छोरालाई नभएको क्यान्सर देखाएर पैसा उठाउने अस्ट्रेलियन आमालाई जेल सजाय
सारांश
- अस्ट्रेलियाकी एक महिलालाई छोरालाई नभएको क्यान्सर भएको भनी रकम उठाएको अभियोगमा ४ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको छ ।
- ती महिलाले छोराको कपाल खौरिने, पट्टी बाँध्ने र औषधि खुवाउनेजस्ता कार्य गरी क्यान्सर भएको विश्वास दिलाएर हजारौँ डलर सहयोग संकलन गरेकी थिइन् ।
- न्यायाधीशले उनको व्यवहारलाई क्रूर, पूर्वनियोजित र हेरफेरपूर्ण भन्दै कडा टिप्पणी गरेका छन् ।
सिड्नी । अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने एक महिलालाई आफ्नै ६ वर्षीय छोरालाई नभएको क्यान्सर भएको भन्दै पैसा उठाएको अभियोगमा चार वर्षभन्दा बढी जेल सजाय सुनाइएको छ ।
४५ वर्षीया ती महिलाले छोराको कपाल र आँखीभौं खौरिने, टाउको र हातमा पट्टी बाँध्ने र औषधि खुवाउनेजस्ता काम गरेर परिवार, साथीभाइ र समुदायलाई छोरालाई क्यान्सर भएको विश्वास दिलाएकी थिइन् । यसरी उनले हजारौँ डलर सहयोग रकम संकलन गरेर विलासी जीवनशैली बिताएको अदालतमा उल्लेख गरिएको छ ।
अदालतका अनुसार घटनाको सुरुआत महिलाको छोराले एक दुर्घटनापछि आँखा विशेषज्ञलाई भेट्न गएपछि भएको हो ।
त्यसपछि उनले छोरालाई आँखाको क्यान्सर भएको झुटो दाबी गर्दै विभिन्न व्यक्तिहरूसँग सहयोग माग्न थालिन् । छोरालाई ह्विलचेयर प्रयोग गर्न बाध्य बनाउनुका साथै दैनिक गतिविधिमा पनि प्रतिबन्ध लगाइएको थियो, जसले उसलाई गम्भीर बिरामीजस्तो देखाउँथ्यो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनलाई पीडा हर्ने औषधि र सप्लिमेन्टसमेत दिइएको थियो । अदालतमा न्यायाधीशले उनको व्यवहारलाई क्रूर, पूर्वनियोजित र हेरफेरपूर्ण भन्दै कडा टिप्पणी गरेका थिए । अभियोजन पक्षले उनले आफ्नै छोरालाई धोका दिने माध्यम बनाएको आरोप लगाएको थियो । उनले एक आरोपमा बालकलाई हानि पुर्याउने कार्य गरेको र १० वटा ठगीसम्बन्धी आरोपमा दोष स्वीकार गरेकी छन् ।
कोभिड–१९ महामारीपछि महिलालाई जुवाको लत लागेको र आर्थिक दबाबका कारण यस्तो कदम चालेको प्रतिवादी पक्षका वकिलले बताए । साथै उनलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको पनि उल्लेख गरिएको छ । यस घटनामा सुरुमा बालकको पितामाथि पनि मुद्दा चलाइएको थियो । पछि यो मुद्दा फिर्ता लिइयो । श्रीमतीले आफू र बच्चाको जीवन नष्ट गरिदिएको महिलाको पतिले भनेका छन् ।
महिलाका श्रीमानले अदालतमा दिएको वक्तव्यमा भने, 'मैले तिमीमाथि पूर्ण विश्वास गरेको थिएँ, कहिले शंका गरिनँ । अब मैले आफूलाई एउटा खेलको गोटीजस्तो महसुस गरिरहेको छु ।' यस घटनामा महिलालाई जस्तो सजाय दिए पनि सानो हुने उनको भनाइ छ । महिलालाई अदालतले ४ वर्ष तीन महिनाको सजाय दिएको छ ।
आगामी अप्रिलमा महिलाले पेरोलका लागि आवेदन दिन सक्ने समाचारहरूमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण