मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पाकिस्तानले अफगानी विश्वविद्यालयमा आक्रमण गरेको आरोप

मङ्गलबार, १५ वैशाख २०८३, १३ : ४५
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • कुनार प्रान्तमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्, जसमा विश्वविद्यालयका विद्यार्थी र एक प्राध्यापक पनि छन् ।
  • पाकिस्तानले विश्वविद्यालय वा आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप अस्वीकार गर्दै समाचारहरू झुटा भएको दाबी गरेको छ ।
  • यस आक्रमणमा मोर्टार, रकेट, जेट र ड्रोन प्रयोग गरिएको बताइएको छ, जसले विश्वविद्यालयका भवनहरूमा ठूलो क्षति पुर्याएको छ ।

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा कुनार विश्वविद्यालयका विद्यार्थी र एक प्राध्यापक पनि रहेका विभिन्न स्रोतहरूले जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ । तालिबान सरकारका अनुसार घाइतेमध्ये ३० जना विश्वविद्यालयका विद्यार्थी हुन् ।

विश्वविद्यालय वा आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप अस्वीकार गर्दै पाकिस्तानको सूचना मन्त्रालयले ती समाचारहरू झुटा भएको दाबी गरेको छ । यस घटनाभन्दा केही हप्ता अघि काबुलमा भएको एक हवाई आक्रमणमा, २६९ जनाको मृत्यु भएको पूष्टि भइसकेको संयुक्त राष्ट्रसंघले भनेको छ । 

यस आक्रमणको दोष पाकिस्तानमाथि लगाइएको थियो । कुनारमा भएको पछिल्लो आक्रमणमा मोर्टार र रकेट प्रयोग गरिएको तालिबानको दाबी छ, जबकि अन्य स्रोतहरूले जेट र ड्रोन प्रयोग गरिएको बताएका छन् ।

एक प्राध्यापकले बीबीसीसँग कुरा गर्दै विश्वविद्यालय परिसरभरि विस्फोटको आवाज सुनेको बताएका छन् । त्यस्तै असदाबादका एक पत्रकारले आक्रमणको समयमा मानिसहरू भागिरहेको देखेको र धेरै घाइतेलाई अस्पताल लगिएको बताएका छन् । अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले विश्वविद्यालयका भवन र आसपासका संरचनामा ठूलो क्षति पुगेको जनाएको छ ।

पछिल्ला महिनाहरूमा पाकिस्तान र अफगानिस्तानबीच सीमावर्ती क्षेत्रमा हुने झडपमा सयौँ मानिस मारिएका वा घाइते भएका छन् । अप्रिलको सुरुमा उरुम्कीमा चीनको मध्यस्थतामा भएको वार्तापछि अस्थायी युद्धविराम कायम भए पनि अहिलेको घटनाले तनाव फेरि चर्किएको छ । तालिबान सरकारका उपप्रवक्ताले यस आक्रमणलाई गम्भीर र अक्षम्य युद्ध अपराध भन्दै कडा शब्दमा निन्दा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप