शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

‘हामीले जनतालाई आफ्नो एजेन्डा र कार्यदिशा नै बुझाउन सकेनौँ’

सोमबार, १४ वैशाख २०८३, ११ : ४८
सोमबार, १४ वैशाख २०८३

सारांश

  • रेशम चौधरीले आफ्नो पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालको एजेन्डा र कार्यदिशा जनतालाई बुझाउन नसकेको स्वीकार गरेका छन् ।
  • उनले पार्टीभित्रको आन्तरिक द्वन्द्व र स्वार्थका कारण पनि पराजय भोग्नुपरेको बताएका छन् ।
  • चौधरीले अब नयाँ तरिकाले जनतामाझ जाने र नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ  । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी छाडेर रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । सोही पार्टी लिएर उनी चुनावमा गए । उनको उम्मेदवारी सरकारले रद्द गरिदिए पनि उनी पार्टीलाई जिताउन खटिए ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मिलेर एउटै चिह्नमा चुनावमा भाग लिए, तर यो गठबन्धनले एक सिट पनि जितेन ।

नागरिक उन्मुक्ति पार्टी नेपाल पनि नयाँ पार्टी थियो । जेनजी पुस्ताका कविर सोबको अध्यक्षतामा पार्टी गठन भएको थियो, तर मतदाताले पत्याएनन् । पार्टी किन कमजोर भयो ? निर्वाचनमा कहाँ चुक भयो ? लगायत विषयमा रातोपाटीले उनै चौधरीसँग कुराकानी गरेको छ ।

  • गत फागुन २१ गतेको चुनावमा थरुहट, मधेसलगायत शक्ति सखाप भए । तपाईंहरूबाट कहाँ चुक भयो ?

–यसमा मैले केही न केही मात्रामा दुवै पक्षको भुल भएको देख्छु । जनताको तीव्र आकांक्षा देश एकदम छिटो स्वर्ण युगमा परिवर्तन भइजाओस्, रातारात छुमन्तरजस्तै देश बनिहालोस् भन्ने तीव्र आकांक्षा देखिएको छ भने अर्कोतिर वर्षौँदेखि शासन गर्दै आएका पुराना शक्तिहरूले मुलुक परिवर्तनका लागि भूमिका नखेलेका र दिनप्रतिदिन आफ्ना शक्तिहरू विस्तारित गर्दै सम्पूर्ण क्षेत्रमा हस्तक्षेप गरेका कारण जनता चिढिएका थिए । 

जनता चिढिएको बेला, जनताले विकल्प खोजेको बेलामा एउटा नयाँ शक्ति, एउटा नयाँ अनुहारलाई जनताले रुचाए । त्यसमा केही कुराहरू जस्तै चुनावी एजेन्डा, विकासका नाराहरू दिए । यसभन्दा पहिले भएका चुनावमा यसलाई प्रधानमन्त्री बनाउने भनेर प्रचार गरिएको थिएन । यसपालि ‘अबकी बार बालेन सरकार’ को नारा जोडतोडले लाग्यो । त्यसले सम्पूर्ण मधेस र थरुहटलाई पनि तरंगित बनायो । 

काठमाडौँ महानगरपालिकाको मेयरको हिसाबले उहाँ (बालेन्द्र शाह) चर्चामा हुनुहुन्थ्यो, जसले सम्पूर्ण मधेसमा पनि एउटा मधेसीको छोरो प्रधानमन्त्री बन्दै छ भन्ने सन्देश हरेक बस्ती, झुपडीसम्म पुग्यो । सबैले चाहेको कुरा पनि त्यही थियो र त्यही परिवर्तनको आशामा उहाँहरूले विजय प्राप्त गर्नुभयो ।

  • तपाईंहरू किन शून्यमा झर्नुभयो त ?

– म त स्पष्ट भन्छु कि हामीसँग भएको एजेन्डा र मुद्दालाई जनतासमक्ष पुर्‍याउन सकेनौँ, बालेनको स्टाइलमा जनतालाई बुझाउनै सकेनौँ । म त पार्टीको संरक्षक मात्र थिएँ, तर हाम्रा निर्वाचित जनप्रतिनिधिहरूले पनि पार्टीको रणनीति र एजेन्डालाई जनतामाझ पुर्‍याउन सक्नुभएन । हाम्रो रणनीति र योजना यो हो, हाम्रो कार्यदिशा यो हो भनेर जनतालाई बुझाउनै सकेनौँ । जनताले पहिले हामीलाई विश्वास गरेकै थिए र अहिले पनि विश्वास गरेकै छन् । तराई मधेसका जनतामा एउटा निराशा छाएको थियो । जब राज्यले मेरो उम्मेदवारीलाई खारेज गर्‍यो अनि जनतालाई लाग्यो, अब रेशम चौधरी नै उम्मेदवार नभएपछि अरूलाई जिताउँदा के फरक पर्छ भन्दै थरुहटका जनताले नयाँ शक्तिलाई साथ दिएका हुन् । थरुहटबाट अधिकांश सांसद नागरिक उन्मुक्ति पार्टीका नेताहरू नै हुनुहुन्छ ।

अर्को कुरा, हाम्रो आन्तरिक द्वन्द्व र स्वार्थका कारण पनि राजनीति गिजोलियो । ती सबै कुरा स्पष्ट छन् । तर त्यसलाई पार्टीले व्यवस्थापन गर्न सकेन । त्यसकारण हामीले पराजय भोग्यौँ । तर, नागरिक उन्मुक्ति पार्टीको आफ्नै कार्यदिशा, रणनीति र आफ्नै विधान, आफ्नै अर्गानिक नाम, आफ्नै अर्गानिक चुनाव चिह्न छ । त्यही भएर ढिलो चाँडो हामी पुनः उठ्छौँ ।

  • तपाईंहरू त पुरानो शक्ति होइन, तपाईंहरू पनि वैकल्पिक शक्ति नै हो, नयाँ शक्ति नै हो । एजेन्डा पनि तपाईंहरूको राम्रै छ, तैपनि यस्तो नराम्रो अवस्था किन भयो त ?

– हाम्रो एजेन्डा, कार्यदिशा र उहाँहरूको एजेन्डा, कार्यदिशामा धेरै नै फरक छ । तर पुरानो शक्तिको कारण हामी पनि चेपुवामा पर्‍यौँ । पुराना दल (कांग्रेस, एमाले, माओवादी)ले गल्ती गरे तर त्यसको दोष हाम्रा दलहरूमाथि पनि पर्‍यो । पुराना शक्तिहरू ठुलो महल बनेर बसेका थिए, हामी त्यस महलको मुनि भान्साघर जस्तै थियौँ । महल नै गल्र्याम–गुर्लुम ढलेपछि भान्साघर पनि त्यसै पुरिनु स्वाभाविकै हो । यो देशको सम्पूर्ण जनतालाई रोजगारी दिनसक्ने किसिमको हाम्रो राजनीतिक प्रतिवेदन छ । गरिब, किसान, मजदुरको हकमा कसरी काम गर्ने भन्ने विषयमा गहन रूपमा लाग्नुपर्ने अवस्था छ ।

  • अहिले झन्डै दुई तिहाइ बहुमत ल्याएर जुन शक्ति, जुन पार्टी अहिले देशमा आएको छ, सरकार बनाएको छ, त्यो पार्टीको एजेन्डा, कार्यदिशाभन्दा तपाईंहरूको एजेन्डा र कार्यदिशा कुन कुरामा कमजोर भयो, जसकारण जनताले तपाईंहरूलाई पत्याएनन् ?

– मैले अघि नै भनेँ, हामीले हाम्रो एजेन्डा र कार्यदिशाबारे जनतालाई बुझाउनै सकेनौँ । हामी पार्टी खोलेको दिनदेखि नै अन्तरद्वन्द्वमा फस्यौँ । हामी यस्तो जञ्जालमा फस्यौँ कि अब हाम्रो पार्टी त्यसबाट निस्किनै सकेन । पार्टीमा आएकाहरू पनि हाम्रो एजेन्डा र उद्देश्यअनुसार काम गर्न सकेनन् । अहिलेको संसदमा नागरिक उन्मुक्ति पार्टीका ११ जना सांसद छन् । ६–७ जना सांसद त कैलाली जिल्ला क्षेत्र नं १ बाट मात्रै लडेका थिए । 

हामीसँग भएको एजेन्डा र मुद्दालाई जनतासमक्ष पुर्‍याउन सकेनौँ, बालेनको स्टाइलमा जनतालाई बुझाउनै सकेनौँ । म त पार्टीको संरक्षक मात्र थिएँ, तर हाम्रा निर्वाचित जनप्रतिनिधिहरूले पनि पार्टीको रणनीति र एजेन्डालाई जनतामाझ पुर्‍याउन सक्नुभएन ।

पहिला नागरिक उन्मुक्ति पार्टीमा काम गरिसक्नुभएका गीता चौधरी अहिले मन्त्री हुनुहुन्छ । करिश्मा कठरियाजी जो सांसद हुनुहुन्छ उहाँले पनि नागरिक उन्मुक्तिमा काम गरिसक्नुभएको छ । कोमल ज्ञवाली, सुरेश चौधरीलगायत धेरै सांसदहरू जो नागरिक उन्मुक्ति छाडेर त्यहाँ जानुभएको छ । भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवाद (कम्युनिटी बेस्ड सोसियलिज्म) को मुद्दालाई अगाडि सार्ने हाम्रो पार्टी मात्र छ ।

  • भन्नाले तपाईंसँग रहेको कार्ययोजना, एजेन्डा र मुद्दा जनतासमक्ष लैजान सक्नुभएन ?

– हो । हामीले जनतालाई बुझाउन सकेनौँ, जनतामा आफ्नो एजेन्डा लैजान सकेनौँ । अब हामी नयाँ तरिकाले जनतामा जाने सोच बनाइरहेका छौँ । त्यसको योजना र रणनीतिहरू बनाइरहेका छौँ । त्यसमा साथीहरू लाग्नुभएको छ । अर्को चुनावमा हामीले नतिजा ल्याउँछौँ ।

  • अब तपाईंहरू कसरी उठ्नुहुन्छ, के छ रणनीति ? 

– पहिलो कुरा यो स्पष्ट हुनु जरुरी छ कि, जनताले परिवर्तन चाहेका छन् । पहिला पहिला चुनावमा मत हाल्दा यो फलानो काकाको पार्टी, फलानो नेताको, फलानो छोराको, फलानो जातको, फलानो समुदायको भनेर मत हाल्ने चलन थियो । एउटा घरमा बाजे कांग्रेस छ भने पनातीसम्म सबै कांग्रेस नै हुन्थ्यो । पूरै परिवार एउटै पार्टीमा हुन्थ्यो तर अहिले अवस्था फेरिएको छ । अहिले एउटै घरमा फरक–फरक विचारका मानिस हुन्छन् । 

तर यसपालिको चुनावमा त्यो अवस्था देखिएन । को एमाले, को कांग्रेस, सबै एउटैतिर बगे । यसपालिको चुनावमा नातिले औँला ठड्याएर हजुरबुवा र बाउलाई भन्दै छ, ‘बाउ, देश बनाउने भए र नातिलाई सम्झिने भए, मैले भनेको मान । अब मैले भनेको ठाउँमा भोट हाल ।’ 

अब नातिको पुस्ता हावी भएको, जेनजी पुस्ताले स्वामित्व लिएको र जेनजी पुस्ताले बोकेको एजेन्डा र मुद्दालाई मन पराएर आएको सरकार हो । यसलाई पनि हामीले ध्यानमा लिनुपर्छ । यदि हामीले यसलाई मनन गरेनौँ भने हामी फेरि हार्छौँ । त्यसैले म भन्न के चाहन्छु भने यदि मलाई अहिलेको पुस्ताले मन पराएको छैन भने राजनीतिक बाटो छोडिदिनुपर्छ । तर मलाई के लाग्छ भने मधेसलाई केन्द्रबिन्दु बनाएर राजनीति गर्दै आएका सबैले अभिभावकत्व ग्रहण गरेर राजनीतिलाई नयाँ दिशा दिनुपर्छ । अभिभावक भएर पार्टी नयाँ पुस्तालाई सुम्पिदिनुपर्छ । नयाँ परिवेशअनुसार उनीहरूलाई पार्टी चलाउन दिनुपर्छ । फेरि भन्छु, ‘नेतृत्व सुम्पिनुको विकल्प छैन ।’

  • भन्नाले तपाईंहरू तराई मधेसमा एकीकृत शक्ति बनाउने प्रयासमा हुनुहुन्छ ?

– यो कुरा सुन्ने पक्षमा कोही छैनन् जस्तो लाग्छ । यसो कुरा बुझ्दा त कोही नेतृत्व छाड्ने, नयाँ पुस्तालाई दिने पक्षमा देखिनुभएको छैन । प्रयासहरू भइरहेका छन् तर हेरौँ के हुन्छ । म त आशावादी छु ।

  • कुरा सुन्दा त तपाईं अहिले पनि आशावादी हुनुहुन्न जस्तो लाग्छ, किन ?

– हो, म अहिलेको परिस्थिति, पुराना राजनीतिक दलको रवैया देखेर त्यति सन्तुष्ट छैन । कोही पनि पछाडि हट्ने पक्षमा देखिनुभएको छैन । अहिले पनि उही सोच, उही ढर्रामा राजनीति गर्न उहाँहरू खोज्नुभएको छ । पहिलो कुरा त देशमा स्थिरता चाहियो । थरूहटको मुद्दा उठान गर्ने लक्ष्मण थारूहरू अर्कै पार्टीमा गइसक्नुभयो । थरूहटको मुद्दा उठान गर्ने साथीहरू स्वार्थ बोकेर अर्कै पार्टीबाट सांसद भइसक्नुभयो । त्यो त परिवर्तनका लागि स्वार्थगत राजनीति भयो नि । परिवर्तनका लागि मात्र राजनीति गरेको भए त रेशम चौधरी जेलै जान्थेन । चुनाव जितेको बेला मन्त्री बन्न सक्थेँ । तर मैले त पहिचानको मुद्दा छोडिनँ । मलाई छोड्नु पनि छैन । सदनमा त के, सडकमा एक्लै उभिनु परे पनि रेशम चौधरीले पहिचानको मुद्दालाई छोड्दैन ।

  • अब अन्तिममा, अहिलेको रास्वपा र रास्वपा नेतृत्वको सरकारबाट तपाईंको अपेक्षा के छ र यसको भविष्य के देख्नुभएको छ ?

– भूराजनीति र अन्तरद्वन्द्वका कारण गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुभयो । र मलाई एउटा गीतको पंक्ति याद आउँछ, ‘शिकारी खुद शिकार हो गया’ । रास्वपाबाट जनताको अपेक्षा छ । धेरै ठुलो अपेक्षा छ । यसलाई रास्वपाले पूरा गर्नुपर्छ । जनताको आकांक्षा, इच्छा, देशको विकास गर्न रास्वपाले काम गर्नुपर्छ । जनताले दिएको जनमतलाई कदर गर्नैपर्छ । उहाँहरूले जनताको चाहना र इच्छालाई पूरा गर्नुपर्छ । पूरा गर्न सकिएन भने फेरि त्यही अवस्था दोहोरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप