‘स्टोर किपर’को भरमा नेपाल रेल्वे
सारांश
- नेपालको एकमात्र रेल सेवा अहिले नेतृत्वविहीन छ र 'स्टोर किपर'को भरमा सञ्चालन भइरहेको छ ।
- सात महिनादेखि प्रबन्धक पद रिक्त हुँदा निर्णय प्रक्रिया प्रभावित भएको छ भने दैनिक करिब अढाई लाख आम्दानी भए पनि व्यवस्थापन र खर्च संरचनाका कारण कम्पनी घाटामा चलिरहेको छ ।
- रेल सेवालाई आर्थिक रूपमा सक्षम बनाउन आन्तरिक चुहावट नियन्त्रण, प्रशासनिक सुधार, राजनीतिक हस्तक्षेपको अन्त्य र कार्गो सेवा सञ्चालन गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् ।
जनकपुरधाम । नेपालको एकमात्र रेल सेवा अहिले नेतृत्वविहीन अवस्थामा छ । नेपाल रेल्वे यतिबेला ‘स्टोर किपर’को भरमा सञ्चालन भइरहेको छ ।
प्राविधिक जनशक्तिको अभाव, विदेशी कर्मचारीमाथिको निर्भरता, कमजोर व्यवस्थापन र बढ्दो ऋणबिच नेपाल रेल्वे कम्पनी सञ्चालन भइरहेको छ ।
सात महिनादेखि प्रबन्धक पद रिक्त हुँदा निर्णय प्रक्रिया प्रभावित भएको छ भने सेवा प्रवाहमा समेत त्यसको असर परेको कर्मचारी बताउँछन् ।
भारतको जयनगरदेखि महोत्तरीको भङ्गहासम्म ५२ किलोमिटर दुरीमा सञ्चालन भइरहेको रेल सेवा अहिले दैनिक तीन सिफ्टमा सञ्चालन भइरहेको छ । दैनिक करिब अढाई लाखको हाराहारीमा आम्दानी हुने गरे पनि व्यवस्थापन र खर्च संरचनाका कारण कम्पनी घाटामा चलिरहेको छ ।
तत्कालीन महाप्रबन्धक निरञ्जन झाका अनुसार मासिक आम्दानी करिब ७५ लाख रुपैयाँ र खर्च एक करोड २९ लाख रुपैयाँसम्म पुग्ने गरेको छ । रेल्वेको आम्दानीले खर्च धान्न सक्ने अवस्था नरहेको उनले बताए ।
सरकारको जमानीमा ऋण लिएर रेल सेवा सञ्चालन गर्नुपर्ने अवस्था आएको झाले प्रस्ट पारे । २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण ७९ करोड नाघिसकेको छ ।
नेपाल रेल्वे कम्पनीको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म कुल १९ करोड २१ लाख रुपैयाँ आम्दानी भएको छ भने सोही अवधिमा ६७ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । पछिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ८ करोड ५० लाख रुपैयाँ आम्दानी हुँदा २६ करोड २७ लाख रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ ।
रेल्वेमा नेपालीतर्फ १४२ जना दैनिक ज्यालादारी कर्मचारीसहित एक स्थायी कर्मचारी, रेल विभागबाट एक कर्मचारी, सडक विभागबाट एक कर्मचारी कोलोनिकाबाट लेखापाल कार्यरत छन् । तर सञ्चालनका मुख्य प्राविधिक जिम्मेवारी भने भारतीय कर्मचारीले सम्हालिरहेका छन् ।
भारतीय पक्षबाट अहिले २३ जना कर्मचारी कार्यरत छन्, जसमा रेलचालक, स्टेसन मास्टर र पोइन्ट्सम्यान रहेका छन् । रेल सञ्चालनका महत्त्वपूर्ण जिम्मेवारी विदेशी जनशक्तिमाथि निर्भर हुँदा कम्पनीको खर्च उच्च रहेको रेल्वे स्रोत बताउँछ ।

नेपाल रेल्वेका ‘स्टोर किपर’ केवलबहादुर नेपालीले अहिले दैनिक सञ्चालन व्यवस्थापन सम्हालिरहेका छन् । महाप्रबन्धक नहुँदा कार्यालयको नियमित कामदेखि समन्वयसम्मको जिम्मेवारी उनकै काँधमा आएको छ ।
‘महाप्रबन्धक पद सात महिनादेखि रिक्त छ । निर्णय गर्ने अधिकार नभए पनि दैनिक सञ्चालन रोक्न मिल्दैन । जसरी हुन्छ, सेवा चलाउनुपर्छ भन्ने दबाब छ,’ नेपालीले भने ।
उनका अनुसार रेल्वेमा सूचना अधिकारीसमेत नहुँदा यात्री र सरोकारवालालाई सूचना दिन कठिनाइ भइरहेको छ । कार्यालयमा खर्चको पूर्ण विवरण पनि व्यवस्थित रूपमा अद्यावधिक नभएको उनले स्वीकार गरे ।
नेपाल रेल्वे विभाग प्रमुख हरिकुमार पोखरेलले छिटै नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए । उनले मालवाहक सेवा सञ्चालन भएमा नफामुलक हुने प्रस्ट पारे ।

रेल सेवालाई आर्थिक रूपमा सक्षम बनाउन आन्तरिक चुहावट नियन्त्रण प्रशासनिक सुधार राजनीतिक हस्तक्षेप अन्त्य गर्न आवश्यक रहेको पोखरेलको भनाइ छ ।
स्थानीय व्यवसायीहरू पनि रेललाई यात्रुवाहकमा सीमित राखेर नाफा सम्भव नहुने बताउँछन् । जनकपुरधाम उपमहानगरपालिका–४ का व्यवसायी रामकुमार झाले भने, ‘रेललाई कार्गाे सेवामा लैजान सकेमात्रै आर्थिक रूपमा बलियो बन्न सक्छ ।’
उनका अनुसार भारतको कलकत्ता बन्दरगाहबाट सस्तो दरमा सामान ल्याउन कार्गाे रेल सेवा उपयोगी हुन सक्छ । यसले व्यवसायीको ढुवानी लागत घटाउने र रेल्वेलाई नयाँ आम्दानी स्रोत दिन सक्छ ।
रेल्वेको अर्काे ठुलो समस्या भौतिक पूर्वाधारको अभाव पनि हो । जनकपुरधाम रेल्वे हल्टमा खानेपानीको व्यवस्था छैन । ह्यान्डपाइप जडान भए पनि लामो समयदेखि सञ्चालनमा छैन । स्टेशन परिसर अव्यवस्थित देखिन्छ । फूल रोप्नुपर्ने गमलामा पान र गुट्खाका थुक देखिन्छ ।

लोहारपट्टीका बासिन्दा सन्तोष साहले भने, ‘रेल सेवा राम्रो छ, समय बचत हुन्छ, तर स्टेशनको अवस्था हेर्दा सरकारी बेवास्ता देखिन्छ । खानेपानी, सफाइ र बस्ने ठाउँको व्यवस्थापन हुनुपर्छ ।’
पूर्वमहाप्रबन्धक निरञ्जन झाका अनुसार आफ्नै चालक, स्टेसन मास्टर र प्राविधिक जनशक्ति उत्पादन गर्न सकेमा आर्थिक रूपमा निकै फाइदा हुन सक्छ ।
रेल्वे सञ्चालनमा फ्युलिङ स्टेशन नहुनु अर्काे समस्या हो । इन्धन भारतबाट ल्याउनुपर्ने बाध्यता छ । स्थायी वर्कसप नहुँदा मर्मतसम्भारमा पनि समस्या हुने गरेको छ ।
रेल विभागका अधिकारीहरूका अनुसार आगामी दिनमा रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिएर वार्षिक ८ करोड रुपैयाँ आम्दानी गर्ने योजना छ । पुरानो न्यारो गेज रेलको कोइला इन्जिनसहित रेल म्युजियम स्थापना गरेर पर्यटनमार्फत आम्दानी बढाउने योजना पनि अघि सारिएको छ ।
नेपाल उद्योग वाणिज्य संघ धनुषाका पदाधिकारीहरूले कार्गाे सेवा सञ्चालनका लागि पटक–पटक दबाब दिँदै आएका छन् । उनीहरूका अनुसार रेलमार्फत सामान आयात–निर्यात सहज बनेमा जनकपुर क्षेत्रको व्यापारिक गतिविधिमा ठुलो परिवर्तन आउन सक्छ ।
कार्गाे सेवा सञ्चालन, स्वदेशी दक्ष जनशक्ति उत्पादन र प्रशासनिक सुधार भएमा नेपाल रेल्वे आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको सरोकारवाला बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण