शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
भिडियाे रिपाेर्ट

‘घरसँगै सुकुमबासीकाे मन पनि भत्कियाे’

सोमबार, १४ वैशाख २०८३, २१ : ५६
सोमबार, १४ वैशाख २०८३

सारांश

  • देवकी थापा जस्ता धेरै सुकुमबासीको घर र मन डोजरले भत्काएको छ, जसले उनीहरूलाई सहाराविहीन बनाएको छ।
  • श्रीमान् गुमाएकी, अपाङ्ग बनेकी देवकीले क्षतिपूर्तिबाट बनाएको टहरा भत्किँदा र छोरीको स्कुलमा डोजर चल्दा जीवनमा सहाराविहीन महसुस गरिन्।
  • मनोहरा सुकुमबासी बस्तीमा घर भत्किएपछि फूलकुमारी तामाङ, हस्त बहादुर तामाङ र तारा लामा जस्ता धेरैले आश्रय र भविष्यको चिन्ता व्यक्त गरेका छन्।

काठमाडौँ । देवकी थापा, ४३ मनोहराको सुकुमबासी बस्तीमा बस्थिन् । उनले आश्रय लिइरहेको टहरामा आइतबार डोजर चलेपछि उनको मन यसरी कुढियो, उनले केही सोच्नै सकिनन्। टहराभित्रका सामान सार्न नपाउँदै डोजर चलेपछि साँझ उनले जडिबुटीको पुलमुनि चिसो रात काटिन् । १० कक्षा पढ्ने छोरी सन्जितालाई च्यापेर रात काटेकी उनले जीवनमा सहाराविहीन महसुस गरिन्। 

हावा, हुरी र झरीमा रात काटेकी देवकीले सडक दुर्घटनामा श्रीमान् गुमाइन् । कोटेश्वरमा एउटा मोटरसाइकलले उनी र उनका श्रीमान्लाई ठक्कर दिएपछि उनका दुःखका दिनहरू सुरु भए । श्रीमान् घटनास्थलमै बिते, उनी जीवनभर बैसाखी टेक्नु पर्ने गरी अपाङ्ग बनिन् । उनको टाउकोमा २० वटा टाका लगाएको छ, खुट्टा तीन ठाउँमा भाँचिएको छ । बोल्दाबोल्दै पटक–पटक भक्कानिएकी उनले एक्ली छोरी सन्जिताको चिन्ता गरिन् । उनकी छोरी पढ्ने स्कुलमा पनि आइतबार नै डोजर लागिसकेको छ । 

मोटरसाइकल दुर्घटनामा श्रीमान् गुमाएकी देवकीले ५ लाख रुपैयाँ क्षतिपूर्तिबापत पाएकी थिइन् । मनोहराको सुकुमबासी बस्तीमा ३ लाख रुपैयाँमा टहरा बनाएकी उनले २ लाख रुपैयाँ औषधि उपचारमै खर्च गरिन् । त्यही टहरामा डोजर चलेपछि देवकीको टहरा मात्र भत्किएको छैन, उनको मन पनि भत्किएको छ ।

काठमाडौँको दशरथ रङ्गशाला पुग्दा देवकी जस्तै थुप्रै भेटिन्छन्, जसको घर,टहरा मात्र भत्किएको छैन, मन भत्किएको छ, मुटु छियाछिया भएको छ । 

सिन्धुली, बन्दिपुरकी फूलकुमारी तामाङ, (४८) ले मनोहराको सुकुमबासी बस्तीमा साढे ३ लाख रुपैयाँ“मा टहरा किनेकी थिइन् । लालपूर्जा आउँछ भन्ने आश्वासन पाएपछि ०६९ देखी उनी ढुक्कले बसिन् । आइतबार उनको टहरा डोजर चलेपछि उनको सपना चकनाचुर भइदियो । काका बितेर माइतमा गएकी थिइन् उनी ।

फर्किदा घरको नामोनिसान समेत देखिएन । उनले कुनै सामान बाहिर निकाल्नै पाइनन् । गए राती पानी परेपछि उनले साथीको घरमा आश्रय लिइन् । सरकारले बस्नका लागि केही गरिदिन्छ कि भन्ने आशामा छिन् उनी । सिन्धुपाल्चोक, बार्‍हबिसेका हस्त बहादुर तामाङले २०७३ देखी आफ्नो जीवन मनोहरा सुकुमबासी बस्तीमा गुजारे । अपाङ्ग आमा, बिरामी श्रीमती स्याहारिरहेका उनलाई केही दिन अघि ठुलो बज्रपात आइलाग्यो । १९ वर्षका उनका छोराले टहरामै आत्महत्या गरे । घरको अवस्था र डोजर चल्ने हल्लाले उनका जेठा छोराले टहरामै आत्महत्या गरे । डोजर चलेपछि उनले काजक्रिया नै गर्न पाएका छैनन् । राम्रो ठाउँमा बस्ने व्यवस्था हुन्छ कि भन्ने उनले आशा राखेका छन् । 

६० वर्षिया तारा लामाले १८ वर्षअघि १२ लाख रुपैयाँ खर्च गरेर मनोहराको सुकुमबासी बस्तीमा घर बनाएकी थिइन् । काभ्रेमा जन्मिएकी उनको घरमा आइतबार डोजर चलेपछि विचलित बनेकी छिन् । आफ्नो भन्दा बढी अपाङ्ग दाजुको चिन्ता गरिरहेकी उनले आउने दिनको चिन्तामा देखिन्थिन् । बालकोटमा बल्ल कोठा भेटिएपछि ५ जना एकै कोठामा कोच्चिएर बस्नु परेको छ । 

सोमबार साँझसम्म ९ सय ३१ घरधुरीले आफ्नो नाम दर्ता गराइसकेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणका सर्वेक्षक जियोमेट्रिक इन्जिनियर शरद बन्जाडेका अनुसार यसमा ३ हजार ९ सय ३५ जना आश्रित छन् । नाम दर्ता गरिसकेका व्यक्तिहरूलाई फोन गरेर बोलाउने आश्वासन दिइएको छ। 

काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको समन्वयमा सकुमबासीको नाम र विवरण सङ्कलन गर्ने काम भइरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप