‘जेनजी आन्दोलनले ल्याएको परिवर्तन आत्मसात् नगर्दा जिरोमा झरेका हौँ’
सारांश
- जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्ला फागुन २१ गतेको चुनावमा पराजित भए, जसका कारण मधेसवादी दलहरू नै जिरोमा पुगे ।
- शुक्लाका अनुसार, समाजले परिवर्तन खोजे पनि दलहरूले त्यो परिवर्तनलाई अँगाल्न नसक्दा र पुरानै नीति तथा नेतृत्वलाई निरन्तरता दिँदा कमजोर भएका हुन् ।
- उनले मधेसी दलहरूले जेनजी आन्दोलनले दिएको सन्देश बुझ्न नसकेको र भावनामा बगेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएको मधेसी अनुहारको लहरले असर गरेको बताए ।
काठमाडौँ । रुपन्देही–४ बाट यसअघि पटक–पटक चुनाव जितेका जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेता सर्वेन्द्रनाथ शुक्ला फागुन २१ गतेको चुनावमा पराजित भए, ३ हजार ४१० मत ल्याएर चौथो स्थानमा थन्किए ।
उनले मात्र शर्मनाक हार भोगेनन्, मधेसवादी दलहरू नै जिरोमा पुगे । तराई–मधेसका अधिकांश नेताको हालत उनकै जस्तो छ ।
२०४८ देखि हरेक चुनावमा मधेसवादी दलका कुनै न कुनै नेताले चुनाव जित्थे, तर यसपटक सबै पराजित भए । यस्तो अवस्था आउनुको कारण के हो ? दोषी को हो ? कहाँ भयो त्रुटि ? यी र यस्तै विषयमा हामीले जसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लासँग कुराकानी गरेका छौँ ।
- फागुन २१ गतेको चुनावमा तराई–मधेस केन्द्रित दलहरू पूरै जिरोमा झर्यो, यसको मुख्य कारण के हो ?
हेर्नुहोस्, यो समाजले परिवर्तन खोजेको थियो । विचारमा परिवर्तन, नेतृत्वमा परिवर्तन र समग्रमा परिवर्तन खोजेको थियो । तर हामीले त्यो परिवर्तनलाई अँगाल्न सकेनौँ । हामी त्यो हिसाबले प्रस्तुत हुन सकेनौँ । हामीसँग नीति पनि पुरानै रह्यो, हामीसँग नेतृत्व पनि पुरानै रह्यो ।
त्यही कारण हामी कमजोर भयौँ । त्यसैले अब यसबाट हामीले पाठ सिकेर जेनजी आन्दोलनले जुन मेसेज दिएको थियो, त्यो कुरा बुझेर अगाडि बढ्नुपर्छ । जेनजी आन्दोलन जेनजीहरूका लागि मात्रै होइन, त्यो मेसेज सबैका लागि थियो । तर हामीले त्यो बुझ्न सकेनौँ । दोस्रो एउटा महत्त्वपूर्ण कारण के थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट जुन प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरिएको थियो, त्यो एउटा मधेसी अनुहारलाई अगाडि सारिएको थियो ।
जेनजी आन्दोलनले जुन मेसेज दिएको थियो, त्यो कुरा बुझेर अगाडि बढ्नुपर्छ । जेनजी आन्दोलन जेनजीहरूका लागि मात्रै होइन, त्यो मेसेज सबैका लागि थियो । तर हामीले त्यो बुझ्न सकेनौँ ।
मधेस भावनामा नै सम्भावना खोज्छ, यो धेरै पुरानो कुरा हो र पुरानो बानी पनि हो । भावनामा बगेर उसले यसैमा प्रबल सम्भावनाहरू खोज्छ र त्यो मधेसी अनुहारको जुन लहर चल्यो, त्यसले अरू मधेसी नेताका कामहरू, मधेसी नेताको अनुहार, अरू मधेसी पार्टीका कामसम्मलाई मान्छेहरूले भावनामा बगेर छोडिदिए, याद गरेनन् ।
तर अहिले गाह्रो पर्दा मधेसी दललाई सम्झिन थालेका छन् । त्यसैले त्यो एउटा जुन परिस्थिति आयो, हामीले विगतमा पनि भोग्दै आएका छौँ । तर यसपालि त्यसले गहिरो असर गर्यो । मधेसी उम्मेदवारलाई प्रधानमन्त्री बनाएर मधेसीलाई इमोसनल ब्ल्याकमेल गर्ने काम भयो । अब मधेसी प्रधानमन्त्री भयो भने समग्र मधेसीलाई त्यसले उपलब्धिमूलक हुन्छ । अथवा अरू केही नभए पनि मधेसी एउटा प्रधानमन्त्री भयो भन्ने एउटा इतिहास बन्छ । अरू कुरा के हुन्छ, के हुँदैन, त्यो भविष्यमा हेर्न बाँकी छ । यही कुरा बुझेर नै मधेसी जनताले रास्वपालाई मत हालेका हुन् ।
- जेनजी आन्दोलनपछि ६ महिनाको समय बाँकी थियो त, त्यस अवधिमा तपाईंहरूले परिवर्तनलाई किन आत्मसात् गर्न सक्नुभएन ?
त्यही त, मैले अघि पनि भनेँ नि, यो त नेतृत्वले गर्नुपर्ने कुरा हो । हामीले त पार्टीका बैठकहरूमा आवाज उठाउने हो । हामीले आवाज उठाएको पनि हो । एक त ६ महिना, ५ महिनामा नेतृत्व र संगठनलाई व्यापक परिवर्तन गर्न सकिँदैन ।
एउटा संगठनलाई परिवर्तनअनुरूप बदल्न त्यो समय पर्याप्त थिएन । त्यो जेनजी आन्दोलनपछिको जुन समय थियो, त्यो साह्रै छोटो थियो । नेतृत्व र संगठन परिवर्तन गर्नलाई त तलदेखि माथिसम्म सबै परिवर्तन गर्नुपर्छ, तर कम्तीमा हामीले केही नयाँ अनुहार, जसलाई समाजले विश्वास गर्न सक्थ्यो, मधेसको केही नयाँ अनुहारलाई हामीले अगाडि सार्नुपथ्र्यो । त्यसमा हामी चुक्यौँ, विभिन्न कारणले चुक्यौँ । भर्खरै एकता पनि गरेका थियौँ ।
_DHDtPSX9sl.jpg)
पार्टी एकता गरे पनि हामीले आफ्नो विगतको पार्टीलाई कसरी जोगाउने भन्नेतर्फ धेरै ध्यान दियौँ । तर नयाँ नेतृत्वलाई बढीभन्दा बढी मौका दिने, जनताको विश्वास जित्ने भन्ने कुरालाई हामीले प्राथमिकतामा राख्न सकेनौँ, यो हाम्रो त्रुटि थियो । यसको आत्मसमीक्षा हामीले गर्नुपर्छ ।
मैले व्यक्तिगत रूपमा आत्मसमीक्षा गरेको छु । हामीबाट त्रुटि भएकै हो । तर नेतृत्वले पनि त्यो हिसाबले आत्मसमीक्षा गर्नुपर्छ । स्थानीय निर्वाचन र प्रदेश निर्वाचन छ, एक वर्षभित्रै हुन गइरहेको छ । त्यो अवधिमा हामीले यी परिवर्तनहरूलाई आत्मसात् गर्दै हामी सुध्रेर जानुपर्छ ।
बितेको घडी उल्टो फर्केर आउँदैन, तर आउने समयका लागि हामी आफूमा सुधार गरेर जानुपर्छ । जति मधेसवादी पुराना नेताहरू हुनुहुन्छ, उहाँहरू संरक्षकको भूमिकामा बस्नुपर्छ र नयाँ पुस्तालाई स्थान दिनुपर्छ ।
भारतजस्तो देशमा भाजपामा नयाँ नेता आएर चुनाव हुन्छ र पुराना नेताहरू संरक्षक र सुपरीवेक्षकको भूमिकामा भएर काम गर्छन् । हामीले किन गर्न सक्दैनौँ? नयाँ मान्छे आएर केही गर्न सक्दैन भन्ने भावनाबाट हामी मुक्त हुनुपर्छ । नेतृत्व गर्न नयाँ मान्छे भेटाउँदैनौँ भने एउटा नयाँ समूह बनाऔँ, त्यो समूहलाई काम गर्न दिऔँ, कसले कति काम गर्छन्, त्यसको आधारमा मूल्याङ्कन गरेर नेतृत्व दिऔँ । त्यो नगरीकन अब गुञ्जायस छैन ।
- भन्नाले तपाईंहरूको पार्टीकै आन्तरिक कमजोरीका कारण पार्टी जिरोमा झर्यो त?
पार्टीको आन्तरिक कमजोरी पनि एउटा कारण हो, तर सबभन्दा बढी असर परिवर्तनको लहरले गर्यो । जेनजी आन्दोलनबाट आएको परिवर्तनलाई हामीले स्वीकार गर्न सकेनौँ, त्यसमा हामी रूपान्तरित हुन सकेनौँ । त्यसका जुन गलत पक्ष छन्, त्यसलाई मात्र लिएर हामी हिँड्यौँ । त्यसको सकारात्मक पक्षलाई हामीले अँगाल्न सकेनौँ । त्योचाहिँ हाम्रो कमजोरी थियो, समयअनुसार परिवर्तन हुनुपथ्र्यो, तर भएन । त्यो कमजोरीलाई संस्थागत रूपमा स्वीकार गरेर अगाडि बढ्नुपर्छ । पुराना नेताहरू सबै संरक्षकको भूमिकामा जानुपर्छ, सक्रिय कार्यकारी भूमिकामा नयाँ नेतृत्वलाई समूह बनाएर दिनुपर्छ ।
- तपाईंले भनेअनुसार अहिलेका नेताहरूले आफ्नो पद छाड्छन् र ? तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?
अर्को उपाय नै छैन । उहाँहरू छोड्नुहुन्न भने हामी झन्झन् विलिन भएर जान्छौँ । उहाँहरूले ठाउँ छोडेर अरूलाई हस्तान्तरण गर्नुको विकल्प नै छैन । अब जनताले नै उहाँहरूलाई स्वीकार गर्दैन । अब पनि छोड्नुहुन्न भन्ने त्यसको परिणाम उहाँहरूले मात्रै भोग्नुहुन्न, समग्र पार्टी र मधेसले नै भोग्छ, तर मधेसको मुद्दा मर्दैन । मधेसको मुद्दा संसद्बाट नै स्थापित भइसकेको छ ।
दुईतिहाइ बहुमत प्राप्त गर्न नसकेर प्राविधिक रूपमा चाहेको कुरा पूरा गराउन सकेनौँ, त्यो बेग्लै कुरा हो, तर मधेसको मुद्दा अब स्थापित भइसकेको छ । त्यो मुद्दालाई स्वीकार गर्दै परिवर्तित सन्दर्भमा के कस्तो नीति, कस्तो नेतृत्व हुनुपर्छ, त्यसमा जानुपर्छ र युवा नेतृत्वलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ ।
- लोसपा र जसपा नेपालबिच एकताको अझै टुंगो लागेको छैन, अनि अब तपाईंले भनेजस्तो सबै पुराना नेताहरू संरक्षक भएर बस्छन् जस्तो लाग्छ तपाईंलाई ?
अब लोसपा र जसपा नेपालको एकताको कुरा धेरै पुरानो भइसक्यो । त्यसलाई मैले अहिले चाहेर पनि परिवर्तन गर्न सक्दिनँ । पृथ्वीनारायण शाहको जमानाको इतिहासलाई परिवर्तन गर्न सकिँदैन । त्यसरी नै, जसपा नेपाल र लोसपा नेपालबिच एकता भइसक्यो, अब त्यसलाई कसैले परिवर्तन गर्न सक्दैन । तर अब एकता गरेर मात्र हुँदैन, त्यसलाई बृहत् रूप दिनुपर्छ ।
अब लोसपा र जसपा नेपालको एकताको कुरा धेरै पुरानो भइसक्यो । त्यसलाई मैले अहिले चाहेर पनि परिवर्तन गर्न सक्दिनँ । पृथ्वीनारायण शाहको जमानाको इतिहासलाई परिवर्तन गर्न सकिँदैन । त्यसरी नै, जसपा नेपाल र लोसपा नेपालबिच एकता भइसक्यो, अब त्यसलाई कसैले परिवर्तन गर्न सक्दैन । तर अब एकता गरेर मात्र हुँदैन, त्यसलाई बृहत् रूप दिनुपर्छ ।
तराई–मधेसमा रहेका अन्य शक्तिहरूलाई पनि एकीकृत गर्नुपर्छ । एउटा बृहत् शक्ति बनाउनुपर्छ । मैले भनेँ नि पुराना नेतृत्व जति छन्, म बस्छु, अरूले छोडून् भन्ने जुन भावना छ, त्यो त्याग्नुपर्छ । सबै पुराना नेताले ठाउँ छाडेर युवापुस्ताको नेतृत्वमा नयाँ संगठन बनाउनुपर्छ ।
एक वर्षको समय छ, त्यसमा काम गरौँ, नयाँ नेतृत्व स्थापित गरौँ, हामीले संरक्षकको भूमिका खेलौँ, सुपरीवेक्षकको भूमिका खेलौँ, हामीले त्यसलाई मद्दत गरौँ, सहयोग गरौँ । तर हामी आफ्नै हातमा लगाम लिने गल्ती नगरौँ । अब यही एक मात्र उपाय छ, पार्टीलाई बचाउन ।
- विगतमा पनि दलहरूबिच एकता भएकै हो, अब फेरि त्यस्तै एकता गरेर कसरी टिक्ला र ?
पार्टी एकता भएको थियो, तर धेरै दिन टिकेन । त्यसका विभिन्न कारणहरू छन् । त्यतिबेला भएको गल्तीबाट पाठ सिकेर अबको एकता गर्नुपर्छ । अहिले धेरै कुरा परिवर्तन भइसकेको छ । समाज पनि चेतनशील भइसक्यो । जनताको बुझाइ पनि फरक भइसक्यो । अब त्यसलाई बुझेर एकतालाई अगाडि बढाउनुपर्छ । अब सानासाना पसलहरू बन्द गर्नुपर्छ । कसैले अब म यो सानै पसल चलाएर बस्छु, चले चलोस् नचले नचलोस् भन्ने मानसिकताले अब चल्दैन । त्यो मानसिकता त्याग्नुपर्छ । सबै एक ठाउँमा आऔँ, बसौँ, छलफल गरौँ । एउटा सम्मेलनको आह्वान गरौँ । सबैलाई एक ठाउँ बोलाएर सबैको विचार सुनौँ । नयाँ नेतृत्वबारे सोचौँ, अबको बाटो त्यही हो ।
- यी सबै दलहरूलाई एक ठाउँमा ल्याउने तपाईंको सूत्र के हो?
सबै दललाई एकै ठाउँमा ल्याउने सूत्र मैले भनेँ नि । तराई–मधेसमा जति पनि दलहरू छन्, ती सबै दलको एउटा सम्मेलन आह्वान गरौँ । त्यो सम्मेलनमा सबै दलको कुरा सुनौँ, त्यहाँ एजेन्डा र नेतृत्वबारे छलफल गरौँ । त्यो सम्मेलनले जसलाई नेतृत्व दिन्छ, त्यसलाई स्वीकार गरेर जाऔँ ।
- अन्त्यमा, अहिले सरकार र रास्वपाबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
हेर्नुहोस्, अरू जस्तै हामी पनि एकदम उच्च अपेक्षामा छौँ । यो सरकार बन्न सामाजिक सञ्जालको ठुलो सहयोग छ । सामाजिक सञ्जालको कारणले भारी बहुमत ल्याएको हो, तर सरकार बनेपछि सामाजिक सञ्जाल मात्रै चलाएर हुँदैन । सामाजिक सञ्जालकै आधारमा सरकार चलाउने हो भने धेरै ठुलो दुर्घटना हुन सक्छ, जुन सुधन गुरुङको राजीनामाले प्रस्ट भइसक्यो । एकातिर सरकारलाई सुशासन चाहिएमा सुशासनका लागि स्थिरता पनि चाहिन्छ ।
तर पछिल्लो एक महिनाको अवस्था हेर्दा स्थिरता देखिएको छैन । सामाजिक सञ्जालमा आएको कुरालाई सुझावका रूपमा लिनुपर्छ, तर त्यसकै निर्देशनमा हिँड्नु हुँदैन । सरकारले राम्रो गरोस् भन्ने मानिसहरूको वर्षौंदेखिको आकांक्षा छ । मानिसहरू भ्रष्टाचारले त्रसित थिए । त्यो त्रासलाई हटाउने काम यो सरकारले गरोस् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण