सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

‘देशमा केही भएन’ भन्ने भाष्य अर्थमन्त्रीको विवरणले नै खण्डन गर्‍यो : कांग्रेस प्रवक्ता

मङ्गलबार, १५ वैशाख २०८३, ११ : ०७
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • कांग्रेस प्रवक्ता देवप्रकाश चालिसेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक विवरणले देशमा केही भएन भन्ने नकारात्मक भाष्य गलत साबित भएको बताएका छन् ।
  • उनले विगत १० वर्षमा नेपालले आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको तथ्याङ्कले पुष्टि गरेको र यसले विगतका सरकारहरूको कामको प्रतिफल देखाएको बताए ।
  • प्रवक्ता चालिसेले अर्थमन्त्रीले देखाएका तथ्याङ्कले देश विकासको गतिमा रहेको र हरेक क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेको सङ्केत गरेको दाबी गरे ।

काठमाडौँ ।नेपाली कांग्रेसका प्रवक्ता देवप्रकाश चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थिति सम्बन्धी विवरणले देशमा केही भएन भन्ने नकारात्मक भाष्यलाई पूर्णतः गलत साबित गरिदिएको बताएका छन् । 

प्रवक्ता चालिसेले अर्थमन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कहरूले विगत १० वर्षमा नेपालले आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य फड्को मारेको पुष्टि गरेको मंगलबार बताएका हुन् । उनले थिति बिग्रिएको भनिएको समयमा समेत नेपालले हासिल गरेका यी उपलब्धिहरूले विगतका सरकारहरूले गरेका कामको प्रतिफल देखाएको पनि बताए । 

प्रवक्ता चालिसेले देश विकासको गतिमा रहेको र हरेक क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेको सङ्केत अर्थमन्त्रीले देखाएका तथ्यांकले नै गरेकाे बताए ।

 उनले भने, 'स्वयं वर्तमान अर्थमन्त्रीले सार्वजनिक गरेको यो विवरणले हिजो 'देशमा केही भएन, सबै बिग्रियो' भन्दै जनतामा भ्रम छर्ने न्यारेटिभलाई तथ्याङ्कबाटै खण्डन गरेको छ। यसले नेपाली राज्य संयन्त्र र विगतका नीतिहरू सही दिशामा थिए भन्ने प्रमाणित गर्छ।'

प्रवक्ता चालिसेले देखाएका पछिल्लो १० वर्षमा भएका ११ मुख्य उपलब्धिहरू:

१. कुल गार्हस्थ्य उत्पादन : आर्थिक वर्ष २०७२/७३ मा २६ खर्ब ८ अर्ब रहेको नेपालको अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०८१/८२ मा ६१ खर्ब ७ अर्ब पुगेको छ।
२. आर्थिक वृद्धिदर: भूकम्पपछिको ०.४३ प्रतिशतको न्यून वृद्धिदरबाट सुधार हुँदै हाल ४.६१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
३. प्रतिव्यक्ति आय: नेपालीहरूको औसत प्रतिव्यक्ति आय ८९९ अमेरिकी डलरबाट बढेर १,५१७ डलर पुगेको छ।
४. विद्युत उत्पादन: ६९७ मेगावाटबाट बढेर उत्पादन क्षमता ४,१०५ मेगावाट पुगेको छ, जुन करिब ६ गुणाको वृद्धि हो।
५. विद्युत पहुँच: हाल देशको ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसकेको छ।
६. सडक पूर्वाधार: कालोपत्रे सडकको सञ्जाल ११,७९८ किलोमिटरबाट विस्तार भएर २०,२०२ किलोमिटर पुगेको छ।
७. राजस्व संकलन: ४ खर्ब ५ अर्ब संकलन हुने गरेकोमा हाल ११ खर्ब ७९ अर्ब पुगेको छ।
८. विदेशी मुद्रा सञ्चिति: १० खर्ब ३९ अर्बबाट बढेर ३४ खर्ब १३ अर्ब पुगेको छ, जसले १८.५ महिनाको आयात धान्न सक्छ। यो ऐतिहासिक उपलब्धि हो।
९. साक्षरता दर: साक्षरता दर ५८ प्रतिशतबाट उल्लेख्य वृद्धि भई ७६.३ प्रतिशत पुगेको छ।
१०. गरिबी निवारण: गरिबीको रेखामुनि रहेको जनसंख्या २५.१६ प्रतिशतबाट घटेर २०.२७ प्रतिशतमा झरेको छ।
११. स्वास्थ्य र आयु: मातृ मृत्युदर १९० बाट १५१ मा र शिशु मृत्युदर ३२ बाट २८ मा झरेको छ। नेपालीको औसत आयु बढेर ७१.४ वर्ष पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप