सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुकुमबासी स्थानान्तरण

इचङ्गुनारायणको अपार्टमेन्टमा सुकुमबासी भित्रिने भएपछि छिमेकमा कौतूहल

आइतबार, १३ वैशाख २०८३, २० : १३
आइतबार, १३ वैशाख २०८३

सारांश

  • सरकारले थापाथली, गैह्रीगाँउ र मनोहरास्थित सुकुमबासी बस्ती हटाएर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्क्रिनिङ गरिरहेको छ ।
  • सुकुमबासीलाई नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित इचङ्गु नारायणको अपार्टमेन्टमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
  • करिब १२ वर्षअघि सुकुमबासी व्यवस्थापनका लागि निर्माण गरिएको उक्त अपार्टमेन्ट प्रयोगविहीन अवस्थामा रहेको थियो ।

काठमाडौँ । सरकारले थापाथली, गैह्रीगाँउ र मनोहरास्थित सुकुमबासी बस्तीलाई हटाएको छ ।

शनिवार र आइतबार दुई दिन निरन्तर रुपमा सरकारले काठमाडौं उपत्यकाका विभिन्न नदी आसपास बनेका अव्यवस्थित संरचनामा बिहानैदेखि डोजर चलिरहेको छ । 

सरकारले सुकुमबासी बस्ती अर्थात् अव्यवस्थित संरचना भत्काइदिएसँगै उनीहरू सरकारको सम्पर्कमा पुग्न थालेका छन् । सरकारको सम्पर्कमा पुगेका सुकुमबासीहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा होल्डिङ सेन्टर बनाएर सुकुमाबासीको स्क्रिनिङ गरिरहेको छ । 

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी आसपास बनेका अव्यवस्थित संरचनामा भत्काएसँगै हालसम्म २ सय बढी परिवार घरबारविहीन भएका छन् । दशरथ रंगशालामा रहेको होल्डिङ सेन्टर उनीहरूको नाम टिप्ने काम भइरहेको छ । 

nagarjun (3)

सरकारले स्क्रिनिङ गरेर उनीहरूलाई व्यवस्थित गर्ने तयारी थालेको छ । बस्तीमा डोजर चलाएसँगै घरबारविहीन बनेका वास्तविक सुकुमबासीलाई सरकारले नार्गाजुन नगरपालिका वडा नम्बर १ स्थित इचङ्गु नारायणको अपार्टमेन्टमा व्यवस्थापन गर्ने तयारी गरेको छ । 

सरकारले वास्तविक सुकुमबासी परिवारलाई दुई साताभित्र नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार पहिचान प्रक्रिया पूरा भएपछि उनीहरूलाई स्थायी व्यवस्थापनका लागि त्यहाँ राखिने बताएका छन् । हाल विस्थापित परिवारहरूलाई अस्थायी रूपमा दशरथ रंगशालामा राखेर विवरण संकलन गरिँदैछ भने आवश्यक परे होटलमा समेत व्यवस्थापन गरिनेछ ।

करिब १२ वर्षअघि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सुकुमबासी व्यवस्थापनको लागि निर्माण गरिएको थियो, तर सुकुमबासी व्यवस्थापन गर्न नसक्दा उक्त भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा थियो ।

sukumbasi-thapathali

यहाँ १३५ परिवार व्यवस्थापन गर्न मिल्ने तीन वटा भवन छन्, तर अहिले एउटा भवनमा मानवसेवा आश्रम र अर्को भवनमा नार्गाजुन नगरपालिकाको वडा नम्बर १ वडा कार्यालय,सामुदायिक प्रहरी र सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छ । सरकारले भवनलाई बसोबासयोग्य बनाउन मर्मतसम्भार र सरसफाइको कामलाई तीव्रता दिइरहेको छ ।

सहरी विकास मन्त्रालय अन्तरर्गतको सहरी विकास तथा भवन निर्माण विभागमार्फत अहिले काम भइरहेको छ । विभागले इन्जिनियरहरू समेत खटाएर अहिले झ्यालढोका मर्मतदेखि रंगरोगन, खानेपानी व्यवस्थापन साता दिनभित्र सक्ने गरी काम गरिरहेको छ । 

nagarjun (4)

भवन मर्मतमा खटिएका एक इन्जिनियरका अनुसार अहिलेसम्म भवनभित्र कोठामा झ्याल ढोका मर्मतको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्रयोगमा नआएकाले धेरै सामान बिग्रिएकाले अहिले चेकजाँच गरिरहेको उनले जानकारी दिए ।

एउटा ब्लकमा ४५ कोठा, प्रत्येकमा एटेज बाथरुम 

सुकुमबासी ल्याएर राख्ने भवनमा ४५ कोठा छन् । उक्त भवनमा तत्कालका लागि ४५ परिवारलाई व्यवस्थापन गर्न सक्ने अवस्था छ । पाँचतले भवनमा भुइँदेखि पाँचौँ तलासम्म प्रत्येकमा ९ वटा कोठा छन् भने सबै एउटै साइजका रहेका छन् । ४५ वटै कोठालाई भित्र तीन भागमा बाँडिएको छ, जसमा एउटै कोठाभित्रै किचेन, ट्वाइलेट र सुत्ने कोठाको व्यवस्था छ ।

पाँच जनासम्मको परिवारलाई सहज हुने देखिए पनि पाँच जनाभन्दा बढी परिवार भएकाहरूको लागि असहज हुने अवस्था देखिन्छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र नागार्जुन नगरपालिकाका उपमेयरसहितको टोलीले उक्त भवनको अवलोकन गरेका छन् । जस क्रममा उनीहरूले कोठा साना देखिएको बताएका छन् । यद्यपि उपप्रमुख डंगोलले अहिले सुकुमबासीहरूलाई अस्थायी रूपमा व्यवस्थापन हुने देखिएको बताएकी छन् । 

nagarjun (6)

उनले अवलोकनका क्रममा भनिन्, ‘भवनमा बस्न योग्य बनाउन आवश्यक छ । त्यो कामलाई हामीले तीव्रता दिएका छौं । खानेपानी,बत्तीको व्यवस्थापन गरी रंगरोगन सकिएपछि पहिचान भएका सुकुमबासीलाई राखिन्छ ।’ 

नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशीला अधिकारीले सरकारले गरेको निर्णयलाई कार्यान्वयनका लागि आवश्यक पहल नगरपालिकाले गरिरहेको बताइन् । भवन अवलोकन गर्दै भवनमा आवश्यक खानेपानी र बत्ती व्यवस्थापनलगायत काम आवश्यक रहेको उनले बताइन् । ‘भवनको भुइँतलाको तीन वटा कोठामा नगरपालिकाले योगा गराउँदै आएको भए पनि अहिले हटाएका छौँ । नगरपालिकाले कोभिडका बेला आइसोलेसन सञ्चालन गरेको थियो, बाँकी आवश्यक सहयोग पनि नगरपालिकाले गर्छ,’ उनले भनिन् । 

लामो समयदेखि अलपत्र सुकुमबासीका लागि बनाइएको अपार्टमेन्टको रङ्गरोगन गर्ने, झारपात उखेलेर सरसफाइ गर्ने र पानीका ट्यांकीहरू सफा गर्नेलगायत व्यवस्थापकीय कामहरू अघि बढेका छन् ।

nagarjun (2) 

तीन भवन एउटामा मानव सेवा आश्रम, अर्कोमा वडा कार्यालय 

नागार्जुन नगरपालिका एकमा निर्माण गरिएको तीन भवनमध्ये एक मात्रै खाली छ, जसमा पूर्ण प्रयोगमा नआएर जीर्ण बन्दै गरेको सुविधासम्पन्न अपार्टमेन्टका एउटा ब्लकमा भने नगरपालिकाको वडा नं १ को कार्यालय र अस्थायी पोस्ट छ । 

एउटा ब्लक भने मानव सेवा आश्रमले केही समयदेखि प्रयोग गरिरहेको छ । बिचको खाली भवनमा अहिले सुकुमबासी राख्ने तयारी गरिएको छ, तर सरकारले नगरपालिकाको वडा कार्यालय हटाउन भने तयार रहेको कार्यवाहक नगरप्रमुख अधिकारीले बताइन् । उनले सुकुमबासीको लागि व्यवस्था गरिएका तीन भवन चलाउन खाली गर्न भने नगरपालिकाले तत्काल हटाउने बताइन् । उनले भनिन्, ‘सरकारको निर्णयलाई सहयोग गर्ने तयारी रहेकाले नगरपालिकाले वडा कार्यालय र सहरी स्वास्थ्य केन्द्र हटाउँछ । तर अहिलेसम्म सरकारले हटाउन भनेको छैन । हटाउन आवश्यक भए हटाउँछौँ ।’

तयारी भयो, तर बाटो र खानेपानी मुख्य चुनौती 

भवनलाई चिटिक्क पारेर सुकुमबासी राख्ने तयारी भइरहे पनि त्यहाँको आधारभूत पूर्वाधारको अवस्था भने निकै कमजोर रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका कार्यवाहक प्रमुख अधिकारीले यस ठाउँमा मुख्य समस्या खानेपानी रहेकाको बताइन्, तर आवश्यक व्यवस्थापन भने गरिने उनको भनाइ थियो । 

sukumbaaasi

४५ परिवारका लागि खानेपानीको लागि ८०० लिटरको मात्रै ट्यांकी व्यवस्था गरिएको छ । तर अपुग हुने भएकाले अन्य ट्यांकी व्यवस्थापन समेत सरकारले गरिरहेको छ । खानेपानी मात्रै समस्या नभएर ढलको समेत यहाँ समस्या देखिएको छ । उक्त समस्या समाधानको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने कार्यवाहक प्रमुख अधिकारीले बताइन् । 

इचङ्गु नारायण आवास योजना उपभोक्ता समितिका अध्यक्ष भरत रेग्मीले ९०० भन्दा बढी घरधुरी रहेको उक्त क्षेत्रमा खानेपानी र सडक पहुँचको अभाव रहेको बताए । ‘खानेपानीका लागि करिब १० करोडको टेन्डर त भएको छ तर जनसंख्या बढेकाले त्यो स्रोतले मात्र धान्ने अवस्था छैन । अहिले पनि हप्तामा एक–दुई पटक मात्र पानी आउँछ,’ रेग्मीले भने । 

तर लामो समयदेखि प्रयोगविहीन यस भवन मर्मतसम्भार नहुँदा 'भूत बंगला' जस्तो बनेको स्थानीयले बताएका छन् । मर्मत नै नगरी मानिसहरू ल्याएर राख्दा त्यहाँ बस्नेहरूमा नै वितृष्णा पैदा हुने र यसले थप समस्या निम्त्याउने उनीहरूको तर्क छ।

स्थानीयमा कौतूहल

यस अपान्टमेन्टमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा २०६९ सालमा १२ करोड रुपैयाँ खर्चिएर बनाइएको हो । करोडौँ खर्च गरेर बनाएको अपार्टमेन्टमा बागमती, विष्णुमती र मनहरा किनारका सुकुमबासी राख्ने योजना बनाइए पनि स्थानीय जान मानेका थिएनन् । उनीहरूले उक्त अपार्टमेन्टमा असुरक्षा बढ्ने भन्दै विरोध जनाएका थिए । 

nagarjun (1)

अपार्टमेन्ट आसपासका स्थानीयलाई भने सुकुमबासी आएपछि केही अफ्ठ्यारो महसुस गरेका छन् । बिच बस्तीमा यसरी धेरैको संख्यामा मानिसहरू ल्याएर राखिएपछि उनीहरूमा कौतुहल बढेको हो । 

विगतमा यस अपार्टमेन्टमा सुकुमबासी ल्याउने खबर सुनेर विरोध जनाएका यहाँका स्थानीय यो पटक भने चुपचाप छन्, तर उनीहरूको मनमा त्रास छ । इचङ्गु नारायण आवास योजना उपभोक्ता समितिका अध्यक्ष भरत रेग्मी तत्काल सरकारविरुद्ध बोल्न आन्दोलन गर्ने अवस्था नभएको बताउँछन् । 'भूतबंगलामा आएका सुकुमबासीहरू समुदायबिच कसरी बस्छन् डर छ, अहिलेसम्म विनात्रास बसेका स्थानीयमा भित्रीडर देखिएको छ,' उनले चिन्ता व्यक्त गरे । तर सरकारको निर्णयलाई स्वागत गर्दै मान्नुको विकल्प नरहेको उनले बताए । खानेपानी र पूर्वाधारको समस्या पनि रहेको बताउँदै उनले ठुलो संख्यामा परिवार आउँदा थप समस्या हुने बताए । 

यस्तै स्थानीय बाबुराम छटुकुलीले पनि सरकारविरुद्धमा जान सक्ने अवस्था नरहेको बताए । तर सबै स्थानीयमा सुकुमबासीले कस्तो व्यवहार गर्छन् भन्ने डर रहेको बताए । ‘विगतमा सुकुमबासी राख्ने निर्णयविरुद्ध आन्दोलन भएको थियो । तर अहिले आन्दोलन गर्ने अवस्था छैन । हामी सबैलाई स्वागत गर्न चाहन्छौँ । तर सरकारले यो क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउने प्रतिवद्धता जनाउनुपर्छ,’ उनले भने । 

त्यस्तै अर्का स्थानीय कमला पाण्डेले पनि सुकुमबासी समाजमा आउने खबरले आफूलाई कौतूहल बनाएको बताइन् । सरकारले सुकुमबासी समस्या समाधान गर्नु राम्रो भए पनि आफ्नो क्षेत्र भएकाले केही त्रासमा रहेको गुनासो गरिन् । भनिन्, ‘हामीले सरकारको निर्णयलाई स्वागत गर्नुको विकल्प छैन । तर सरकारले व्यवस्थापन गर्न यो क्षेत्रको शान्ति सुरक्षा र व्यवस्थित बनाउने काम गर्नुपर्छ । बोल्ने सकेका कोही छैनन् । तर धेरैमा त्रास छ । त्यो वातावरण बन्न दिनुहुँदैन ।’ 

child

त्यस्तै स्थानीय दिनेश पोखरेलले पनि एकैपटक ठुलो संख्यामा सुकुमबासीहरू ल्याएर राख्दा यहाँका मानिसहरूमा त्रास उत्पन्न भएको बताए । बाहिरबाट आउनेहरूको समूह (युनिटी) बलियो हुने र आफूहरूमाथि आक्रमण वा दुर्व्यवहार हुन सक्ने डर स्थानीयमा रहेको उनको भनाइ थियो । ‘अहिले यहाँ मुर्दा शान्तिजस्तो अवस्था छ। मानिसहरू भित्रभित्रै मुर्मुरिएर बसेका छन् तर बाहिर बोल्न सकिरहेका छैनन्,' उनले भने, ‘उनीहरूले तरकारी काट्ने, के–के गर्ने जस्ता डरलाग्दा कुरा गर्छन्, जसले गर्दा हामीलाई असुरक्षित महसुस भएको छ ।’

तर यता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नदी किनारमा बस्दै आएका सुकुमबासीहरूलाई तत्काल इचङ्गुनारायणमा निर्माण गरिएको अपार्टमेन्टमा सार्नुपर्ने बताएका छन् । सरकारी लगानीमा बनेको भवनमा सुकुमबासीलाई सार्न नदिनुमा जग्गा माफिया र स्थानीय राजनीतिक दलको भोट बैंकको स्वार्थ जोडिएको उनको दाबी छ । आफ्नो नेतृत्वको सरकारको पालामा सुरु भएर पछि निर्माण सम्पन्न भएको उक्त अपार्टमेन्ट प्रयोगविहीन हुनुमा स्थानीयस्तरमा खडा गरिएको गलत भाष्य जिम्मेवार रहेको भट्टराईको तर्क छ । सुकुमबासी बस्ती आएपछि आफ्नो जग्गाको भाउ घट्छ भन्ने डरले माफियाहरूले स्थानीयलाई उचालेको उनले उनले आरोप लगाए । 

‘सुकुमबासी भनेका चोर–फटाहा हुन्, यिनीहरूलाई यहाँ ल्याउनुहुँदैन भन्ने भाष्य खडा गरियो, ‘भट्टराईले भने, ‘राजनीतिक दलका स्थानीय नेताहरूले भोट बैंकको स्वार्थका लागि त्यसलाई साथ दिए र सुकुमबासीलाई अलपत्र पार्ने काम गरे, यो बिलकुल गलत छ।’ 

गरिब र बालबालिकाहरूलाई नदी किनारको फोहोर र असुरक्षित वातावरणमा अमानवीय ढंगले राख्न नहुनेमा उनले जोड दिएका छन्। इचङ्गुनारायणमा करिब ३०० परिवार अटाउने भवन बनिसकेको उल्लेख गर्दै भट्टराईले उनीहरूलाई तत्काल त्यहाँ व्यवस्थापन गर्न र बाँकी रहेकालाई अन्यत्र त्यस्तै विकल्प दिएर सार्न आवश्यक रहेको बताए । 

रोजगारीको चिन्ता 

मर्मतसम्भार गरेर राख्न खोजिए पनि यहाँका अपार्टमेन्टका फ्ल्याटहरू निकै साना (३–४ जनाको परिवार मुस्किलले अटाउने) खालका छन् । साथै सहरको केन्द्रबाट पर रहेको उक्त स्थानमा सुकुमबासीहरूलाई ल्याएर राख्दा उनीहरूको रोजगारी र दैनिक गुजाराको विकल्प के हुने भन्ने विषयले पनि अन्योल सिर्जना गरेको छ । 

nagarjun (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप