार्यसम्पादन रहेका छन् । हर्कवादले ‘माथिबाट होइन, तलबाट परिवर्तन’ भन्ने धारणा अघि सार्छ । स्थानीय स्तरमै समस्या पहिचान र समाधान खोज्नुपर्नेमा जोड दिन्छ । यसले नागरिकलाई केवल मतदाता होइन, सक्रिय साझेदारका रूपमा स्थापित गर्न खोज्छ, जहाँ प्रत्येक व्यक्तिको योगदान परिवर्तनको आधार बन्छ ।
त्यस्तै, हर्कवादको अर्को महत्त्वपूर्ण पक्ष यसको परिणाममुखी सोच हो । यसले योजना, भाषण र वाचा भन्दा पनि कामको प्रत्यक्ष उपलब्धिलाई प्राथमिकता दिन्छ । भाषण ठुलो होइन, काम ठुलो हो भन्ने यसको मूल सन्देशले परम्परागत राजनीतिक शैलीमाथि प्रश्न उठाउँदै कार्य संस्कृतिमा रूपान्तरणको आवश्यकता औँल्याउँछ । यसले देखावटी प्रतिबद्धता होइन, वास्तविक उपलब्धि र प्रभावकारी सेवा प्रवाहलाई मापनको आधार मान्छ ।
यस अवधारणाले श्रम, अनुशासन र सामूहिक प्रयासलाई पनि उच्च प्राथमिकता दिएको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्नुपर्ने, सानो–सानो प्रयासले पनि ठुलो परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास यसमा निहित छ । साथै, हर्कवादले नेतृत्वलाई विशेषाधिकारको रूपमा होइन, जिम्मेवारीको रूपमा परिभाषित गर्छ । जहाँ नेता जनताको सेवकका रूपमा उत्तरदायी हुनुपर्छ ।
समग्रतामा, हर्कवादले राजनीति र सामाजिक रूपान्तरणलाई सरल, व्यावहारिक र जनकेन्द्रित बनाउने प्रयास गरेको देखिन्छ । यसले केवल विचार प्रस्तुत गर्दैन्, बरु व्यवहारमै लागू गर्न सकिने स्पष्ट मार्गदर्शन पनि दिन्छ । जसले नागरिकमा सक्रियता, उत्तरदायित्व र परिवर्तनप्रतिको विश्वास जगाउने काम गर्छ ।
शैली र प्रस्तुति
पुस्तकको भाषा सरल, सहज र बुझ्न सजिलो छ । जटिल दार्शनिक शब्दावली प्रयोग नगरी लेखकले आफ्ना विचार सिधा र स्पष्ट रूपमा प्रस्तुत गरेका छन्, जसले पुस्तकलाई आम पाठकका लागि मात्र होइन, विभिन्न पृष्ठभूमिका पाठकहरूका लागि पनि सुलभ र प्रभावकारी बनाएको छ । सरल भाषाशैलीका कारण पाठकले कुनै विशेष पूर्वज्ञान बिना नै पुस्तकको आशय सजिलै आत्मसात् गर्न सक्छन् ।
लेखकले ठाउँ–ठाउँमा प्रयोग गरेका व्यङ्ग्य, आलोचना र भावनात्मक अभिव्यक्तिले कृतिलाई अझ जीवन्त, सशक्त र आकर्षक बनाएको छ । यी तत्त्वहरूले पाठकलाई केवल जानकारी दिने मात्र होइन, उनीहरूमा सोच्ने, प्रश्न गर्ने र प्रतिक्रिया दिने प्रवृत्ति पनि विकास गराउँछन् । केही अंशहरूमा लेखकको आक्रोश स्पष्ट रूपमा देखिन्छ, जुन नेपाली समाजको यथार्थ अवस्थासँग मेल खान्छ । यस्तो आक्रोशले पुस्तकलाई थप प्रामाणिक बनाउनुका साथै पाठकलाई विद्यमान समस्या र विसंगतहरूप्रति गम्भीर रूपमा विचार गर्न प्रेरित गर्छ ।
पुस्तकको प्रमुख सन्देश
हर्कवादको मूल सन्देश परिवर्तनको अपरिहार्यता र त्यसका लागि व्यक्तिगत तथा सामूहिक श्रम संस्कृति पहलको निर्णायक भूमिकामा केन्द्रित छ । पुस्तकले स्पष्ट रूपमा देखाउँछ कि केवल शासन परिवर्तन वा नेताको फेरबदलले मात्र समाज रूपान्तरण हुँदैन, यसको लागि सचेत, जिम्मेवार र सक्रिय नागरिकको भूमिका अनिवार्य हुन्छ । जब जनता स्वयं परिवर्तनका वाहक बन्छन्, तब मात्र दिगो र वास्तविक परिवर्तन सम्भव हुन्छ भन्ने यसको केन्द्रीय तर्क हो ।
यस पुस्तकले विशेषगरी युवा वर्गलाई लक्षित गर्दै उनीहरूलाई परम्परागत सोच, निष्क्रियता र आश्रित मानसिकताबाट बाहिर निस्कन आग्रह गर्छ । देशको भविष्य युवाकै हातमा निहित छ भन्ने विश्वासका साथ उनीहरूलाई नवीन सोच, सृजनशीलता र नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरित गरिएको छ । साथै, श्रमको सम्मान, आत्मनिर्भरता र स्थानीय स्तरबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने सन्देशले पुस्तकलाई अझ व्यवहारिक र प्रेरणादायी बनाएको छ ।
पुस्तकका सबल र कमजोर पक्ष
पुस्तकले नेपाली समाजको यथार्थलाई कुनै आडम्बर बिना स्पष्ट र सिधा ढङ्गले प्रस्तुत गरेको छ । जुन यसको प्रमुख शक्ति हो । यसमा व्यक्त गरिएको प्रेरणादायी भावनाले पाठकमा केही गर्नुपर्छ भन्ने चेतना र ऊर्जा उत्पन्न गर्छ । साथै सरल र सहज भाषा शैलीका कारण विभिन्न पृष्ठभूमिका र भाषा–भाषीका पाठकले पनि यसलाई सजिलै बुझ्न र आत्मसात् गर्न सक्छन् । पुस्तकले वैकल्पिक सोचलाई अघि सार्दै परम्परागत राजनीतिभन्दा बाहिर पनि सम्भावनाहरू रहेका छन् भन्ने सन्देश प्रभावकारी रूपमा दिएको छ ।
तर, यिनै सबल पक्षसँगै केही सीमितताहरू पनि देखिन्छन् । पुस्तकमा भावनात्मक पक्ष केही हदसम्म बढी हाबी भएकाले कतिपय स्थानमा तर्कात्मक विश्लेषण कमजोर भएको अनुभूति हुन्छ । समस्या पहिचान स्पष्ट भए पनि तिनको समाधानका लागि आवश्यक ठोस र व्यवहारिक योजनाहरू पर्याप्त रूपमा प्रस्तुत गरिएको छैन । साथै, केही प्रसङ्गहरूमा एकपक्षीय दृष्टिकोण देखिन्छ । जसले स्थापित प्रणालीका कमजोरीहरूलाई मात्र जोड दिएको छ भने त्यसका सकारात्मक पक्षहरू अपेक्षाकृत कम समेटिएका छन् । यसरी पुस्तकले प्रेरणा र वैकल्पिक सोच दिन सफल भए पनि यसको विश्लेषणात्मक गहिराई र व्यवहारिक पक्ष अझ सुदृढ हुन आवश्यक देखिन्छ ।
आजको नेपाली राजनीतिक परिवेशमा हर्कवाद अत्यन्त सान्दर्भिक देखिन्छ । परम्परागत दलप्रतिको जनविश्वास घट्दै गएको, नेतृत्वप्रति निराशा बढ्दै गएको र शासन प्रणालीप्रति प्रश्न उठिरहेको अवस्थामा यसले वैकल्पिक सोच र अभ्यासको बाटो देखाउँछ । जनतामा फैलिएको असन्तोषलाई केवल आलोचनामा सीमित नराखी, त्यसलाई रूपान्तरणतर्फ लैजान सक्ने वैचारिक ऊर्जा यसले प्रदान गर्छ ।
त्यसैले यो पुस्तक केवल पढ्ने सामग्री मात्र होइन, एउटा वैचारिक आन्दोलनको प्रारम्भ बिन्दु पनि हो । यसले पाठकलाई निष्क्रिय दर्शक भएर बस्न होइन, सक्रिय नागरिक बन्न प्रेरित गर्छ । यसैकारण हर्कवाद आजको सन्दर्भमा केवल सान्दर्भिक मात्र होइन, आवश्यक पनि प्रतीत हुन्छ ।
निष्कर्ष
समग्रमा हर्कवाद नेपाली समाज र राजनीतिमा परिवर्तनको चाहना बोकेको सशक्त कृति हो । यसले परम्परागत सोचलाई चुनौती दिँदै नयाँ सम्भावनाको ढोका खोलेको छ । श्रमदानमार्फत श्रम संस्कृतिलाई एउटा वादका रूपमा स्थापित गर्दै प्रकृति, संस्कृति र प्रविधिको संयोजनबाट नागरिकको यथार्थ जीवन परिवर्तन गर्नेमा जोड दिएको छ ।
यद्यपि यस कृतिमा केही कमजोरीहरू छन् । तर यसको सन्देश र प्रभावलाई नजरअन्दाज गर्न सकिँदैन । किनभने यो कृति अपूर्ण छ । र, यसलाई पूर्णता दिने दायित्व हामी सबै मानव जातिको हो । यही सामूहिक प्रयासले मात्र यसको सार्थकता स्थापित हुन्छ ।
यो पुस्तक विशेषगरी युवाहरू, सामाजिक अभियन्ताहरू र परिवर्तन चाहने सबैका लागि प्रेरणादायी छ । हर्कवादले देखाएको बाटो सजिलो नहुन सक्छ । तर आवश्यक भने अवश्य छ । त्यसैले बदलिँदो वर्तमान सन्दर्भमा यो पुस्तक सबै पाठकका लागि पठनीय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण