मनोहरा सुकुमबासी बस्ती, जहाँ दिउँसै पनि त्रासमा हिँड्नुपर्थ्यो
सारांश
- मनोहरा सुकुमबासी बस्तीमा प्रहरी र सञ्चारकर्मीमाथि आक्रमण हुँदा २२ सुरक्षाकर्मी घाइते भएका छन्।
- स्थानीय बासिन्दाका अनुसार उक्त बस्तीमा दिउँसै खुकुरी हानाहान, लागूऔषध कारोबार र महिलाहरूको समेत प्रयोग हुने गरेको छ।
- अतिक्रमित संरचना भत्काउने क्रममा सुकुमबासीहरूले प्रतिकार गर्ने प्रयास गरे पनि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भएपछि उनीहरू पछि हटेका थिए।
काठमाडौँ । मनोहरा सुकुमबासी बस्ती यस्तो ठाउँ हो, जहाँको कथा सुन्दा पनि आङ सिरिङ्ग हुन्छ । शनिबार साँझ यो बस्तीमा पुगेका प्रहरी टोली र सञ्चारकर्मीमाथि आक्रमण भयो । सातवटा पक्की घर डोजरले भत्काइसक्दा २२ जना सुरक्षाकर्मी घाइते भए । सुरक्षाकर्मीमाथि डुंगा, बोतल र इट्टा प्रहार भयो ।
मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ प्रहरी र सशस्त्र प्रहरी बल नम्बर २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना घाइते भए । थप अप्रिय घटना नहोस् भनेर शनिबार धेरैबेर डोजर चलेन ।
आइतबार बिहानै मनोहराको सुकुमबासी बस्तीमा सुरूमै सुरक्षाकर्मी बस्तीमा छिर्ने आँट गरेनन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी गरेर दुई हजारको संख्या तैनाथ भएपछि बल्ल बस्तीमा प्रवेश गरे । मनोहराका स्थानीय बासिन्दाले सुकुमबासी बस्तीका हुने गतिविधिबारे बेलिबिस्तार लगाए । सुकुमबासी बस्तीका अप्रिय घटना देखेर आजित भएका उनले सुनाए, ‘यहाँ दिउँसै खुकुरी हानाहान हुन्छ, ड्रग्स खानेहरु मात्र होइनन्, कारोबार नै चल्छ, ट्याब खानेमा पुरुष मात्र होइनन् महिला पनि छन् । ट्याब कारोबारको लागि त अखडा नै बनेको छ ।‘ ती स्थानीयको अनुभव भिडियोमा कैद गर्न खोज्दा उनी डरले पन्छिए । त्यसपछि बोल्नै मानेनन् ।
रातोपाटीको टिम डराइडराई मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीभित्र पस्यो । थापाथली बस्तीमा जस्तो यहाँ टहरा थिएनन् पक्की घरहरु थिए । बाक्लो बस्ती थियो । कहिल्यै नहिँडेको यो बाटो र बस्ती त्रासैत्रासमा हिंडियो । घरबाट धमाधम सामानहरु बाहिर ओसार्दै थिए । प्रहरी र मिडियाकर्मीसँग चर्को असन्तुष्टि पोखिरहेका सुकुमबासीसँग बोल्ने आँट पनि आएन । बस्तीमा बाहिरको नयाँ मानिस देख्यो कि कान ठाडाठाडा पारेर हेरिहाल्थे ।
_H5uQY2R00r.jpg)
जडिबुटीबाट हिँडेर सुकुमबासी बस्तीको अन्तिमसम्मै पुगेपछि लोकन्थलीका एक स्थानीय युवा भेटिए । मनोहरा खोलालाई मिचेर बसाइएको सुकुमबासी बस्तीका उनी प्रत्यक्षदर्शी रहेछन् । नजिकै घर भएपनि यो बाटो कहिल्यै नहिँडेका उनी पहिलो पटक त्यहाँ पुगेका थिए । यहाँ अनधिकृत रुपमा घर मात्र बसाइएका थिएनन्, अवैध रुपमा लामो बालुवा निकासी पनि भइरहेको थियो ।
मनोहरा खोलाको दुवै किनारमा अनधिकृत रुपमा पक्की घरहरु ठड्याइएका छन् । खोलाको अर्को किनारमा पस्दा कवाडीवालाहरुलाई भ्याइनभ्याई देखिन्थ्यो । सुकुमबासीका जस्तापाता, भाँडाकुँडा, कापी, किताब लगायत सामानहरु कवाडीवालाहरुले खरिद गरेर लैजाँदै थिए ।
घरभित्रबाट चौरमा सारिएका सामानहरु सिससिम पानीले भिजाउन थाल्यो । कतिले त्रिपाल ओढाएर सामान जोगाउन थाले । डराइडराई रातोपाटीको फेसबुकमा लाइभ गरियो । केही सुकुमबासीसँग कुरा गर्न खोज्दा निकै झर्किएर बोल्थे । वर्षौंदेखि बस्दै आएको घर छोडेर जानु पर्दा आक्रोश, रिस र आवेग एकै पटक पोखिरहेका थिए । मोबाइल र क्यामेरा देख्यो कि उल्टै कुटौंला झैं गर्थे । डोजर चल्नुअघि मनोहराको सुकुमबासी बस्तीमा एक फन्को लगाउँदा यहाँका सुकुमबासीको मनोदशा प्रष्ट झल्किन्थ्यो । उनीहरु सहजै यहाँबाट सर्न मानिरहेका थिएनन् । बरु प्रतिकारमा उत्रिने मुडमा देखिन्थे । ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ भएपछि उनीहरु सिधै मुठभेडमा उत्रिन चाहेनन् ।
मनोहरा सुकुमबासी बस्तीमा के मात्र देखिएन ? यहाँ चर्च देखियो, गुम्बा देखियो, स्कुल देखियो, अग्ला–अग्ला पक्की घरहरु देखिए । खोलालाई अन्यत्रै सारेर जग्गा हडप्ने, बेच्ने, बिक्री गर्नेहरुको ठुलै गिरोह फेला पर्यो । त्यही जग्गामा कतिले घर बनाउँदै किनबेच गरे, कतिले विदेशमा पसिना बगाएर दुःखले कमाएको पैसाले चार तले घर किने । यहाँ बेग्लै साम्राज्य चलिरहेको थियो । जहाँ सामान्य मानिसहरु पस्नै सक्दैनथे । सानोतिनो प्रयास र आदेशले छुँदैनथ्यो । जसलाई एकै पटक शक्तिशाली बालेन शाहको डोजरले छिनभरमै भत्काइदियो ।
त्यही रिस ‘हुने खाने र शक्तिशाली सुकुमबासी’ले मिडियाकर्मीसामु पोखे । हरेक पटक उनीहरु रिस पोख्थे, ‘भिडियो किन खिचेको ? कसलाई देखाउन ?’ उनीहरुको गाली सुनिनसक्नु थियो । प्रहरी र मिडियाकर्मीको सानो समूह भएको भएको भए सायद उनीहरु भौतिक आक्रमणमै उत्रिन्थे ।
त्यसो त मनोहराको सुकुमबासी बस्तीमा कारुणिक तस्विरहरु पनि देखिए । जब डोजरले पक्की घर भत्काउन थाल्यो, मानिसहरु निस्केर गए पनि कुकुरले घर छोडेनन् । एकोहोरो भुकिरहेका कुकुरले घर छोड्न नचाहेको भाव झल्किन्थ्यो । घर नजिकै डोजर आइसक्दा एक सुकुमबासी आफ्नो भन्दा आफूले पालेका गाईहरुको बढी माया र चिन्ता लागेको सुनाउँदै थिए । भर्खर ब्याएको गाईको बच्चालाई बाहिर सारेका उनले गाईलाई छोड्नै मानेका थिएनन् । आमा गुमाएका उनी गाईलाई नै आमा जसरी स्याहारेको बताउँदै थिए । २२ वर्षदेखि यहाँ बस्दै आएका गोरखाको सिरानचौर गाउँपालिकाका उनले कोठा खोज्दा पनि पाइरहेका थिएनन् ।
_z6nFiEXEz0.jpg)
कुराकानी भएको केहीबेरमै उनको घरमा डोजर चल्यो । उनले गाईलाई डोर्याउँदै थिए । ‘अब रोडकै बास हुने भयो,’ मलिन स्वरमा उनले भने । एकैछिनमा उनको घरको नामोनिसान मेटियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
-
सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
-
सडक दुर्घटना र पहिरोको जोखिम घटाउन सरकारको नयाँ नीति
-
बाढी र पहिरोका कारण प्रभावित छन् यी राजमार्ग
-
सहिद लखनसँग जोडिएका पालिकाले गरे २३ बुँदे समझदारी, विकास र सेवा प्रवाहमा साझा एजेन्डा बनाउने
-
‘गौँथली’को ‘आँखाभरि आँसु’मा बेहुला बेहुली अवतारमा अरुण र सिमरन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण