शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
कविता

सूर्यबहादुर फगत एक पात्र

सोमबार, १४ वैशाख २०८३, २० : ५९
सोमबार, १४ वैशाख २०८३

सूर्यले झैँ ताप दियौ तिमीले 
मालिकका खुसी थपिदियौ तिमीले 
बहादुरी भई क्विन्टल काँधमा चढायौ 
मर्ने बेलामा केवल एउटा नाम्लो साथ कमायौ 
त्यो सब फगत एक कथा मात्रै हुन् ।।

तिम्रो तापमा न्यानो खोज्नेहरू 
तिम्रो बहादुरीमा मर्सिडिज चढ्नेहरू 
तिम्रो सासलाई बलजफ्ती चुढाउनेहरू 
घिटीघिटी हुँदा ह्विस्कीसँग डान्सगर्नेहरू 
तिम्रो नाममा लाल झन्डा फरफराउनेहरू 
तिम्रो नाममा रातो मसी चोप्नेहरू 
तिम्रो नाममा क्रान्तिका गीत घन्काउनेहरू 
तिमी अन्तिम सासमा चौतारीमा छट्पटाउँदा 
सेल्फीमा रमाउने आधुनिक मानवहरू 
तिम्रो लागि समाज र सरकार 
फगत एक कथा मात्रै हुन् ।।

तिम्रो मृत शरीरमा आँसु झारिदिने कोही भएन 
तिम्रो मृत शरीरमा कात्रो ढाकिदिने कोही भएन
तिम्रो चित्तामा दागबत्ती दिने कोही भएन 
तिम्रो मृतात्मलाई मुक्ति दिने शास्त्र भएन 
तिमीसँग आफ्नै छायाबाहेक अरू कसैले साथ दिएन
यी सब फगत एक कथा मात्रै हुन् ।।

तिम्रो सुस्केरामा गीत कोर्नेहरू 
तिम्रो पसिनामा संगीत भर्नेहरू 
नाम्लोले रेटेर टल्केका ती थाप्लोमा 
उपभोक्तवादको खेती गर्नेहरू
आज तिमीसँग अपरिचित र पराइ भएका छन्
यी सब फगत कथा मात्रै हुन् ।

निशब्द छु, स्तब्द छु म आज 
लुछ्यौ, ताछ्यौ, सोस्यौ मजा लियौ 
अरूको खुसी थप्दै जाँदा 
आफ्नै दुःख भुल्दै जाँदा 
मञ्जिल ती तिम्रा दिनहरू 
मिठास ती तिम्रा स्वप्नहरू
आफैले सजाएर लगेको छ 
पीडा र व्यथाहरू
एक थान नाम्लोसँग लगेको छ 
हार्दिक श्रद्धाञ्जलि 
सूर्यबहादुर तिमीलाई 
हार्दिक श्रद्धाञ्जलि ती तिम्रा आधुनिक समाजलाई
हार्दिक श्रद्धाञ्जलि ती तिम्रा सरकारलाई 
यो पनि फगत एक समवेदना मात्रै हुन् ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यबहादुर तामाङ
सूर्यबहादुर तामाङ
लेखकबाट थप