रुकुम पुगेर प्रचण्डले भने- बालेन शाह नेतृत्वको सरकार निरङ्कुशतातर्फ अघि बढेको देखिन्छ
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले बालेन साह नेतृत्वको सरकार निरङ्कुशतातर्फ अघि बढेको बताएका छन् ।
- प्रचण्डले सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्र र संसदीय परम्पराको विरुद्धमा रहेको बताए ।
- उनले सुकुमबासीहरूको वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर डोजर चलाउनु बिलकुल गलत भएको टिप्पणी गरेका छन् ।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशताको बाटोमा अघि बढेको बताएका छन् ।
बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रेड युनियनदेखि विद्यार्थी सङ्गठन खारेजी गर्न लागेको भन्दै यस्तो बताएका हुन् । साथै, उनले अध्यादेशको विषयमा पनि बोले ।
‘सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्रको विरुद्धमा छ,’ उनले भने, ‘यो संसदीय परम्पराको समेत विरुद्धमा छ, त्यसो नगर्न हामीले सरकारलाई सावधान गराएका छौँ । यस्तो अलोकतान्त्रिक विधि अपनाउनु संविधान विपरीत हो ।’
प्रचण्डले सुकुमबासीको विषयमा पनि आफ्नो धारणा राखे । सुकुमबासीहरूको वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर वा डोजर चलाएर जुन काम गरिएको छ, त्यो बिलकुल गलत भएको उनको टिप्पणी छ ।
‘यो तरिका ठिक छैन, यदि सुकुमबासीहरू गलत तरिकाले अतिक्रमण गरेर बसेका छन् भने पनि उनीहरूको वास्तविक स्थिति बुझेर छानबिन गर्नुपर्छ,’ उनले अगाडि भने, ‘तर, सरकारले हतास शैलीमा बल प्रयोग गर्यो ।’
तत्कालीन माओवादी सरकारकै पालामा सुकुमबासीको वैकल्पिक व्यवस्थापनका लागि अपार्टमेन्ट बनाइएको हो, तर त्यसबेला काम सम्पन्न हुन नसकेको स्मरण पनि गरे ।
अहिले सेना र सशस्त्र प्रहरीसमेत प्रयोग गरी हजारौँ परिवारलाई बिचल्ली पार्ने काम भएको उनको भनाइ छ ।
‘सरकारले उनीहरूको व्यवस्थापनमा तुरुन्तै ध्यान देओस्,’ उनले अगाडि भने ।साथै, प्रचण्डले सरकारले गर्ने राम्रा काममा हामी सहयोग गर्ने र गलत कामको विरोध गर्ने पनि बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण